कोइरालाकाे विरासत जाेगाउने संघर्षमा शेखर र सुजता

57

विराटनगर ।  कोइराला परिवारबाट मातृकाप्रसाद, बीपी र गिरिजाप्रसाद दाजुभाइले प्रधानमन्त्री भएर सरकार हाँकिसकेका छन् । त्यसपछिको पुस्ता भने पार्टी र सरकार दुवैको नेतृत्वमा पुगेको छैन । बीपीपुत्र शशांक कांग्रेसमा अघिल्लो कार्यकाल महामन्त्री थिए, उनका काका केशवका छोरा शेखर गएको महाधिवेशनमा पार्टी सभापति र गिरिजापुत्री सुजाताले उपसभापतिमा प्रतिस्पर्धा गरेका थिए तर दुवै पराजित भए । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा शशांक नवलपरासी (बर्दघाट सुस्तापूर्व) १ मा उम्मेदवार छन् । कोइराला परिवारको राजनीतिक विरासत रहेको मोरङमा भने शेखर र सुजाताले उम्मेदवारी दिएका छन् ।

 

मोरङमा २०७४ को निर्वाचनमा कोइराला परिवारबाट शेखरले मात्र उम्मेदवारी दिएका थिए । तर तत्कालीन वाम गठबन्धनबाट उम्मेदवारी दिएका एमालेका लालबाबु पण्डितसँग झिनो मतान्तरले पराजित भए । त्यो पराजयले पार्टी राजनीतिको आन्तरिक प्रतिस्पर्धामा मात्रै नभई समग्र राष्ट्रिय राजनीतिमा नै उनको भूमिका खुम्चिएको थियो । त्यसअघि पहिलोपटक दोस्रो संविधानसभा निर्वाचन (२०७०) मा भाग लिदा पनि शेखर तत्कालीन लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारसँग पराजित भएका थिए । उपचुनावमा भने उनी लोकतान्त्रि फोरमका चुमनारायण तवदारलाई पराजित गरेर संविधासनसभा सदस्य भएका थिए ।

गत वर्षको पार्टीको १४ औं महाधिवेशनपछि कांग्रेसमा भूमिका शेखरको भूमिका फराकिलो भएको छ । महाधिवेशनमा भाइ शशांक र बहिनी सुजाताले साथ नदिए पनि पार्टी सभापतिमा प्राप्त ४० प्रतिशत मतले शेखर थप बलियो बनेका हुन् । उनले अहिले संस्थापनइतर समूहको नेतृत्व गरिरहेका छन् । शेखरले प्रतिनिधिसभा निर्वाचनमा पनि विजयी भएर संसदीय राजनीतिमा पनि आफ्नो भूमिकालाई पनि बढाउन चाहेका छन् ।

शेखर मोरङ–६ र सुजाता मोरङ–२ का उम्मेदवार हुन् । ७२ वर्षीय शेखरको प्रतिस्पधा अहिले पनि ६३ वर्षीय पण्डितसँगै छ । आफ्नो क्षेत्रको चुनावी प्रचारसँगै आफ्नो समूहका नेताको प्रचारमा खटिने जिम्मेवारीमा रहेका शेखरले मोरङ–६ मा निर्वाचनको तयारी मिति घोषणा हुनुभन्दा अगाडिदेखि नै थालेका थिए । उनले आफ्नो प्रत्यक्ष उपस्थितिमा टोल समिति, पार्टीका प्रत्येक सदस्यका साथै समर्थकलाई समेत क्रियाशील बनाएका छन् । कांग्रेसको बलियो संगठन रहेका कारण पार्टीका सबै एकजुट भए शेखरलाई चुनाव जित्न मुस्किल नहुने स्थानीय कार्यकर्ता बताउँछन् ।

अघिल्लो चुनावमा पराजित भए पनि शेखर राष्ट्रिय राजनीतिमा सामेल हुँदै आफ्नो क्षेत्रमा हुने विवाह, व्रतबन्धमा शुभकामना दिन, मृत्यु भएकाको परिवारमा समवेदना दिन छुटाउने गरेका छैनन् । चुनाव आएपछि मात्रै मतदातामाझ जाने उम्मेदवारहरूविपरीत राजनीतिमा आएदेखि नै आफ्नो क्षेत्रलगायत जिल्ला–जिल्लामा पार्टीको गतिविधि सञ्चालन गर्दै आउने नेतामा शेखर पर्छन् । आफूले जहिल्यै क्षेत्रवासीको सुखदुःखमा साथ दिँदै आएकाले यसपालिको चुनावमा कुनै समस्या नहुने उनी बताउँछन् । ‘तर चुनावी दौडमा सहभागी भइसकेपछि ढुक्क भएर बस्न मिल्दैन,’ शेखरले भने । उनले स्थानीयको माग र मुद्दालाई नजिकबाट बुझेकाले पूरा गराउन पहल गर्दै आएको बताए । चुनाव आएपछि यो गर्छु वा त्यो गर्छु भन्ने झूटो आश्वासन नबाँड्ने पनि उनको भनाइ छ ।

b 4
dengu 3 1

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्ने, सडक, बाटो, खानेपानी, सुकुम्बासी समस्या, औद्योगिक ग्राम, औद्योगिक प्रदर्शनी स्थल निर्माणसँगै गरिब, मजदुर, उद्योगी व्यवसायीको समस्यालाई नै शेखरले चुनावी एजेन्डा बनाएका छन् । सुकुम्बासी समस्याको दिगो समाधानका लागि उनकै पहलमा विराटनगर १२ मा बस्ती निर्माण भइरहेको छ । अघिल्लो चुनावमा मोरङ–६ मा १ लाख १० हजार ३ सय २२ मतदातामध्ये ७९ हजार १ सय २८ जनाले मतदान गरेका थिए । सदर ७४ हजार ८ सय ७३ मतमध्ये शेखरले ३३ हजार २ सय ६६ र पण्डितले ३३ हजार ९ सय ४१ मत प्राप्त गरेका थिए । सुन्दरहरैंचा नगरपालिकाका वडा २, ३, ४, ५, ६ र ७, बुढीगंगा गाउँपालिका र विराटनगर महानगरका वडा ४, ५, ६, ७, ८, ९, ११ र १२ समेटिएको मोरङ–६ मा यसपटक १ लाख २६ हजार ७ सय ६१ मतदाता छन् ।

अघिल्लो चुनावमा माओवादीसँगको गठबन्धनमा एमालेका उम्मेदवार पण्डितसँग झिनो मतले पराजित शेखर यसपटक ढुक्क देखिन्छन् । एमालेबाट विभाजन भएको एकीकृत समाजवादी, माओवादी केन्द्र र अघिल्लो चुनावमा १ हजार १ सय १८ मत प्राप्त गरेको महन्थ ठाकुर नेतृत्वको पार्टीसँग पनि यसपटक कांग्रेसको गठबन्धन छ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको मतमा कांग्रेस अगाडि छ ।

स्थानीय चुनावमा ७ वटा वडा रहेको बुढीगंगा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ४ वटा वडाध्यक्ष कांग्रेसले जितेको छ । एमाले एउटा र माओवादी केन्द्र दुइटा वडामा विजयी भएका थिए । सुन्दरहरैंचाका ६ वटा वडामध्ये ३ वटा कांग्रेस, २ वटा एमाले र एउटा स्वतन्त्रले तथा विराटनगरका ७ वटा वडामध्ये ४ वटा कांग्रेस, २ वटा एमाले र एउटा जनता समाजवादी पार्टीले जितेका छन् । कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूले २८ हजार ४ सय २८, एमालेकाले २५ हजार २ सय ३६, माओवादी केन्द्रकाले ५ हजार ३ सय ५६, जनता समाजवादी पार्टीकाले ३ हजार ७ सय ३५, एकीकृत समाजवादीकाले २ हजार ३ सय ५० र लोकतान्त्रिक समाजवादी पार्टीकाले १ हजार १ सय ९ मत पाएका थिए । सत्तारूढ गठबन्धनका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र लोसपाका वडाध्यक्ष उम्मेदवारहरूले पाएको कुल ३७ हजार २ सय ४३ हुन्छ । विपक्षी गठबन्धन एमाले र जसपाका वडाध्यक्षको कुल मत २८ हजार ९ सय ७१ मत छ । यहा कांग्रेस वडाध्यक्षहरूले पाएको मत संरक्षण गर्ने र एमाले बढाउने दाउमा छन् ।

अघिल्लो चुनावमा झिनो मतान्तरले विजय भएर मन्त्री भएका पण्डितसग शेखरको यो दोस्रो चुनावी प्रतिस्पर्धा हो । पण्डित एमालेको संगठनात्मक मतका साथै मधेसी समुदायको सहानुभूति मतले जित्ने रणनीतिमा छन् । एमालेले यहाँ मधेसकेन्द्रित जसपासँगै तालमेल गरेको छ । यो मधेसी र थारू बाहूल्य क्षेत्र हो । आफूले सुरु गरेको विकासे योजनालाई पुनः निर्वाचित भएर पूरा गर्ने एजेन्डा लिएर मतदातामाझ चुनावी प्रचारमा होमिएको र सफल हुने पण्डित बताउँछन् ।

पहिले सुनसरीबाट चुनावी प्रतिस्पर्धा गरेकी ६८ वर्षीया सुजाताले यसपटक मिनेन्द्र रिजाललाई पाखा लगाएर मोरङ–२ मा उम्मेदवारी दिएकी हुन् । उनको मुख्य प्रतिस्पर्धा एमाले जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलसँग हुने देखिएको छ । उक्त क्षेत्रमा गिरिजाप्रसाद कोइराला निर्वाचित हुँदै आएकाले बुबाको सपना साकार गर्न उम्मेदवारी दिएको सुजाताको भनाइ छ । सुजाता पहिलो संविधानसभा निर्वाचनमा सुनसरी–५ मा उठेकी थिइन् । दोस्रो संविधानसभा निर्वाचनमा क्यान्सर रोगबाट पीडित भएपछि उनी प्रतिस्पर्धा छाडेर समानुपातिकबाट चुनिइन् र पछि उपप्रधानमन्त्रीसमेत भइन् । उनी २०७४ को चुनावमा पनि समानुपातिकबाटै प्रतिनिधिसभा सदस्य भइन् ।

पार्टीको बलियो संगठनका कारण कांग्रेस नेताहरूको पहिलो रोजाइमा मोरङ २ पर्दै आएको हो । उनीसँगै चुनावी दौडमा रहेका पोखरेल दोस्रो संविधानसभा निर्वाचनमा मोरङ–२ बाट निर्वाचित भएका थिए । पोखरेल स्थानीयको सुखदुःखमा साथ दिने नेताका रूपमा चिनिन्छन् । उनी २०७४ को चुनावमा कांग्रेसका रिजालसँग २ हजार ८ सय ७ मतान्तरले पराजित भएका थिए । यस क्षेत्रमा तेस्रो पटक उम्मेदवार बनेका पोखरेलको कांग्रेसका फरकफरक उम्मेदवारसँग प्रतिस्पर्धा भएको छ । दोस्रो संविधानसभा निर्वाचनमा उनले कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई पराजित गरेका थिए । सुजाता काठमाडौंमा बस्ने भएकाले मतदाताले स्थानीय उम्मेदवार पोखरेललाई रोज्ने एमाले कार्यकर्ताको दाबी छ । अघिल्लो चुनावमा पनि रिजालविरुद्ध पोखरेलले यस्तै चुनावी नारा दिए पनि जित निकाल्न सफल भएनन् । त्यति बेला एमालेलाई माओवादीको समेत साथ थियो । यसपटक कांग्रेसको साथमा एमालेबाट विभाजन भएको एकीकृत समाजवादीका साथै, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टीको साथ छ । जसपाले भने पोखरेललाई साथ दिएको छ । तर अघिल्लो चुनावमा २ हजार ५ सय ९५ मत प्राप्त गरेका जसपाका नेता युवराज कार्कीले पार्टी परित्याग गरिसकेका छन् ।

१ लाख २४ हजार ७ सय २९ मतदाता रहेको मोरङ २ मा सुनवर्षी र रतुवामाई नगरपालिका, रंगेली नगरपालिकाका वडा १, २, ३, ८ र ९, पथरीशनिश्चरे नगरपालिकाका वडा ५ र ६ र कानेपोखरी गाउँपालिकाका वडा १, २ र ३ छन् । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको मतका आधारमा थोरै मतले पनि कांग्रेस गठबन्धन नै अगाडि देखिन्छ । स्थानीय तहको चुनावमा एमालेका वडाध्यक्ष उम्मेदवारलाई ३१ हजार ३ सय ३७, कांग्रेसकालाई २८ हजार ६ सय १७, माओवादी केन्द्रकालाई ७ हजार ३ सय १, जनता समाजवादी पार्टीकालाई ४ हजार ५ सय १०, लोकतान्त्रिक समाजवादी पार्टीकालाई ४ सय ९० र एकीकृत समाजवादीकालाई १ सय ८० मत परेको थियो । वडाध्यक्ष उम्मेदवारको मतका आधारमा कांग्रेस गठबन्धन दलको ३६ हजार ५ सय ८८ र एमाले गठबन्धन दलको ३५ हजार ८ सय ४७ मत हुन्छ । एमालेले १६, कांग्रेसले ११ र माओवादीले २ वटा वडाध्यक्ष जितेका छन् । स्थानीय तहको चुनावी नजिता उत्साहजनक नरहेको अवस्थामा सुजाताले गिरिजाप्रसादको साख जोगाउने हुन् कि होइनन् भन्नेमा चासो बढेको छ । स्राेतः कान्तिपुर

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.