कपिलवस्तु । पछाडी पारिएका वा उच्च जोखिममा परेका बस्तीहरुको पहिचान विषयमा अभिमुखिकरण कार्यक्रम कपिलवस्तु जिल्ला को बुद्धभुमी नगरपालिकामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशव श्रेष्ठले स्वास्थ्यको प्रवाहमा कुनै सम्झौता (कम्प्रमाइज) नगर्ने र मापदण्ड अनुसार अघि बढ्ने बताउनुभयो । स्वास्थ्यको क्षेत्रमा पछि परेको समुदाय, जातजातिको पहिचान र विकासका लागि नगरपालिका हात्तेमालो गर्न तयार रहेको बताउनु भयो । बुद्धभुमिले स्वास्थ्य नीति निर्माण गरिरहेको बताउदै स्वास्थ सेवाबाट टाढा रहेका नागरिकको पक्षमा पालिका सदैव कटिबद्ध रहने नगरप्रमुख केशव श्रेष्ठले बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धभुमी नगरपालिकाको प्रमुख प्रशासकीय रमेश गौतमले स्वास्थ्य सेवा प्रवाहमा नीति निर्माण गरि नगरपालिका अग्रसर रहेको बताउनु भयो । नगरका सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी परिचालन गरि सेवा प्रवाह चुस्तदुरुस्त बनाएको प्रमुख प्रशासकिय अधिकृत गौतमले जानकारी दिनुभयो ।आधारभुत स्वास्थ्य परियोजना अन्तरगत फेर मेडको सहयोग र कालिका स्वालम्वन सामाजिक विकास केन्द्रको आयोजना र बुद्धभुमी नगरपालिकाको समन्वयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सहजीकरण गर्दै परियोजना अधिकृत निशान कुवाँरले बुद्धभुमीको अवस्था र कार्यक्रमको प्रभावको बारेमा सहजीकरण गर्नु भएको थियो ।
जिल्लाको गोरुसिङ्गेमा आयोजित कार्यक्रममा पहिलो चरणको कार्यक्रम सुरुवात अन्तरगत बस्ती पहिचान, मातृशिशु स्वास्थ्य सेवाको उपयोगमा कमि, उपेक्षित उष्णप्रदेशिय रोगहरुको तथ्यांकका नक्सांकन गरिएको छ । त्यस्तै स्वास्थ्य सेवाबाट बन्चित, जनचेतनाको कमि, सरसफाइको कमि, पिछडिएका जातजाति र अल्पसंख्यक समूह, सेवाको पहुच टाढा भएको, आर्थिक विपन्नता, अनुमानित घरधुरी संख्याको समेत नक्सांकन गरिएको परियोजनाको सिएचएम सुमित्रा भट्टराईले जानकारी दिनु भयो ।