मेट्रो एफएमकाे वार्षिकोत्सवमा ‘मह’जाेडी सम्मानित

91

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख वालेन्द्र साहले परिवर्तित परिवेशअनुसार अत्याधुनिक प्रविधिको प्रयोग गरेर महानगरले गरेका कामलाई श्राेतामा पुर्‍याउने दायित्वलाई सञ्चारले पूरा गर्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौं महानगरले सञ्चालन गरेको मेट्रो एफएम ९४ बिन्दु ६ मेगाहर्जको २३ औं वार्षिकोत्सवको अवसरमा नगरप्रमुख साहले जनतासमक्ष पुर्‍याउनु पर्ने सूचनाहरु रेडियोका माध्यमबाट सूचनामूलक, जानकारीमूलक र समाचारमूलक कार्यक्रममार्फत प्रवाह गरिरहेको बताउनुभएको हो ।

प्रमुख साहले भन्नुभयो, ‘‘रेडियोबाट प्रवाह हुने सूचना र समाचार सूचनाको हकसँग सम्बन्धित र उत्तरदायी एवम् पारदर्शी सरकारको अभ्याससँग सम्बन्धित विषय हुन् । यसलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्छ ।’’ यसैगरी, प्रमुख साहले वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मान गर्नुभएको छ । दिवसको अवसरमा पारेर आयोजना गरिएको ‘कार्यशाला गोष्ठी तथा सम्मान’ कार्यक्रममा प्रमुख साहले कलाकारद्वय श्रेष्ठ र आचार्यलाई नगद ५१ हजार रुपियाँसहित कदर पत्र प्रदान गर्नुभएको थियो । सम्मानित कलाकारहरुलाई उपप्रमुख सुनीता डङ्गोलले दोसल्ला ओढाउनुभएको थियो ।

मेट्रो एफएम ९४ बिन्दु ६ मेगाहर्जको २३ औं वार्षिकोत्सवकोरेडियो उपयोगिताको सन्दर्भसँगै स्रष्टा सम्मानको प्रसङ्ग उठाउनुहुँदै प्रमुख साहले, कलारिताका माध्यमबाट नागरिकको चेतना अभिवृद्धि तथा परिवर्तनमा योगदान पुर्‍याउनु हुने नागरिकहरुले रुचाउनुभएका कलाकार श्रेष्ठ र आचार्यलाई सम्मान गर्न पाएकोमा आफूलाई गर्व महसुस भएको उल्लेख गर्नुभयो । कार्यक्रममा उपप्रमुख सुनीता डङ्गोलले महानगरका विषयमा समाचारहरु प्रकाशन प्रसारण भइरको बताउनुभएको छ । ‘‘महानगरका विषयमा समाचारहरु प्रकाशन प्रसारण भइरहेको हुन्छन् । एउटै विषयका फरक कोणहरुको वास्तविकता के हो ? थाहा पाउन महानगरले सञ्चालन गरेका अनलाइन, रेडियो र टेलिभिजन कार्यक्रम दोहोरो जाँच गर्न सकिने खालको हुनुपर्छ ।,’’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘‘सिर्जनात्मक प्रस्तुतिले रेडियोको उचाइ बढाउँछ । निरन्तर २३ वर्षसम्मको सेवाको छुट्टै महत्त्व र इतिहास छ । यसलाई विस्तार गर्दै लैजानुपर्छ ।’’

रेडियो सञ्चालनको २३ वर्षे अवधिका सिकाइ र परिवर्तित प्रविधिको प्रयोगबाट सेवालाई उत्कृष्ट र परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिनुहुँदै कार्यक्रममा महानगरका प्रवक्ता एवम् सूचना प्रविधि समितिका संयोजक नविन मानन्धरले, सूचना सञ्चार र सूचना प्रविधिमैत्री पूर्वाधारका लागि नीति, योजना तथा बजेट व्यवस्था गरिएको उल्लेख गर्नुभयो । यसैगरी, रेडियोको प्राविधिक क्षमता विकास गर्दै लगेको बताउँदै कार्यक्रममा सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालले विषयको परिवर्तित रुपरेखा र ढाँचाको प्रयोग गरेर सेवालाई प्रभावकारी बनाउँदै लगिएको बताउनुभयो । त्यस क्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले नीति, योजना र कार्यक्रमका साथमा सञ्चार सँगसँगै भएकाले उत्तरदायी सरकारको अनुभूति भएको उल्लेख गर्नुहुँदै सञ्चारलाई प्रभावकारी बनाउन जनशक्तिको पेशागत सुरक्षा, स्थायित्व र वृत्ति विकासका महानगरको ध्यान जानुपर्ने बताउनुभयो ।

सम्मानपछि आफ्नो धारणा राख्नुहुँदै कलाकार श्रेष्ठले महानगरको प्रमुखमा साहले पद वहालीपछि भएका कामबाट आफूलाई विधिको शासन स्थापित हुनेमा आशा बढेको धारणा राख्नुभयो । ‘‘उहाँहरुको नयाँ जोश, उमङ्गबाट विगतमा व्यक्तिले प्रयोग गरेको शासन अब विधिमा रुपान्तरण हुने सङ्केत देखिएको छ ।’’ कलाकार श्रेष्ठले भन्नुभयो, ‘‘उहाँहरु सफल हुनुहुनेछ भन्ने विश्वाश लागेको छ । उहाँहरुलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्छ ।’’ सार्वजनिक हितका काममा दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा कलाकारद्वयको जोड थियो ।

‘‘सम्मानका धेरै प्रस्ताव हामीले स्वीकार गरेनौँ । अहिले काठमाडौं महानगरका प्रमुख र उपप्रमुखको काम हेर्दा उहाँहरुका हातबाट सम्मान लिन हुन्छ भन्ने महसुस भयो ।’’ सम्मानपछि बोल्दै कलाकार हरिवंश आचार्यले भन्नुभयो, ‘‘उमेर हाम्रोभन्दा कम भए पनि महानगरका प्रमुख हाम्रा नगरपिता र विवाह नगरेको भए पनि उपप्रमुख हाम्रो नगरमाता हुनुहुन्छ ।’’ उहाँहरुबाट परिवर्तनको अपेक्षा गर्दै आचार्यले थप्नुभयो, ‘‘हामीले ३५ वर्ष अगाडि निर्माण गरेको कान्तिपुर टेलिचलचित्रको कथामा परिवर्तन आउन सकेको थिएन । अब परिवर्तन हुन्छ भन्नेमा आशा बढेको छ ।’’

सञ्चारलाई सामाजिक उपयोग मिल्दो बनाउनुपर्छ
सञ्चारका उपभोक्ता कहाँ छन् ? विषय प्रस्तुति गर्दा ती उपभोक्ता (दर्शक/पाठक/श्राेता) मैत्री बनाउनुपर्छ । कार्यशालामा प्रस्तुति गर्दै काठमाडौं विश्वविद्यालय पत्रकारिता विभागका सहप्राध्यापक डा. सुधांशु दाहालले भन्नुभयो, ‘‘आमसञ्चारलाई सामाजिक उपयोग मिल्दो बनाउनुपर्छ । अघिल्लो पुस्तालाई लाग्न सक्छ, हिजोआज युवाहरुलाई समाचारप्रति चाख नै छैन । उनीहरु कुरा बुझ्न चाहँदैनन् । तर कुरा त्यसो होइन । उनीहरुलाई आवश्यक पर्ने सूचना लिने ठाउँहरु फरक हुन सक्छन् ।’’ आमसञ्चार र सामाजिक सञ्जालको उपयोगका विषयमा कुरा गर्नुहुँदै उहाँले युवाहरुको चाख र रुचि हुने ठाउँमा उनीहरुले प्रयोग गर्ने भाषाको प्रयोग गरेर विषय पस्किनुपर्ने बताउनुभयो ।

रेडियो सञ्चार क्षेत्रमा निःशुल्क माध्यम हो
औपचारिक कार्यक्रमपछि आयोजना गरिएको कार्यशालामा कार्यपत्र प्रस्तुत गर्दै त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पत्रकारिता विभागका उपप्राध्यापक घमराज लुइँटेलले निरक्षरले बुझ्ने र विपन्नले निःशुल्क प्रयोग गर्न सक्ने भएकाले रेडियोको उपयोगिता कहिल्यै नसकिने बताउनुभयो ।उहाँले भन्नुभयो, ‘‘पत्रिका किनेर पढ्नुपर्छ । अनलाइनमा समाचार हेर्न इन्टरनेटको शुल्क तिर्नुपर्छ । टेलिभिजन हेर्न धेरै लगानी गर्नुपर्छ । यो पनि इन्टरनेटमा गएपछि महँगाे हुँदै गएको छ । तर रेडियोबाट प्रसारण हुने सामाग्री सबैका लागि निःशुल्क हुन् । रेडियोको यो गुण बचाउनुपर्छ ।’’ महानगरले सञ्चालन गरेको रेडियोले कस्ता विषय उठाउनुपर्छ भन्ने विषयमा कुरा गर्दै लुइँटेलले नगर पत्रकारिताको विकास गर्नुपर्ने सुझाव दिनुभयो ।

स्राेतः गाेरखापत्र

Leave A Reply

Your email address will not be published.