दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले एक महिनापछि हिजो मन्त्रीपरिषद विस्तार गरेका हुन् । एमालेबाट मुख्यमन्त्री सहित ५, माओवादीबाट ३ र अन्य साना दलबाट एक एक जना गरी १० जनाको मन्त्रिपरिषद निर्माण गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक मामिला मन्त्रीको रुपमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा, भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजीत थारु र आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री कृष्णा केसीलाई नियुक्त गरेका छन् ।
एमालेबाट विष्णु पन्थी स्वास्थ्य मन्त्री, दुर्गाप्रसाद चौधरी वन तथा वातावरण मन्त्री, तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त भएका छन् । यसअघि मन्त्री बनेका एमालेका उपनेता चेतनारायण आचार्यलाई खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ । जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री र राप्रपाका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रीमा नियुक्त भएका छन् । शपथ कार्यक्रम आज दिउँसो १ बजे हुने प्रदेशसभा कार्यालयले जनाएको छ ।