काठमाडौं । उद्योगी, व्यवसायी तथा नेपाली कांग्रेसका नेता विनोद चौधरीले आफूले पैसाको लागि राजनीति नगरेको प्रष्ट पारेका छन् । दिगो आर्थिक विकास राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै देशमा बढ्दै गइरहेको आर्थिक समस्यालाई न्यूनीकरण गर्न राजनीतिमा आएको बताएका हुन् ।उनले भने, ‘म संसद्मा दुई पटक बसिसके छ । अहिले नातिनातिना खेलाएर बस्नुपर्ने बेलामा हो । तर, अहिले म प्रत्यक्ष चुनाव लड्दै छु । तर, म देशमा देखिएको भद्रगोल अवस्थाको समाधान गर्नको लागि चुनावी मैदानमा जाँदै छु ।’
आफ्नो क्षेत्रका जनताको समस्या आफूले नजिकबाट देखे भएकाले त्यो समस्या समाधान गर्ने बताए ।उनले भने, ‘मेरो क्षेत्र नवलपरासी पूर्व थियो तर पार्टीले पश्चिम पठाइदिएको छ । त्यहाँ सुस्ताको डुबानको समस्या छ । पानीको सट्टा बालुवा आउँछ। केरा र उखुको राम्रो उत्पादन छ । तर, किसान सधैँ समस्या छन् । आफ्नो पसिनाको मूल्य पाउन सकेका छैनन् । त्यो समस्या समाधान गर्न सक्छु भन्ने विश्वास छ ।’
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित भइसकेको व्यक्ति भएकाले आफू पैसाका लागि राजनीतिमा नआएको प्रष्ट पारे । उनले विश्वभरका हजारौँलाई रोजगारीको अवसर दिएको समेत बताए । उनले गोरखपुरबाट त्रिभुवन विमानस्थल हुँदै रोजीरोटीका लागि बाहिरिने युवालाई रोजगारीको अवसर प्राप्त गराउन सक्ने दाबी समेत गरे ।