प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा मधेसमा दल बदलको लहर चलेको छ । समानुपातिक सांसदको सूचीमा पर्न र निर्वाचनमा टिकट पाउन नेताहरू धमाधम पार्टी परिवर्तन गर्न थालेका छन् । मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका समानुपातिक सांसदहरू धमाधम पार्टी बदल्दै छन् । जसपाबाट प्रतिनिधिसभामा समानुपातिक सांसद रहेकाहरूले पनि पार्टी छाडेका छन् । एक सातामा जसपाका तीन जना प्रतिनिधिसभा सदस्य र दुई जना प्रदेशसभा सदस्यले पार्टी छाडेका छन् । जसपा नेपालकी नेतृ अमृता अग्रहरी एमालेमा प्रवेश गरेकी छन् ।
आइतबार बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित कार्यक्रममा अग्रहरी एमालेमा प्रवेश गरेकी हुन् । अग्रहरीलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गरे । यसअघि जसपा सांसद रेणुका गुरुङ राप्रपामा प्रवेश गरेका थिए ।जनकपुरमा आयोजित पार्टी प्रवेश सभामा जसपाका प्रतिनिधिसभा सदस्य रुही नाज पनि एमाले प्रवेश गरेकी थिइन् ।दुई जना प्रदेशसभा सदस्यसमेत एमालेमा प्रवेश गरिसकेका छन् । शुक्रबार साझ जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य डा. रिना यादव एमालेमा प्रवेश गरेकी थिइन् । मधेस प्रदेश विकास संसदीय समिति सभापति डा. यादव मधेस प्रदेशमा तत्कालीन राजपाबाट समानुपातिक सांसद हुन् ।
भदौ २७ गते जनकपुरमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य अन्जु यादव एमाले प्रवेश गरेकी थिइन् । जसपाबाट एमाले प्रवेश गरेकी प्रतिनिधि र प्रदेशसभा सदस्यहरू समानुपातिक सांसदहरू हुन् । समानुपातिकमा नदोहोरिने सम्भावना देखेपछि उनीहरू पार्टी बदलेका हुन् ।मधेस प्रदेशमा कमजोर मानिएको एमाले पछिल्लो समय विभिन्न दलका सांसद र जिल्ला तहका नेताहरुलाई निर्वाचनको मुखमा पार्टी प्रवेश गराउन थालेका छन् । जनकपुरमा नेपाली कांग्रेसका जिल्ला सभापतिमा पराजय भएका सन्तोष यादवलाई एमालेमा प्रवेश गराउन पार्टी अध्यक्ष केपी शर्मा आफैँ आए ।
जनकपुरलगत्तै ओली सिरहाको चोहर्वामा लक्ष्मीपुर पतारी गाउँपालिकामा जसपाबाट निर्वाचित भएका पूर्वअध्यक्षलाई पार्टी प्रवेश गराए । जनकपुरमा सभा सम्बोधन गरेको दुई सता नबित्दै पुन: लोसपाबाट एमाले प्रवेश गर्न लागेका सांसद उमाशंकर अरगरियालाई पार्टीमा ल्याउन ओली असोज ८ गते जनकपुर आउने कार्यक्रम तय भएको छ । कार्यक्रममा जसपाबाट निर्वाचित पूर्वमेयर पनि एमालेमा प्रवेश गर्ने तयारी गरिएको छ । कान्तिपुर