आईसीसी टि–२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा श्रीलंका र नेदरल्यान्ड्सबीच जिलोङमा बिहान पौने १० बजे खेल हुँदैछ । विश्वकपको सुपर १२ मा पुग्न श्रीलंकालाई आजको खेल जित्नैपर्ने दबाब छ । नेदरल्यान्ड्स विजयी हुँदा समूह विजेताका साथ सुपर १२ मा पुग्नेछ । तालिकामा ४ अंकका साथ शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्स पराजित भएमा अन्य टोलीको नतिजामा निर्भर हुनेछ । श्रीलंका नामिबियासँग पराजित भएको थियो ।
आज हुने दोस्रो खेलमा नामिबिया र युएई खेल्दैछन् । नामिबिया र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने दुई बजे जिलोङमा सुरु हुनेछ । नामिबियाले युएईलाई हराउन सकेमा लगातार दोस्रो पटक सुपर १२ मा पुग्नेछ । युएईलाई सुपर १२ मा पुग्न ठूलो अन्तरको जित आवश्यक छ भने नेदरल्यान्ड्सले श्रीलंकालाई पनि हराउनुपर्छ ।सुपर १२ को समूह ‘ए’ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता रहनेछन् । सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता हुनेछन् ।