चुनावी प्रचार प्रसार उत्कर्षमा भएको बेलामा मधेसको जनमत परिवर्तनको पक्षमा देखिएको छ। कुनै बेला मधेसका मसिहा भनाउन रुचाउने उपेन्द्र यादव एमालेसँगको गठबन्धन गरेपछि उहाँमाथि ओलीपथमा हिँडेको आरोप लागेको छ। मधेस आन्दोलनको रापतापमा चुनाव जितेसँगै आफूले दिएको वचन अनुसार संविधान पुनर्लेखन वा संशोधन भन्दा पनि केन्द्रिय सरकार बनाउने भत्काउन खेलमा पाँच वर्षसम्म लागेकाले पनि मंसिर ४ गते त्यसको प्रतिउत्तर दिन आतुर रहेको देखिन्छन् मधेसी जनता।
समग्र मधेस सहितको स्वायत्त प्रदेश स्थापना गराएर मधेसलाई मुक्ति दिलाउन गठन भएको मधेसी जनअधिकार फोरमको अध्यक्ष बने देखि उपेन्द्र यादवले स्थापित गरेको १५ वर्षको विरासत जोगाउन अहिले धौ धौ परेको छ। मधेसी दल प्रति देखिएको मधेस आक्रोशबाट जोगिन उहाँ मधेसवाद छाडेर ओलीको राष्ट्रवादी अभिनयको सहकर्मी पात्र बनेको चर्चा जसपा भित्रै चलिरहेको छ।
खास गरेर अहिले दुबै मधेसीलाई राष्ट्रिय पार्टीका लागि थ्रेसहोल्ड जोगाउन ठुलो चुनौती आइपरेको छ। जसपालाई मधेसबाट थ्रेसहोल्ड काट्न आइपरेको आपतबाट जोगिन उहाँ आफ्नो चुनावी मुद्दालाई यूटर्न गर्दै ओलीको राष्ट्रवादी नारालाई चुनावी प्रचार प्रसारका मुद्दा बनाउनु भएको हो।
संविधानको घोषणा पश्चात भएको मधेस आन्दोलन र ६ महिनाको नाकाबन्दीमा संविधान संशोधन होइन, पुर्नलेखन गराउने छु भन्दै उपेन्द्र यादव र उहाँको पार्टी चुनावबाट ठुलो जनमत पाएको थियो। तर चुनाव पछि संविधान पुनर्लेखन वा संशोधनको कुरा पर जाओस् मधेसीलाई झुक्याउन आलीसँग झुटो सम्झौता गरेर ओली सरकारको उपप्रधान तथा स्वास्थ्य मन्त्री बन्न सफल हुनुभयो। यता मधेसमा पाएको जनमतले मधेसी गठबन्धनको प्रदेश सरकार बन्यो जसको मुख्यमन्त्री लालबाबु राउत गद्दी बन्नुभयो।
यादव र उहाँका मुख्यमन्त्री लालबाबु राउत लगायतका जनप्रतिनिधिहरूको लागि मधेस आन्दोलन र मधेसी युवाहरूको सहादत सत्ताभोग प्राप्तिको साधन मात्रै प्रमाणित भयो। त्यसमा पनि केन्द्र देखि प्रदेशसम्म मन्त्रीको लागि मधेसी नेताले गरेको हानथापले मधेसी सहिदको आत्मालाई निश्चय नै दुखी तुल्याएको छ।
ओली सरकारमा बसेपनि प्रचण्डको जासुस भएको आरोपमा आलीले सरकारबाट बेइज्जत निष्कासित गरेपछि उपेन्द्र यादव रिसले ओलीको विरोधमा जाइ लाग्नुभो। आफ्नै सांसदहरूले पार्टी फोड्न लागेपछि विभिन्न ठाममा हार गुहार गर्दै दुबै मधेसी दललाई एकीकरण गराउनु भयो। जसपा पार्टीद्वारा कुनै निर्णय नगरिए पनि बिपक्षीद्वारा संसद्मा ल्याइएको ओली सरका विरुद्धको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्दै ओली प्रतिगमनकारी भए भन्दै जसपालाई टुक्र्याउनमा उपेन्द्र यादव पछि पर्नुभएन। सबै ठिक भएपनि रातारात उपेन्द्र यादवमा आउने परिवर्तन पुन चुनाव अघि देखियो। पार्टीमै विदेशी दुतावासका कन्सुलरलाई बसाएर आफ्नै नेताहरूलाई कार्यवाही गर्ने र ओलीलाई प्रतिगमनकारी भन्ने ओलीसँग राता रात गठबन्धन गर्नु कुरा अर्कासँग जोडिएको पार्टीकै नेताबीच चर्चाको विषय रहँदै आएको छ।
सधैँ मधेसको कुरा गर्ने उपेन्द्र थ्रेसहोल्ड कटाउने अहिले हिमाल ,पहाड र तराइको कुरा गर्दै सरकार मार्फत जनताको समान हक, पहुँच र मुक्तिको कुरा गर्दै जनमतलाई लोभ्याउने कोसिसमा हुनुहुन्छ। तर त्यो दिवास्वप्न जस्तो देखिएको छ। चुनाव जितेपछि आफ्ना मतदाता समक्ष गरेको वाचा पूर्णरुपमा असफल भएकोले उनको पराजय हुने निश्चित भएको आकलन गर्न थालिएको छ।
२०४६ सालको प्रजातान्त्रिक आन्दोलन पछि नेपाल सदभावना पार्टीले मधेसको मुद्दाहरूलाई उठाउँदै आएपनि मधेसी जनअधिकार फोरम त्यसबेला सबै दलमा रहेका मधेसीहरूको साझा मञ्च रुपमा स्थापित भएको थियो। फोरमको नेतृत्वमा मधेस आन्दोलनले मधेसी, थारू र जनजातिलगायतका पछाडि पारिएकाको सवाललाई उठाएको थियो। तर सत्तालिप्साका कारण फोरम एउटा पार्टी बन्यो मधेसको मुद्दा भन्दा पनि सत्ताको राजनैतिक ध्रुवीकरणमै डुब्दै गयो परिणाम स्वरुप उपेन्द्र यादव रोडपतिबाट करोडपति बन्नुभयो तर समग्र मधेस ८ जिल्लामा सीमित भयो।
आन्दोलन राजनीतिक प्रक्रिया हो, हरेक पटक यो आन्दोलन कर्ताकै पक्षमा सफल हुनुपर्छ भन्ने छैन, तर यसले केही न केही योगदान गरेको हुन्छ, मुद्दा अगाडि बढाएको हुन्छ। जसरी प्रजातन्त्रवादीको पक्षमा परिणाम नआए पनि २०३६ सालको आन्दोलनको जगमा २०४६ को प्रजातान्त्रिक आन्दोलन सफल भयो। पछिल्लो मधेस आन्दोलन मधेसी, थारू जनजातिको मुद्दाको सवालमा २०३६ को घटना सरह हो, यस अर्थमा एउटा २०४६ जस्तो आन्दोलन आउन बाँकी छ।
पहिलो र दोस्रो मधेस आन्दोलन सम्झौतामा टुङ्गिदा समावेशी र समानुपातिक प्रतिनिधित्वका सवाललाई तत्कालीन अन्तरिम संविधानमा सामेल गरिएको थियो भने संघीयतालाई संवैधानिक संकल्प बनाउन सफल भएको थियो। तेस्रो मधेस विद्रोहको संज्ञा दिइएको पछिल्लो पटकको आन्दोलनलाई पाँच वर्ष पछाडि फर्केर हेर्दा त्यसले देशलाई र मधेसलाई के दियो भन्ने सवाल उठिरहन्छ। २०७२ साउन २५ मा टीकापुरमा पुगेर मधेसका नेताले सम्बोधन गरेपछि त्यहाँ चलिरहेको थारू आन्दोलनमा ऊर्जा र जोश थपियो, एकीकृत रूपमा आन्दोलन अगाडि बढ्ने वातावरण बन्यो। साउन ३१ देखि सुरु भएको आन्दोलनमा भदौ १ मा सप्तरीमा प्रहरीको गोली लागि राजीव राउतको मृत्यु भएपछि आन्दोलनमा जनसहभागिता बढ्यो। पश्चिममा थारूको आन्दोलन, यता मधेसीको आन्दोलन समान माग र मुद्दाको लागि अगाडि बढेको थियो। भदौ ७ मा टीकापुरको घटना भएपछि बलपूर्वक राज्यले थारू आन्दोलन दबाउँदा समग्र आन्दोलनलाई नै क्षति पुग्यो।
जो उक्त विद्रोहमा होमिए, कुटिए, राज्यको दमनले अंग गुमाए र परिवारका आत्मीय सदस्य गुमाए ती सर्वसाधारण भने ठगिएको महसुस गर्छन्। आन्दोलन हाँक्नेहरूले संवाद प्रक्रियामा रणनीतिक कमजोरी गरेका कारण आन्दोलनको अवतरण सम्मानजनक हुन नसकेको हो। मधेस आन्दोलनमा जनताको व्यापक सहभागिता र बलिदान भए पनि नेतृत्व पंक्ति विभाजित हुँदा तथा संवाद प्रक्रियामा कमजोर रणनीतिले गर्दा बिनानिष्कर्ष नै आंदोलन टुंगियो। यसैले त अहिले मधेसी दल अर्थात उपेन्द्र यादव प्रति ठुलो आक्रोश छ।
उहाँलाई तुलसी गिरी जस्तो प्रतिगमनकारीको सज्ञा दिन थालिएको छ। निर्वाचनपश्चात सत्ताको राजनीतिक दलदलमा फस्दै जाँदा आन्दोलनको मर्म नै मर्न पुगेको छ।आफुलाई कुम्युनिष्ट भन्दा राष्ट्रवादी भन्न रुचाउने केपि शर्माओलीको राजावादी, हिन्दुवादी सहितको खिचडी गठबन्धनमा होमिएका उपेन्द्र यादवले मधेसवादलाई त्याग्दै ओलीवादमा लाग्नुभएको छ। जसको एकमात्र उद्देश्य सत्ता प्रप्ति र १५ बर्ष देखिको विरासतको जोगाउनु मात्र हो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार