माेरङ । सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने रविको पक्षमा उभिएका छन् ।बिहीबार विराटनगर पुगेका ओलीले सञ्चारकर्मीसँग भने, ‘कुन कुन पार्टीले के-के लिन सहमति पहिल्यै भएको हो । त्यहीअनुसार जानुपर्छ । रास्वपाले पनि आफूले पाउनुपर्ने कुरा दिनुपर्छ। छलफल भइरहेको छ । खटपट भएको छैन । हामीले गृहमन्त्रालय उहाँहरूलाई दिएका हौँ । रास्वपाले गृहमन्त्री रवि लामिछानेलाई बनाएको थियो । उनीहरूलाई गृहमन्त्रालय नदिने छुट्टै कुरा भएको भए त्यसले अप्ठ्यारो पैदा गर्छ तर, त्यस्तो भएको छैन ।’
माओवादीले गृहमन्त्रालयबारे निर्णयका लागि रविको फैसलाको पूर्णपाठ कुर्ने निर्णय गरेको छ । ओलीले भने, लामिछानेलाई गृहमन्त्री बनाउन पूर्णपाठ आवश्यक नपर्ने बताएका छन् । ‘किन चाहियो पूर्णपाठ ? कण्ठ गर्ने हो र पूर्णपाठ ? किन चाहियो पूर्णपाठ ?’, ओलीको प्रश्न छ ।