वाणगंगा । कपिलवस्तु जिल्ला वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानले कपिलबस्तुको बाम–लोकतान्त्रिक गठबन्धनलाई सघाउने भएको छ । कपिलवस्तु जिल्लाकाे वाणगंगा नगरपालिका जीतपुरमा भएकाे पत्रकार सम्मेलनमा पार्टीकाे केन्द्रीय कमिटीको निर्णय अनुसार कपिलबस्तुको बाम–लोकतान्त्रिक गठबन्धनलाई सघाउने गरी निर्णय भएको जनाइएको छ । अभियानका केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश संयोजक महेन्द्र अर्यालले कपिलबस्तुका प्रतिनिधि चक्रपाणी खनाल (बलदेव) वामपन्थी शक्तिहरुको हितमा काम गर्ने भएकाले समर्थन गरेको जानकारी दिए । ‘हाम्रो राष्ट्रिय एकता अभियानको केन्द्रीय कमिटीको बैठकबाट कपिलबस्तुका गठबन्धनका उम्मेद्वारहरुलाई सघाउने निर्णय भएको छ । आफ्नो पार्टी चुनावमा सहभागी नभएपनि लुम्बिनी र सुदुरपश्चिम क्षेत्रमा गठबन्धनका बिषयमा समर्थन, सहयोग गर्ने निर्णय भएको उनले बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा कपिलबस्तु–१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार चक्रपाणी खनाल बलदेवले नेकपा एकता पार्टीले चलाएको नेकपा एकता अभियानले कपिलबस्तु सहित देशैभर थप उर्जा थप्दै कपिलबस्तुको जीत सुनिश्चित तर्फ उन्मुख गरेको प्रति हार्दिक आभार ब्यक्त गरेका छन् ।