कपिलवस्तु–१: बलदेब र बलराममा को बलवान ?

74

कपिलवस्तु । प्रतिनिधिसभा अन्तर्गत कपिलबस्तु–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार चक्रपाणी खनाल (बलदेव) र एमालेका बलराम अधिकारी बीच चुनावी भिडन्त हुने देखिन्छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा पूर्वमन्त्री समेत रहेका चक्रपाणी खनाल (बलदेव) र नेकपा एमालेका जिल्ला इन्चार्ज एवं संबिधानसभा सदस्य बलराम अधिकारीबीच मुख्यतः महाभिडन्त हुने देखिएको हो । तीन निर्वाचन क्षेत्र रहेको कपिलबस्तुमा क्षेत्र नम्बर १ मा ‘हेबिवेट’ उम्मेदवार बलदेवलाई टक्कर दिन बलराम निर्वाचनमा होमिएका हुन्  । कपिलबस्तु–१ मा दुवैतर्फका यी उम्मेदवार जिल्लामा पाका एवं हक्की नेताका रुपमा समेत परिचित छन् ।

मंसिर ४ को आमनिर्वाचनमा आमन–सामने भिडन्तका लागी तत्पर बलदेव र बलराम बिगतको निर्वाचनमा साझेदार सहकर्मीका रुपमा रहेका थिए । २०७४ सालमा एमालेकैे समर्थनमा उम्मेदवार भएका माओवादी केन्द्रका बलदेवले कपिलवस्तु १ मा २९ हजार ७९९ मत ल्याएका थिए । उक्त निर्वाचनमा कांग्रेसका उम्मेद्वार दीपकुमार उपाध्यायले २८ हजार ८५३ मत पाएका थिए । ०७४ को निर्वाचनका मुख्य प्रतिस्पर्धी रहेका बलदेव र उपाध्याय अहिले बाम–लोकतान्त्रिक गठबन्धनका कारण एकै ठाउँमा सत्ता साझेदारका रुपमा रहेका छन् ।

गत बैशाखमा मात्रै भएको स्थानिय तहको निर्वाचनमा कपिलबस्तु क्षेत्र नम्बर १ मा ३० वडाध्यक्षहरुको मतलाई आधार मान्दा कांग्रेस नै अघि रहेको छ । कांग्रेसका वडाध्यक्षहरुले २८ हजार २७१ ल्याएका थिए । एमालेका वडाध्यक्षले २६ हजार ८२३ रहेको छ । त्यस्तै जसपाको १३ हजार ५१०, माओवादी केन्द्रको ९ हजार ३३८, एकीकृत समाजवादीको ३ हजार ७२२, लोसपाको ३ हजार ४२४, राप्रपाको २ हजार ४८० रहेको छ ।

हाल कायम रहेको बाम–लोकतान्त्रिक गठबन्धन अन्र्तगत नेपाली कांगे्रस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको प्राप्त मतलाई आधार मान्दा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारको जीत सुनिश्चित देखिन्छ । कपिलबस्तु–१ मा कुल मतदाता एकलाख ४१ हजार १३ रहेका छन् । स्थानीय तहको निर्वाचनको मतसंख्यालाई आधार मान्दा पनि क्षेत्र नम्बर १ मा बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार बलदेव जीतको नजिक देखिन्छन् ।

२०७० मा पहिलो पटक कपिलबस्तु–१ मा एमालेको झण्डा गाडेका अधिकारीलाई यसपटक सत्ता गठबन्धन चुनौतीको पहाड बन्ने देखिन्छ । २०७४ को चुनावी मैदान उत्रने तिब्र इच्छा राखेका अधिकारीले अहिलेका प्रतिस्पर्धी बलदेवलाई सहयोग गरेका थिए । पछिल्लो समयमा एमालेसमेत विभाजित रहेको अवस्थाले बलरामलाई चुनौती थपिएको छ ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का प्रमुख राजनितिक सल्लाहकार समेत भैसकेका बलदेव २०७४ मा कपिलवस्तु १ वाट निर्वाचित भई कृषिमन्त्री भए । उनको कार्यकाल छोटो भए पनि मुख्यगरि जमिन र कृषिमा नीति निर्माणमा काम गरि जमिनको व्यवस्थापन ४ प्रकारवाट गर्ने कार्य आरम्भ गरेका थिए । उनले व्यवसायिक, कृषि, उद्योग र सुकुम्वासिका लागि योजना निर्माण गरे भने मालपोतमा व्यापक भ्रष्टाचार हुने देखिएकाले अनलाईन प्रणालीमा ल्याउने काम समेत गरे ।

जमिनको चक्लाबन्दिको विषय र “कृषिमा यूवा” भन्ने कार्यक्रम जो निकै प्रभावकारी थियो । तत्कालिन अवस्थामा भारतीय खसीबोका आयातमा कढाई गर्ने र धुलो दुध आयातमा कटौती गरि स्वदेशी उत्पादनलाई बढावा दिने कार्य बलदेवको मन्त्री हुँदाको प्रमुख र ऐतिहासिक कार्य थिए । तर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले लागु गर्न नदिएपछि बलदेवले पदवाट राजिनामा दिए ।

कृषिजन्य वस्तु आयातमा खसि बोका प्रतिबन्ध, सात ओटै प्रदेश र कपिलवस्तु गरि आठ ओटा कृषि उपज संकलन केन्द्र निर्माण गर्ने योजना ओलिलाई सुनाएपछि तत्कालिन प्रधानमन्त्रि ओली अत्तालिए र काम गर्न दिएनन् । काम गर्न नदिएपछि उनले पदवाट राजिनामा दिए, यद्यपि अहिले सोहि जनमुखी योजनालाई प्रमुख एजेण्डा बनाएर जनताका घरदैलोमा पुगेका छन् ।

कपिलबस्तु–१ मा बाणगंगा, मायादेवी, शुद्धोधन पालिकाका सबै र कपिलवस्तुको नगरपालिकाको ७, ८, ९, १० र ११ वडा गरी ३० वडा रहेका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका उम्मेद्वार अधिकारी पुनः दोस्रोपटक निर्वाचित हुनेमा बिश्वस्त देखिन्छन् । २०७० मा निर्वाचनको नतिजा आफ्नो पोल्टामा पारेका अधिकारीको तत्कालिन योजनाहरुको कार्यान्वयनको प्रभावकारिता त्यति आशलाग्दो भने नदेखिएको जनगुनासा छन्् । लामो समय जिल्ला नेतृत्वमा रहेका अधिकारी ०७४ सालको निर्वाचन पश्चात लामो समय गुमनाम जस्तै रहे । तत्कालिन निर्वाचित हुँदाका बखत कपिलबस्तुको निर्वाचन क्षेत्र मात्रै २ क्षेत्रमा बिभाजित रहेको थियो ।

जिल्लाको उत्तरी क्षेत्रहरु महेन्द्रकोट, दुबिया, बुड्डी लगायतका क्षेत्रहरु तत्कालिन निर्वाचन क्षेत्र १ मा पर्ने गर्दथे । हाल क्षेत्र नम्बर १ मा जिल्लाको मायादेवी, शुद्धोधन र कपिलबस्तु नगरपालिकाका आशिंक क्षेत्रहरु समेटिएका कारण दक्षिणी सिमावर्ती क्षेत्रमा बलरामको उपस्थिती कम देखिन्छ, यद्यपि एमाले पार्टीको प्रभाव भने हाल आएर फैलिएको छ । भौतिक निर्माण तथा पुर्वाधारहरुको बिकासमा उक्त क्षेत्रमा एमालेकै तत्कालिन सांसद बिश्राम प्रसाद थारुले अग्रणी भूमिका खेलेका थिए । तत्कालिन योजनाहरुको शुरुवातकर्ता थारुलाई जाने थारु अगुवाहरुको ठम्याई छ ।

एमालेभित्रका प्रभावशाली नेताको प्रतिनिधि सभा सदस्यका लागी उम्मेद्वारी दिएको खण्डमा एमालेको जीत आफ्नो पोल्टामा पर्ने स्थानीयको भनाइ छ । बलरामको बिकल्पमा बिश्राम थारु अथवा बिष्णु पन्थीलाई प्रतिनिधी सभा सदस्यका लागी उम्मेद्वारी खडा गरेको खण्डमा जीत सुनिश्चित रहेको मतदाताको ठम्याई छ ।  यद्यपि, वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनले बलरामको निर्वाचन क्षेत्रमा एमालेको जनमत राम्रो आएको प्रति आंशिक मतदाता उत्साहित देखिन्छन् । उता कांग्रेसले क्षेत्र नम्बर १ को १ मा प्रदेश सदस्यमा डोलकराम घिमिरे, १ को २ मा सहसराम यादवलाई उम्मेदवार बनाएको छ । २०७४ सालमा यादव यही क्षेत्रबाट चुनाव जितेका थिए भने घिमिरे समाजसेवामा तल्लिन नेताका रुपमा परिचित छन् । उता एमालेले क्षेत्र नम्बर १ को १ मा नेता बिष्णु पन्थी र १ को २ मा मधुसुदन शरण चौधरीलाई उम्मेदवार बनाएको छ । पन्थी २०७४ को निर्वाचनमा जित हासिल गरेका थिए । थाहाखवर

Leave A Reply

Your email address will not be published.