आज महिला साफ च्याम्पियनसिप फाइनल : नेपाललाई उपाधि भित्र्याउने अवसर

77

दशरथ रंगशालामा सोमबार दक्षिण एसियाली महिला च्याम्पियनसिप (साफ)ले नयाँ विजेता पाउनेछ । उपाधि भिडन्तमा घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । साबिक पाँचपटकको विजेता भारत सेमिफाइलनबाट बाहिरिएसँगै साफ च्याम्पियनसिपले नयाँ विजेता पाउने टुंगो लागेको हो । यसअघि नेपालले चार तथा बंगलादेशले एकपटक फाइनल खेलेको थियो । नेपाल र बंगलादेश सबै फाइनलमा भारतसँगै पराजित भएका थिए ।

नेपाल र बंगलादेशमध्ये एक टोली च्याम्पियन हुँदा इतिहास रच्ने पक्का छ । नेपाल घरेलु दर्शकमाझ ट्रफी उचाल्ने दाउमा छ । बंगलादेश घरेलु दर्शकलाई स्तब्ध बनाउन चाहन्छ । छैटौँ साफ प्रतियोगितामा दुवै टोली अपराजित छन् । फाइनल नजितासँगै एक टोलीको अपराजित यात्रामा पूर्णविराम लाग्नेछ ।

फाइनल यात्रा 
समूह ‘बी’को प्रतिस्पर्धामा नेपालले पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गर्‍यो । दोस्रो खेलमा श्रीलंकालाई ६–० ले स्तब्ध बनायो । समूह विजेताका रूपमा सेमिफाइनल पुगेको नेपालले साफ च्याम्पियनसिपकै सर्वाधिक सफल टोली भारतविरुद्ध १–० को सनसनी जित निकाल्दै पाँचौँपटक उपाधिनजिक आफूलाई उभ्यायो । समूह ‘ए’को खेलमा बंगलादेशले माल्दिभ्स र भारतलाई समान ३–० ले पराजित गर्‍यो । आठ वर्षपछि अन्तर्राष्ट्रिय मैदानमा फर्किएको पाकिस्तानविरुद्ध आधा दर्जन गोल गर्‍यो ।

समूह ‘ए’को विजेता बन्ने क्रममा बंगलादेशले समेत भारतविरुद्ध ऐतिहासिक जित निकाल्यो । लगातार दोस्रो खेलमा पराजित भएको भारतको साफ च्याम्पियनसिपको इतिहासमै यस संस्करण बिर्सनलायक रह्यो । बंगलादेशले सेमिफाइनलमा पहिलोपटक स्थान बनाएको भुटानमाथि ८–० को जित निकाल्यो ।

Leave A Reply

Your email address will not be published.