काठमाडाैँ । इन्टरपोलले ‘रेड’, ‘ब्लु’, ‘ग्रीन’, ‘ब्ल्याक’, ‘एल्लो’, ‘ओरेन्ज’, ‘पर्पल’ र ‘इन्टरपोल स्पेशल नोटिस’ गरी ८ किसिमको नोटिस जारी गर्ने गर्छ ।यस्ता नोटिस तथा डिफ्युजन जारी गर्न इन्टरपोलका सदस्य राष्ट्रले फ्रान्सस्थित इन्टरपोलको प्रधान कार्यालयमा अनुरोध गर्नुपर्छ । त्यसपछि सचिवालयले त्यसमाथि निर्णय गरेर नोटिस जारी गर्छ । इन्टपोलमार्फत जारी भएको नोटिसको सबै सदस्य राष्ट्रसँग सूचना आदान–प्रदान हुन्छ । सबै सदस्य राष्ट्रका नेशनल सेन्ट्रल व्यूरो (एनसीबी) ले त्यस प्रणालीमार्फत नोटिसका लागि प्रधान कार्यालयलाई अनुरोध गर्छन् ।
प्रहरी प्रधान कार्यालय नक्सालका एक उच्च अधिकृतका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको आग्रहमा इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले रेड नोटिस जारी गराउने प्रक्रिया अघि बढाएको हो ।प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एनसीबी काठमाडौंले केही दिनमै इन्टरपोलको फ्रान्सस्थित हेडक्वार्टरलाई पत्राचार गर्नेछ । ‘यहाँबाट पठाएको पत्रको आधारमा नोटिसबारे इन्टरपोल सचिवालयबाट अन्तिम निर्णय हुनेछ,’ ती अधिकृतले भने ।
नेपाल प्रहरी ११ असोज २०२४ देखि इन्टरपोलको सदस्य छ । पछिल्लो एक वर्षमा मात्रै एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोलले ८ वटा रेड र २ वटा एल्लो नोटिस जारी गरिसकेको छ ।‘ग्लोबल भिलेजको कारणले संसार नै साँघुरो भएको छ,’ नेपाल प्रहरीका सहप्रवक्ता दानबहादुर कार्की भन्छन्, ‘कुनै एक अपराधीले एउटा क्षेत्रमा अपराध गरेर अन्यत्र भाग्ने कारण थपिएको समस्याको समाधानको लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता पर्छ ।’ अदालतमा मुद्दा दायर भइ वारेन्ट जारी भएका फरार अभियुक्तहरुको खोजी कार्यका लागि रेड नोटिस जारी गरिन्छ । विगतमा मुद्दा अदालतमा पुग्नुअघि डिफ्यूजन नोटिस जारी गरिन्थ्यो । अहिले पक्राउ पूर्जी नै अदालतबाट जारी हुने भएकाले प्रहरीले रेड नोटिस नै जारी गर्न पत्राचार गरेको हो ।
इन्टरपोलको वेवसाइटमा उल्लेख भएअनुसार अनुसार रेड नोटिस यस्ता फरार प्रतिवादीका लागि जारी हुन्छ, जो अभियोजन अगावै भागेका हुन्छन् वा सजाय तोकिएर पनि समातिएका हुँदैनन् । त्यस्ता व्यक्तिलाई सम्बन्धित राष्ट्रका सुरक्षा निकायले सुरुमा लोकेट गर्छन्, त्यसपछि पक्राउ गरेर डिपोर्ट गर्ने प्रक्रिया अघि बढाउँछन् । विगतमा चर्चित सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेती, सुन तस्करीमा संलग्न रहेको अभियोग लागेका बेनु श्रेष्ठ, मोहनकुमार अग्रवाल, चेतनाथ भण्डारी, हरिशरण खड्का लगायतविरुद्ध पनि रेड नोटिस जारी भएको थियो ।