सुरेन्द्र राज आचार्य प्रतिनिधि सभाका लागि कपिलवस्तु क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् । नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका आचार्य सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हुन् । निर्वाचन सन्निकट आइरहँदा उनले आफ्नो प्रचार अभियानलाई पनि तीव्र पारेका छन् । विभिन्न विकासका एजेण्डा लिएर मतदाताकहाँ पुगिरहेका आचार्यसँग निर्वाचनकै सेरोफेरोमा केन्द्रित रहेर गरिएको कुराकानीको सारसंक्षेपः
तपाईंको उम्मेदवारी के का लागि ?
मेरो उम्मेदवारी यो क्षेत्रको समग्र विकासको लागि हो । यहाँका आम मतदाताको ईच्छा आकाँक्षा परिपूर्तिका निमित्त पनि हो । किनभने हामीले देखेका छौ, २२÷२३ बर्षदेखि यो क्षेत्रको नेतृत्वले जनचाहना अनुसारको कार्य गर्न नसकेको देखियो । आज यो क्षेत्रको समग्र विकास हेर्दा अत्यन्त दयनीय अवस्थामा छ । यहाँको सडक पूर्वाधार मात्रै होईन स्वास्थ्य, शिक्षा र रोजगारको अवस्था दयनीय छ । मेरो एजेण्डा भनेकै विकासका लागि परिवर्तन भन्ने हो । म त्यो मुद्दा लिएर अगाडि बढेको छु, आम मतदातामा क्षेत्रको विकासका लागि परिवर्तन गर्ने व्यापक चाहना छ ।
मतदाताले तपाईँलाई के प्रश्न गरिरहेका छन् ?
घरदैलोका क्रममा आम मतदाताको एउटै प्रश्न छ “हामीले बिगतमा जिताएको उम्मेदवारहरु हाम्रो दुःखसुखमा पनि नहेर्ने, विकास पनि नगर्ने । यत्रो कोरोना कालमा पनि हामीले भेटाउन सकेनौं, देख्न सकेनौ ।” भन्ने छ । यहाँका समग्र समस्या कृषि, स्वास्थ्य, शिक्षा र सडक सञ्जालमा केही पनि नभएको अवस्थामा जहाँ जहाँ जान्छु त्यही प्रश्न हुन्छ । त्यसले गर्दा मैले ती काम पुरा गर्छु, तपाईहरुले अवसर दिनुस् भनेर आग्रह गरिरहेको छु । मतदाता हामीलाई मतदानका लागि एकदमै उत्सुक अवस्थामा रहेको मैले महसुस गरिराखेको छु ।
चुनाव जित्न त व्यापक रुपमा जनतालाई आकर्षित गर्न सक्ने एजेन्डा चाहिएला नि ? त्यस्तो के छ तपाईंसँग ?
यो क्षेत्रमा अधिकांश कृषि पेशा गर्ने आम मतदाताहरु हुनुहुन्छ । किसानका लागि आवश्यक पर्ने मलखाद, बिउ उपलब्धता र कृषिलाई एउटा पेशाको रुपमा अंगिकार गर्ने वातावरण सिर्जना गर्नु मुख्य एजेण्डा हो । कृषिका लागि खास गरी सिंचाईका सुविधाहरु, ठाउँ ठाउँमा बोरिंगहरु, कुलो र नहरहरु सहित कृषिको आधुनिकीकरण गरी किसानलाई विशेष सहुलियतको व्यवस्था गर्ने र कृषि उपजलाई बजारीकरणमा सहयोग पुर्याई आयआर्जनमा सुधार ल्याउने योजना छ । कपिलवस्तु जिल्ला गौतम बुद्धसँग जोडिएको पर्यटकीय स्थल हो । यसको अपेक्षाकृत विकासमा यहाँ निर्वाचित जनप्रतिनिधिले भूमिका खेल्न नसक्दा यो अलपत्र अवस्थामा छ । यहाँ आउने स्वदेशी र विदेशी पर्यटकले सामान्य सुविधा पनि पाएका छैनन् ।
अब यसलाई बिश्व सम्पदा सूचीमा सूचीकरण कार्य पूरा गराउन पहलकदमी लिएर देश र विदेशमा चिनाएर जिल्लाको विकास र पर्यटन प्रवद्र्धन गराउने योजना छ । बहुसंख्यक युवाका लागि प्राविधिक शिक्षा दिन प्राविधिक शिक्षालय बनाउने योजना छ । जसका कारण स्वदेशमा सिप प्रयोग गरी आय आर्जन गर्न र विदेश जान चाहने युवामा दक्षता हासिल हुन्छ । सो सँगै पूर्वाधार, शिक्षा, स्वास्थ्य र स्वरोजगारका क्षेत्रमा उल्लेखनीय कार्य गर्ने एजेण्डा म सँग छ । स्राेतः न्युज बुटवल टुडे