कपिलवस्तुका मतदाताको प्राथमिकता सिंचाइ, उम्मेदवारसँग छैन स्पष्ट खाका

79

कपिलवस्तु । चुनावी माहोल तताउँदै कपिलवस्तुमा उम्मेदवारहरु मत माग्दै घर दैलोमा पुग्ने गरेका छन् । निर्वाचन क्षेत्र नम्बर २ मा मत माग्दै आएका उम्मेदवारसँग स्थानीयले सिंचाइको प्रवन्ध गरिदिन माग गरेका छन् । उनीहरुले धन रोप्ने बेलामा भोग्दै आएको पानी र मल अभावको समस्या समाधान हुनु पर्ने माग राखेका छन् ।

‘धान रोप्ने बेला सिंचाइको लागि पानी हुँदैन, गहुँ लगाउने समयमा पनि समस्या छ । खोलाबाट पनि तान्न पम्पसेट छ । मोटर जडान गर्न बिजुलीको व्यवस्था छैन । महँगो इन्धनले गर्दा दैनिक एक हजारको हाराहारीमा खर्च आउँछ,’ कपिलवस्तु बुद्धभूमि नगरपालिका १० लोहरौलाका कृषक कृष्णमोहन भन्छन् । कृष्णमोहनले जस्तै समस्या सुनाउँछन् महाराजगञ्ज नगरपालिकाका धनीराम कोरी । ‘कपिलवस्तु जिल्ला कृषिको उर्बर भूमि समेत हो । यहाँका अधिकांश जनता कृषिमा निर्भर छन् । तीन तहको सरकारलाई समेत थाहा छ । कृषिमा सम्भावना भए पनि सिंचाइको समस्याले हरेक वर्ष कृषक समस्यामा परेका छन्,’ उनी भन्छन् ।

प्रमुख प्रतिस्पर्धी उम्मेदवारलाई पनि आफ्नो क्षेत्रको आवश्यकता सिंचाइ हो भन्ने थाहा छ । उनीहरुले पहिलो प्राथमिकता कृषिलाई दिने भन्दै सिंचाइको समस्या समाधान गर्ने प्रतिवद्धता गरेका छन् । कपिलवस्तु २ बाट प्रतिनिधि सभामा ३ पूर्वमन्त्रीसहित ११ जना चुनावी मैदानमा छन् । उनीहरुसँग सिंचाइ समस्या समाधान गर्ने ठोस योजना भने छैन ।

एमालेका उम्मेदवार इञ्जिनियर बृजेशकुमार गुप्ता पूर्वकानुन मन्त्रीसमेत हुन् । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रदेश महामन्त्री तथा पूर्व सिंचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्य उम्मेदवार छन् । लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अधिवक्ता अकवाल अहमद शाह समेत पूर्व कृषि मन्त्री हुन् । एमाले उम्मेदवार गुप्ता आफ्नो क्षेत्रमा मात्र नभएर जिल्लाको प्रमुख समस्या नै सिंचाइ र मलखादको अभाव रहेको बताउँछन् । उनी भन्छन्, ‘कृषकको समस्या देशकै समस्या हो । यहाँको पनि यही समस्या देखिन्छ ।’ कपिलवस्तुको सिंचाइको समस्या दीर्घकालीन रुपमा समाधान गर्न नौमुरे आयोजना सञ्चालन गर्नुपर्ने उनी बताउँछन् । बुद्धभूमि ७ को मानपुर सेखुनिया ताल र वडा नम्बर १ गुडरुङ सिंचाइ आयोजनाबाट तत्कालका लागि समस्या समाधान हुने उनको भनाइ छ ।

तर सेखुनिया ताल अतिक्रमणको चपेटामा परेको छ । स्थानीय सरकार र समुदायले अपनत्व नलिँदा तालको पश्चिमतर्फको डिल भत्काएर घर निर्माण र खेतीपाति गरिएको छ । आधा भूभाग अतिक्रमण भएर बचेको तालमा बुद्धभूमि नगरपालिकाले माछा पालनको लागि ठेक्का दिएको छ । सेखुनिया तालको सिंचाइ आयोजनाको लागि बजेट परे पनि विवाद हुँदा योजना फ्रिज भएको छ  । गुप्ता आफ्नो पहलमा सिंचाइ आयोजनाको लागि २७ करोड रुपैयाँ बजेट आएको दाबी गर्छन्, कांग्रेस उम्मेदवार आचार्य पनि यो आयोजनाका लागि आफूले नै पहल गरेको दाबी गर्छन् । तर निर्माण समितिले चासो नदिँदा त्यो रकम फ्रिज भएको हो । सत्ता गठबन्धनका उम्मेदवार आचार्यले पूर्व मन्त्री समेत भएकाले आफूलाई सिंचाइ सम्बन्धी अनुभव भएको बताउँछन् । उनी समस्या समाधानको लागि गुडरुङ सिंचाइ आयोजना पूरा गर्ने र डिप वोरिङ हाल्ने बताउछन् ।

आचार्यकै घरछेउमा एक दशकअघि बाँधको काम पूरा भएको गुडरुङ सिंचाइ आयोजना नहरको काम नहुँदा पूरा हुन सकेको छैन । तीन महिना सिंचाइ राज्य मन्त्रीसमेत भएका आचार्यले आफ्नो गृह नगरमा बनेको तटबन्धको काम अगाडि बढाउन नसकेको आरोप समेत छ । सिंचाइ आयोजना निर्माण समितिका अध्यक्ष श्यामप्रसाद खनालले जनप्रतिनिधिले चासो नदिँदा नहरको काम हुन नसकेको बताउँछन् । काम गर्दागर्दै वनले रोकेपछि नाला खन्ने काम रोकिएको र पछि स्थानीय सरकारलाई पटक–पटक पहल गर्दा पनि चासो नदिएको खनालको आरोप छ । उनले चुनावको बेला मात्र बाँधको कुरा उठ्ने गरेको तर अरु बेला दलहरुले बाँधको कुरा सुन्नै नचाहेको बताउँछन् ।  अनलाइन खबर सभार 

Leave A Reply

Your email address will not be published.