प्रचण्ड द्वारा ‘गोरखा समृद्धिको मार्गचित्र’ नामक प्रतिबद्धता पत्र सार्वजनिक

78

काठमाडौं । नेकपा माओवादिका अध्यक्ष एवम् गोरखा क्षेत्र नम्बर २ सत्ता गठबन्धनका साझा उम्मेदवार  पुष्पकमल दाहाल प्रचण्डले आफनाे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । ८ पृष्ठ लामाे उक्त प्रतिबद्धता पत्रमा  प्रचण्डले गोरखाको विकासका योजनाहरू सार्वजनिक गरेका छन् । उनले गेम चेन्जर गुणात्मक योजनाहरु र नियमित गरी दुई भागमा वर्गीकरण गरी प्रतिबद्धता जनाएका छन । गोरखा समृद्धिको मार्गचित्र नाम दिइएको प्रतिबद्धता पत्रमा गेम चेन्जर योजनाहरू अन्तर्गत संविधानमा भएको व्यवस्था अनुसार जिल्लाको चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाको निश्चित भूभागलाई विशेष वा स्वायत्त वा संरक्षित क्षेत्र घोषणा गर्न पहल गर्ने, बहुउद्देश्यीय राष्ट्रिय गौरवको १२ सय मेघावटको बुढीगण्डकी जलविद्युत आयोजना तत्काल कार्यान्वयन सुरू गर्ने, रणनीतिक महत्वको रुपमा रहेको बेनीघाट–आरूघाट–लार्के नाका सडक खण्ड निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता उनले जनाए ।

कृषि, पशुपालन, जडीबुटी, फलफूल खेती, अलैंची खेती, सुन्तला खेती, घरेलु हस्तकला, होमस्टे, साना उद्योग तथा घरेलु उद्योगहरूको प्रवद्र्धन गर्दै स्थानीय स्तरमा युवाहरूलाई स्वरोजगारी प्रदान गर्ने योजना र कार्यक्रमहरु अघि बढाउने प्रतिबद्धता जनाएका छन् । सिर्दीबास, माछीखोला, बारपाक, भच्चेक क्षेत्रमा हिमाली क्षेत्रका जडीबुटी संरक्षण, सङ्कलन र प्रशोधन केन्द्र स्थापना गरी सो क्षेत्रलाई जडीबुटी विशेष क्षेत्रको रुपमा विकास गर्ने, लिगलिग कोट, सिरानचोक, गोरखा दरबार, मनकामना आदिलाई समेटेर धार्मिक, ऐतिहासिक तथा पर्यटकीय सर्किटको रुपमा विकास गर्ने, गोरखा र उत्तरी गोरखालाई हिमालय पर्यटनको रूपमा विकास गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.