म्यादी प्रहरीका लागि पाँच दिनमा १ लाख २० हजार बढीको आवेदन

59

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरीका लागि सोमबार साँझसम्म एक लाख २० हजारभन्दा धेरैको आवेदन परेको छ । नेपाल प्रहरीले एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न गत ३० भदौबाट आवेदन खुला गरेको थियो । इच्छुकले ६ असोजसम्म आवेदन दिन सक्नेछन् । आवेदन मुलुकको ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत खुला गरिएको थियो । मुलुकभरबाट सोमबार साँझसम्म एक लाख २० हजार दुई सय ९९ जनाको आवेदन परेको नेपाल प्रहरीका केन्द्रीय निमित्त प्रवक्ता एसएसपी दानबहादुर कार्कीले बताए ।

उनले भने, ‘४ मंसिर हुने निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी आवश्यक भएको तय भयो । त्यसलगत्तै भर्नाका लागि आवेदन खुला गरियो । पाँच दिनको अवधिमा मुलुकभरबाट एक लाख २० हजार इच्छुकले निवेदन हालेका छन् । आवेदन पेस गर्ने अन्मित मिति ६ असोजसम्म छ ।’प्रहरीका अनुसार सबैभन्दा धेरै आवेदन मधेस प्रदेशबाट परेका छन् । मधेस प्रदेशमा सोमबार साँझसम्म ४२ हजार तीन सय २८ जनाको आवेदन परेको छ । जसमध्ये महिलाको संख्या आठ हजार पाँच सय ८८ रहेको छ भने पुरुष ३३ हजार सात सय ४० छन् ।

 

लुम्बिनी प्रदेशमा म्यादी प्रहरीका लागि १९ हजार तीन सय ७३ ले आवेदन दिएका छन् । जसमध्ये महिला पाँच हजार एक सय ६३ रहेका छन् भने पुरुष १९ हजार तीन सय ७३ रहेका छन् । त्यस्तै, प्रदेश १ मा १९ हजार ७३ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । जसमध्ये महिला पाँच हजार नौ सय ३० छन् । पुरुष १३ हजार एक सय ४३ रहेका छन् । बागमती प्रदेशमा ११ हजार आठ सय ६७ ले म्यादी प्रहरीका लागि निवेदन हालेका छन् । जसमा महिला तीन हजार नौ सय ६१ रहेका छन् भने पुरुष आठ हजार नौ सय ६ रहेका छन् । त्यस्तै, म्यादी प्रहरीमा भर्नाका लागि सुदूरपश्चिम प्रदेशमा नौ हजार सात सय ३५ ले निवेदन हालेका छन् । जसमा महिला तीन हजार दुई सय ३८ र पुरुष ६ हजार चार सय ३७ रहेका छन् ।

गण्डकी प्रदेशमा आठ हजार चार सय ५१ वटा निवेदन परेकामध्ये महिला दुई हजार पाँच सय ३७ र पुरुष पाँच हजार नौ सय १४ छन् ।
कर्णाली प्रदेशमा पाँच हजार ३७ जनाले म्यादी प्रहरी बन्न निवेदन पेस गरेका छन् । जसमध्ये महिलाको संख्या एक हजार ६ सय ४६ रहेको छ भने पुरुष तीन हजार तीन सय ८९ रहेका छन् । त्यस्तै, काठमाडौंमा उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सबै गरी चार हजार चार सय ३७ को आवेदन परेको छ । जसमा महिला एक हजार चार सय ५० र पुरुष दुई हजार नौ सय ८७ रहेका छन् । नेपाल प्रहरीका केन्द्रीय निमित्त प्रवक्ता एसएसपी कार्कीका अनुसार सोमबार साँझसम्म सबै गरी म्यादी प्रहरीका लागि निवेदन दिने महिला ३२ हजार पाँच सय ७३ र पुरुष ८७ हजार सात सय २६ गरी कुल एक लाख २० हजार दुई सय ९९ रहेको बताए ।

६ असोजसम्म आवेदन, आवेदन सकिएलगत्तै छनोट 
नेपाल प्रहरीका अनुसार म्यादी प्रहरी भर्नाका लागि आवेदन दिने अन्तिम मिति ६ असोजको साँझसम्म हो । उक्त अवधिभित्र परेका सबै आवेदनलाई मातहतका ७७ वटै जिल्ला प्रहरी कार्यालयले एकमुष्ट गर्नेछ । र, आवेदनलाई पूर्वसुरक्षाकर्मी, पूर्वम्यादी प्रहरी र नयाँ गरी तीन तहमा विभाजन गर्नेछ । छनोटका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय प्रमुखको संयोजकत्वमा समिति बन्नेछ । समितिमा सम्बन्धित जिल्लाका प्रहरी प्रमुख, जिल्लास्थित सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारी सदस्य रहनेछन् । उनीहरूले नै म्यादी प्रहरीको छनोट गर्नेछन् । जसमा पूर्वसुरक्षाकर्मी र पूर्वम्यादी प्रहरीलाई प्राथमिकतामा राखिनेछन् ।

प्रहरीका केन्द्रीय निमित्त प्रवक्ता एसएसपी कार्कीका अनुसार ०७४ को निर्वाचन र गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरीको हकमा अन्तर्वार्ताकै आधारमा छनोट हुनेछन् । तालिमको प्रक्रिया पनि केही लचिलो हुन सक्नेछ । तर, यसका लागि आचरण भने ठीक भएको हुनैपर्नेछ । एसएसपी कार्कीले भने, ‘म्यादी प्रहरी छनोट सिडिओको संयोजकत्वमा बनेको समितिले गर्नेछ । जसमा सबै सुरक्षा निकायका अधिकारी सहभागी हुनेछन् । छनोट गर्दा पूर्वसुरक्षाकर्मी र पूर्वम्यादी प्रहरी प्राथमिकतामा राखिनेछन् । तर, आचरणगत त्रुटि भएकाहरूको हकमा भने यो नियम लागू हुनेछैन ।’

छनोटमा परेकाहरूको लगत्तै तालिम हुनेछ । तालिम सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाटै हुनेछ । महिनादिनको तालिमपछि उनीहरूलाई निर्वाचन सुरक्षामा खटाइनेछ । सबै गरी ४० दिन उनीहरू नेपाल प्रहरीको मातहत रहनेछन् । यस अवधिका लागि आवश्यक सेवा–सुविधा सरकारले व्यहोर्नेछ । निर्वाचन अवधिभर म्यादी प्रहरीले मतदान केन्द्र स्थापना, मतदाताको लाइन मिलाउने, मतदान केन्द्रमा अनधिकृत व्यक्तिको प्रवेशलाई रोक्नेलगायतका काम गर्नेछन् ।  हालसम्म निर्वाचन प्रयोजनका लागि नेपाल प्रहरीबाट ७१ हजार ६ सय नौ, नेपाली सेनाबाट ७४ हजार, सशस्त्र प्रहरीबाट ३५ हजार र राष्ट्रिय अनुसन्धान विभागबाट १५ सय सुरक्षाकर्मी खटाउने सरकारको तयारी छ ।

Leave A Reply

Your email address will not be published.