कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिकामा ३ जना महिलालाइ बोक्सी लगाएर मारेको आरोपमा निर्घात रूपमा कुटपिट भएको छ । गत मंगलबार महाराजगन्ज वडा नम्बर–११, बनगाईमा बोक्सी लगाएर मारेको आरोप लगाउँदै सोनमती तेली, सोमना तेली र राधिका तेली माथि कुटपिट भएको हाे । स्थानीय जनार्दन कुर्मी, पुष्पावती पासी, प्रमिला पासी, रामचल्ले चमकटीया लगायतले बोक्सी लगाएर मारेको आरोप लगाउँदै आक्रमण भएको राधिका बताउँछिन् ।सोमनाको देवर शुद्धु तेलीको मृत्यु भए पछि बोक्सी लगाएर मारेको आरोप लगाएको पीडितको भनाइ छ ।
उनीहरु मलामी गएर फर्किए पछि घरमा पुगी कुटपिट गरेका थिए । कुटपिटले घाइते भएका ३ जनाको कपिलवस्तु अस्पतालमा उपचार भएको थियो । उनीहरु उपचारपछि घर फर्किएका छन् । घटनापछि जाहेरी दिन वडा प्रहरी कार्यालय चन्द्रौटा पुगेकी सोमना प्रहरीले जाहेरी लिन अस्विकार गरेपछि निरास भएर घर फर्किएकी थिइन् ।
यता वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहीले उजुरी दर्ता नगर्नुभन्दा पनि सत्यतथ्य बुझेर मात्रै प्रक्रिया अगाडि बढाइने बताए । उक्त घटनाबारे जानकारी पाए लगत्तै आफूले घटना बुझ्न दुबै पक्षलाई बोलाएको बताउँदै उनीहरु नआएको उनको भनाइ छ । उनले भने ः “यदि बोक्सीको आरोपमा कुटेको गन्ध मात्र निस्कियो भने त्यतिबेला कारबाही गरिहाल्ने छौँ ।“
बुटवल टुडेबाट प्रकाशित