एक महिने स्वस्थानी व्रत विधिपूर्वक समापन गरिँदै

87

पौष शुक्ल पूर्णिमादेखि घर–घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गर्न लागिएको हो ।स्वस्थानी व्रत कथामा स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई भन्ने र सुन्ने गरिन्छ । विधिपूर्वक एक महिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता तथा विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाएर व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिने धार्मिक परम्परा छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहानुसार निराहार बसेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति सो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीको उद्धार गरेकाले परम्परागत रूपमा यो कथा प्रचलित हुँदै आएको मानिन्छ ।व्रतालुहरुले आज नजिकका तीर्थहरुमा गई नुहाई धुवाई गरी विधिपूर्वक पूजा गरी दान दक्षिणा गर्ने चलन छ । साँझ पूर्णिमा व्रतको पूजासँगै महिना दिन लामो स्वस्थानी ब्रत पूरा हुन्छ ।

 

Leave A Reply

Your email address will not be published.