नोट छपाइ तथा ढुवानीमा एक अर्ब ६७ करोड रुपियाँ खर्च

31
biddhut

काठमाण्डाैँ ।  इतिहासको कुनै कालखण्डमा नेपालले सिक्का उत्पादन गरेर तिब्बतमा पठाइने गरिन्थ्यो। त्यसबाट नेपाललाई सिक्का टङ्कणबापत मोटो रकम आर्जन हुन्थ्यो। तर, अहिले परिस्थिति बदलिएको छ। सिक्का टङ्कणको प्रविधिलाई समयानुकूल परिमार्जन गर्न नसक्दा सिक्का टङ्कण सहज छैन। सस्तो पनि छैन। साथै कागजी नोट छपाइ स्वदेशमा हुँदैन। छपाइका लागि विदेशमा नै निर्भर हुनुपर्ने अवस्था विद्यमान छ। कागजी नोट छपाइका निम्ति बर्सेनि अर्बौं रुपियाँ खर्चिनुपर्ने बध्यता नेपालको रहेको छ।

भर्खरै बडादशैँ नेपालीको घरआँगनबाट बिदा भएको छ। नेपालीलाई विशेष गरेर बडादशैँमा दक्षिणालगायतमा खर्च गर्न नयाँ नोटको आवश्यकता हुने गर्छ। अरू बेला खासै नेपालीमाझ नदेखिने नयाँ तथा पुरानो नोटको मोह दशैँमा नै देखिन्छ। बैङ्क तथा वित्तीय संस्थाहरूमा नयाँ नोटका लागि देखिने लामो लामबाट समेत यो तथ्य प्रमाणित हुन्छ। नेपाल राष्ट्र बैङ्कले दशैँलक्षित गरेर नयाँ नोट बजारमा सटही गराउने गर्छ। दशैँमा सटही गरिने नयाँ नोट छपाइका लागि सरकारले बर्सेनि अर्बौं रुपियाँ खर्च गर्दछ र यो रकम बर्सेनि बढ्ने दिशामा छ।

dengu 3 1

नयाँ नोट निष्कासनको आधिकारिक जिम्मा पाएको निकाय नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा औसत वार्षिक एक अर्ब ३३ करोडभन्दा बढी रकम विदेशिएको छ। नेपालमा आधुनिक सुरक्षण मुद्रण अभावका कारण यो रकमको सबै अंश विदेशिने गरेको हो। साथै नोट छपाइपश्चात् नेपालसम्म ढुवानी तथा यसको बीमाबापत पनि केन्द्रीय बैङ्कले गर्ने खर्च बढ्दो छ। यसमा आवश्यक विकल्प प्रयोग हुन सकेको छैन। नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७÷७८ मा नोट छपाइ तथा ढुवानीमा नेपालले एक अर्ब ६७ करोड रुपियाँ गरेको थियो। गत आर्थिक वर्ष २०७८÷७९ मा यो खर्च ४५ प्रतिशतले बढेर दुई अर्ब ४३ करोड रुपियाँभन्दा बढी पुगेको छ। नेपाली अर्थतन्त्र बर्सेनि विस्तार हुँदै गएको छ। विदेशमा नोट छपाइ खर्चसमेत बढ्दै छ। सुरक्षण छपाइमा हुने बर्सेनि मूल्य वृद्धिका कारण प्रत्येक वर्ष नोट छपाइको लागत बढ्दो छ। प्रत्येक वर्ष यो आँकडामा वृद्धि हुनु हाम्रो काबुबाहिरकै स्थितिजस्तो हो।

बर्सेनि नोट छपाइमा मात्र अर्बौं रुपियाँ खर्च हुने विद्यमान स्थितिबाट पार पाउने केही उपायहरू सम्बद्ध पक्षहरूले गर्नुपर्ने आवश्यकता देखिन्छ। यसका निम्ति विद्युतीय मुद्रा (डिजिटल करेन्सी)का साथै विद्युतीय भुक्तानी प्रणाली (अनलाइन पेमेन्ट सिस्टम)लाई प्रोत्साहन र प्रश्रय दिन सके नोटको छपाइको ठूलो अंशमा बचत हुने सम्भावना छ। यसबाट आगामी पाँच वर्षमा क्रमिक रूपले नोट छपाइको लागतमा ५० प्रतिशतले कमी ल्याउन सकिने राष्ट्र बैङ्कको आँकडालाई यहाँ मनन योग्य छ। यसका निम्ति डिजिटल करेन्सी तथा अनलाइन पेमेन्ट सम्बन्धमा सर्वसाधारण जनचेतना तथा जागरुकता अभिवृद्धि गर्ने कार्य गरिनु महत्वपूर्ण देखिन्छ। बैङ्क तथा वित्तीय संस्थाहरूले अभियान नै सञ्चालन गर्नु वाञ्छनीय हुनेछ।

अझ बलियो विकल्पसमेत छ। स्वदेशमा नै सुरक्षण मुद्रण प्रेसको स्थापना गरेर नोट, हुलाक टिकटलगायत अति महत्वपूर्ण कुराहरूको छपाइ गर्न सकिए बर्सेनि बाहिरिने अर्बौं रुपियाँ बराबरको रकममा कमी आउन सक्ने विषयवस्तुमा सम्बद्ध निकायको ध्यानाकर्षण हुनु जरुरी देखिन्छ। यस विषयमा नोटको हिफाजत तथा जतन पनि महत्वपूर्ण हुन आउँछ। नेपालीहरूमा नोटको हिफाजत तथा सुरक्षित तवरले लामो समयसम्म प्रयोग गर्ने सोचमा त्यति ध्यान पुगेको पाइँदैन। यसतर्फ आमनागरिकमा जनचेतना जागृत गरिँदा नोट छपाइमा गरिने वार्षिक लागतमा पक्कै पनि कमी आउने निश्चित छ। नेपालजस्तो मुलुकका निम्ति नोट छपाइमा अर्बौं रुपियाँ लगानी गर्नुपर्ने स्थिति निश्चित रूपमा सुखद होइन। यसरी बाहिरिने रकमबाट मुलुकमा विभिन्न विकास निर्माणका कार्य सम्पन्न गर्न सकिने अवस्थालाई सबैले ध्यानमा लिनु पर्दछ। स्वदेशमै सुरक्षण प्रेस, डिजिटल करेन्सी, अनलाइन पेमेन्ट, नोटको हिफाजत तथा सुरक्षा आदि विषयलाई प्राथमिकता दिन सकिएमा नेपालले बर्सेनि गर्ने नयाँ नोट छपाइको लागतमा निकै कमी आउनेमा कुनै सन्देह छैन।    गाेरखापत्रबाट साभार गरिएकाे

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.