बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सङ्घीयतालाइ मजवुत बनाउनको लागि स्थानीय सरकारलाई मजवुत बनाउनुपर्ने बताउनु भएको छ। सङ्घीयता कार्यान्वयनमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहकोले स्थानिय सरकारलाइ बलियो बनाउनु पर्ने बताउनु भएकाे हाे ।
बुटवल उपमहानगरपालिकाले आयोजना गरेको प्रथम उपमहानगर राष्ट्रिय सम्मेलनको आइतवार बुटवलमा उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले स्थानीय सरकारमा पनि महानगर, उपमहानगर र गाउँनगरको अवस्था र समस्या फरक फरक रहेकाले आर्थिक सामाजिक हिसाबले स्रोत साधनको वितरणबारे छलफल गर्न जरुरी रहेको बताउनुभयो ।
सङ्घीयता कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारका बीचमा समन्वय र सहकार्य जरुरी रहेको भन्दै उहाँले आवश्यक कानुन निर्माणमा चासो दिनुपर्ने बताउनुभयो । उहाँले बुटवलले उपमहानगरपालिकाहरुका साझा समस्याको समाधानको खोजी गर्ने अभ्यासको थालनी गरेकोमा खुशी व्यक्त गर्दै उहाँले यसले सङ्घीयतालाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै महानगर फोरमका संयोजक तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सङ्घीयता बलियो बनाउनका लागि स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले संविधानले व्यवस्था गरेअनुसारका साझा र एकल अधिकार प्रयोगका लागि आवश्यक कानून निर्माण र कार्यान्वयनमा जटिलता देखिएकाले त्यसको समाधानका लागि सङ्घीय सरकारले चासो देखाउनुपर्ने बताउनुभयो ।
उहाँले महानगर, उपमहानगर, नगर र गाउँपालिकाहरुको भूगोल, आर्थिक र सामाजिक अवस्था फरक फरक रहेकाले सोहीअनुसारले आर्थिक स्रोतको वितरण गरिनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइँले संविधानले व्यवस्था गरेअनुसारका अधिकार कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा सङ्घीय सरकारले विशेष चासो देखाउनुपर्ने बताउनुभयो ।उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारका बीचमा समन्वय र सहकार्यलाई अरु बढी प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।