चिकित्सा क्षेत्र सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीले काठमाडौं जान अस्वीकार गरेका छन्। नौ दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि सरकारले उनलाई काठमाडौं लैजान खोजेको छ। उनलाई लैजानका लागि नेपाली सेनाको स्काई ट्रक धनगढी आइपुगेको छ। डा. केसीले भने माग पूरा नभएसम्म अनशन नतोड्ने र काठमाडौं पनि नजाने अडान लिएका छन्। स्वास्थ्य अवस्था नाजुक बनेकाले जुनसुकै वेला जे समस्या पनि देखिने भन्दै आफूहरूले विशिष्टिकृत अस्पताल जान गरेको आग्रह केसीले अस्वीकार गरेको उपचारमा संलग्न सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले बताए।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले केसीको स्वास्थ्यका लागि पनि सुविधा सम्पन्न अस्पताल लैजानुपर्ने चिकित्सकको राय संघलाई जाहेर गरेपछि उनलाई काठमाडौं लैजानका लागि सेनाको जहाज आइपुगेको बताए। ‘उहाँले जान अस्वीकार गरेको कुरा आएको छ। हामीले कुनै माध्यममार्फत अहिले पनि कुरा गरिरहेका छौँ,’ प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘चिकित्सकको भनाइअनुसार उहाँको स्वास्थ्यका लागि पनि काठमाडौं लैजानुपर्ने देखिन्छ।’ सेती प्रादेशिक अस्पतालको चिकित्सकको टोलीलगायतले केसीलाई काठमाडौं जान मनाइरहेको छ। काठमाडौं जान अस्वीकार गरे केसीलाई उनकै स्वास्थ्यका लागि पनि जबर्जस्ती लैजाने तयारी रहेको बताइएको छ।