काठमाण्डाैँ । भारतको सर्वोच्च अदालतले एउटा फैसलामा सिक्किममा बसोबास गर्ने नेपालीभाषीलाई ‘विदेशी’ भन्दै फैसला सुनाएपछि सिक्किममा विराेध चर्किन थालेकाे छ । सिक्किममा दुई दिने बन्द आह्वान गरिएको छ। सत्ता विपक्षी दल एसडीएफ पार्टीका अध्यक्ष र पूर्व मुख्यमन्त्री पवनकुमार चामिलङले शनिबार र आइतबार सिक्किम बन्दको आव्हान गरेका हुन्। विपक्षी दल एसडीएफ पार्टीले हिजो शुक्रबार विरोध प्रदर्शन गर्दै दुई दिने बन्दको आव्हान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
विपक्षी दलले बन्दको आह्वान गरे पनि सिक्किममा आज भने बन्दको आंशिक प्रभाव मात्रै परेको छ। राजमार्गमा सवारीसाधन तथा केही स्थानमा बजार खुला रहेको त्यहाँका स्थानीय सञ्चारमाध्यममा उल्लेख छ। बन्दको आह्वान गरेका एसडीएफ पार्टीका नेता तथा कार्यकर्ताहरू बिहानैदेखि सिक्किमका विभिन्न सहरमा विरोध र्यालीसहित प्रदर्शन गरिरहेका छन्। सिक्किम सरकारले सुरक्षा व्यवस्था कडा बनाएको जनाइएको छ। आन्दोलन चर्किएसँगै सिक्किम सरकारको सूचना प्रविधि विभाग, स्वास्थ्य तथा परिवार कल्याणमन्त्री डा. मणिकुमार शर्माले पदबाट राजीनामा दिइसकेका छन्। नेपाली, भुटिया र लेप्चा समुदायको बाक्लो बसोबास छ।