काठमाण्डाैँ । नेकपा (एमाले)का नेता भीम रावलले पार्टीभित्रको पछिल्लो गतिविधि र त्यसमा आफ्नो पोजिसनबारे आधिकारिक धारणा बिहीबार सार्वजनिक गर्ने भएका छन्। पार्टीको टिकट वितरण प्रणालीबारे असन्तुष्टि व्यक्त गर्दै आएका रावलले बिहीबार पत्रकार सम्मेलनमार्फत् आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएका हुन्। उनले भोलि दिउँसो १ बजे काठमाडौंको कार्की बैंक्वटमा पत्रकार सम्मेलन आयोजना गरेका छन्।’आगामी बाटो अरू विषयबारे भोलि धारणा सार्वजनिक गर्ने कार्यक्रम छ,’ रावलले भने।
अछाम-१ बाट सर्वसम्मत सिफारिस भए पनि त्यहाँ रावललाट टिकट नदिएर माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोरालाई एमालेले टिकट दिएको छ।आफूले टिकट नपाएको विषयलाई समेत स्वभाविक रहेको कुप्रचार भएको भन्दै रावलले सामाजिक सञ्जालमार्फत् विरोध जनाएका थिए। यस्तै उनले पार्टीभित्र अध्यक्ष ओलीले संदिग्ध व्यक्तिलाई प्रश्रय दिएको विषयमा पनि प्रस्ट पार्नुपर्ने मागसहित ट्विट गरेका थिए।सर्वसम्मत रूपमा सिफारिस रावलले टिकट नपाएपछि क्षेत्रीय संयोजक सहित ३७ जनाले सामुहिक राजीनामा दिएका थिए। आफूले टिकट नपाएको र पार्टीभित्रको टिकट वितरण प्रणालीबारे उचित समयमा बोल्ने बताउँदै आएका रावलले आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन्।