काठमाडौं । सत्ता गठबन्धनभित्रका दलहरूबीच भोट ट्रान्सफर नहुँदा माओवादी केन्द्रलाई धक्का लागेको छ। ०७४ सालको निर्वाचनमा एमालेसँगको गठबन्धनबाट प्रत्यक्षमै ३६ सीट जितेको माओवादी अहिले १७ सीटमै सीमित बन्न पुगेको हो।प्रतिनिधि सभाको १६५ सीटमध्ये माओवादीले ४६ सीटमा मात्रै उम्मेदवारी दिएको थियो। दश वर्षे जनयुद्धपछि शान्ति प्रक्रिया आएको माओवादीले ०६४ को संविधानसभामा निर्वाचनमा प्रत्यक्षतर्फ ५० प्रतिशत सीट जितेर संसदीय राजनीतिमा उदाएको थियो। तर, ०६४ देखि ०७९ सम्म आइपुग्दा निरन्तर ओरालो यात्रामा छ।
संसदीय राजनीतिमा माओवादी निरन्तर तेस्रो शक्तिको रूपमा स्थापित भएर त्यसको प्रत्यक्ष लाभ लिइराखेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धक्का लागेको छ।गठबन्धनबाट आफूलाई निर्णायक शक्तिको रूपमा स्थापित गरेर प्रधानमन्त्रीको योजना बनाएका प्रचण्डलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनौती दिएको छ।तर, काठमाडौं उपत्यकामा कुनै सीट जित्न सकेन। पम्फा भुसाल, ओनसरी घर्ती, मानुषी यमी जस्ता प्रभावशाली नेतृ अघि सारेको माओवादीले कुनै एक सीटमा जित निकाल्न सकेन।यस्तै, यसअघि ३ सीट जितेको सुदूरपश्चिममा माओवादी आफ्नो अस्तित्व जोगाउन नसकेर शून्यमै सीमित रह्यो। स्राेतः नेपालप्रेस