कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले तिहारमा खेलिने देउसी–भैलो कार्यक्रम राति १० बजे पछि खेल्न निषेध गरेकाे छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विस्फोटक पदार्थ (पटकाहरू) को ओसारप्रसार, खरिद, बिक्रीमा पूर्णतः रोक लगाएको छ ।
चाडपर्वमा भुइँचम्पा, पटाका, रकेटजस्ता विस्फोटक र ज्वलनशील वस्तु तथा पदार्थको प्रयोगले आगलागी, धनजनमा क्षति हुन सक्ने सम्भावना र वातावरणमा समेत प्रतिकूल असर पर्नसक्ने भएकाले रोक लगाएको प्रमूख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनुभएकाे छ । कोही कसैले कानुन विपरितका क्रियाकलाप भए/गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बताएका छन् । प्रशासनले आइतबार यसबारे आधिकारीक सूचना जारी गर्ने पनि तयारी गरेको जनाइएको छ । प्रशासनले चाडपर्व लाइ व्यवस्थित र सभ्य तरिकाले मनाउन पनि आग्रह गरेकाे छ ।