गणतन्त्रमा कैलासकूट राज–भवनको खोजी

40
biddhut
बसन्त महर्जन
     बसन्त महर्जन

आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा लिच्छविकालीन कैलासकूट भवनको सन्दर्भ पनि उल्लेख गरिएको थियो। जेठ १५ को उक्त भाषण वक्तव्यको बुँदा १२६ मा उल्लिखित यो कैलासकूट भवनसम्बन्धी अध्ययन अनुसन्धान गर्न मन्त्रालयले विज्ञहरूको एउटा कार्यटोली गठन गरी कार्य प्रारम्भ गर्न पुरातत्व विभागलाई जिम्मेवारी दिने निर्णय गर्‍यो। मन्त्रालयले गरेको निर्णय अनुसार विभागले ३० जेठमा विज्ञहरूलाई डाकेर छलफल पनि चलायो।

नेपालको लिच्छविकालीन इतिहासमा कैलासकूट भवनको खुबै चर्चा हुन्छ। राजा शिवदेव (शासनकाल ५९०–६०४) को शासनकालमा श्रीसामन्त (इ.सं. ५९४) का रूपमा देखा परेका अंशुवर्माले सोही वर्ष शक्ति सञ्चय गर्दै ‘श्रीमहासामन्त’ र पछि राजासँग मिलेर द्वैध शासन समेत  चलाएका थिए। ती लिच्छवि राजा राजकाजबाट अवकाश लिई बौद्ध भिक्षु हुनपुग्दा अंशुवर्मा शक्तिशाली र एकल शासकको रूपमा (इ.सं. ६०५) मा देखा परे (बुङमतिको संवत् २९ को अभिलेख)। अंशुवर्माले एक्लै शासन थालेपछि नयाँ राजदरबार ‘कैलासकूटभवन’ बाट आफ्ना आज्ञा सनदहरू जारी गरेको देखिन्छ।

संवत् ३२ (ई.सं. ६०८) को साँगाको अभिलेखमा यस भवनको तारिफ गर्ने क्रममा यसलाई ‘पृथ्वी तलको टीका जस्तो भएको, कुरिकुरि लागेका दुनियाँहरूले आँखा झिम्म नगरी हेरिएको’ भन्नुको अर्थ नयाँ र भव्य भवनलाई रुचिपूर्वक हेर्ने गरेको भनेर बुझ्नु पर्दछ। राजा नरेन्द्रदेवको यंगालहिटीको इ.सं. ६४३ को पाटन भन्सारचोकको अभिलेखमा ‘जूनले टल्केको हिमालयको टाकुराझैं झलमल गर्ने संसारमा प्रसिद्ध’ र अनन्तलिंगेश्वरको अभिलेखमा ‘कैलासजस्तो भएको, आँखालाई आनन्द दिने, राम्रो, संसारमा प्रसिद्ध भएको’ भनी प्रशंसा गरिएको छ।

यिनै राजा नरेन्द्रदेवको समयमा नेपाल उपत्यकामा आएका चिनियाँहरूले गरेको वर्णन ताङ्ग वृत्तान्तमा परेको छ। उक्त वृत्तान्तअनुसार कैलासकूट भवनको बीच भागमा एउटा सात तल्ले बुर्जाकारको घर छ। त्यस घरका छानाहरू तामाका पाताले छापिएका छन्। यी छानाहरूको चारै कुनामा नलीहरू जडिएका छन्, जुन नलीहरूको मुखभागमा सुनौला गोहीहरूको मूर्ति लागेका छन्। तिनको मुखबाट नली भएर आउने पानीको फोहरा निस्कन्छ। घरका सबै दलिन, खम्बा, कठवारहरू असल असल काठले बनेका छन्। त्यसमा अनेक मूल्यवान् मणिमुक्तादिहरू जडिएका छन्। भित्ताहरूमा रङ्ग लगाइ कालिगढीपूर्ण बुट्टाहरूले सजाइएका छन्।

कैलासकूट भवनको नाम उल्लेख भएका अभिलेखहरू धेरै भए पनि भवनको अवस्थितिबारे सबै मौन छन्। संवत् ३० को हाँडीगाउँको अभिलेखका आधारमा फ्रान्सेली अध्येता सिल्भाँ लेभीले यो भवन हाँडीगाउँमा नै कतै हुनुपर्छ भनी पहिलो पल्ट अनुमान गरेका थिए भने त्यसपछि कतिपयले उनैको पाइला पछ्याएको पाइन्छ। अन्य अध्येताहरूमध्ये कसैले गोकर्ण त कसैले अन्यत्रै अनुमान गरेका छन्। पुरातत्व विभागमा भएको विज्ञहरूको छलफलमा पनि हाँडीगाउँमा नै जोड दिएको पाइयो।

b 4

यो भवन कहिले बनेको भन्ने सन्दर्भमा केही स्पष्ट नभए पनि संयुक्त शासनकै बेला बनेको र एकल शासनका बेला यता सरेको भनी अनुमान गर्न भने सकिन्छ। यसको भव्यता र सामरिकताका सम्बन्धमा अंशुवर्मापछिका शासकहरू उदयदेव, भीमार्जुनदेव, विष्णुगुप्त, नरेन्द्रदेव, शिवदेव द्वितीय, जयदेव आदिले यसैमा बसेर शासन गर्ने गरेबाट अनुमान लगाउन सकिन्छ। राजा नरेन्द्रदेवले आफ्नो लागि छुट्टै ‘भद्राधिवासभवन’ बनाएको भए पनि उनीपछिका शासकहरू कैलासकूटभवनमा नै बसेको पाइन्छ।

संवत् ३२ (ई.सं. ६०८) को साँगाको अभिलेखमा यस भवनको तारिफ गर्ने क्रममा यसलाई ‘पृथ्वी तलको टीका जस्तो भएको, कुरिकुरि लागेका दुनियाँहरूले आँखा झिम्म नगरी हेरिएको’ भन्नुको अर्थ नयाँ र भव्य भवनलाई रुचिपूर्वक हेर्ने गरेको भनेर बुझ्नु पर्दछ।

कैलासकूट भवन कहाँ पर्दछ भन्ने विषयमा इतिहासका अध्येताहरूलाई मात्र नभएर अन्य क्षेत्रमा पनि चासो रहेको पाइन्छ। यसको अवस्थिति कहाँ पर्दछ भन्ने कुरा थाहा नै नपाइकन के सोचेर हो कुन्नि, काठमाडौं महानगरपालिकाले केही दशक अघि यसको पुनर्निर्माण गर्ने घोषणा गर्‍यो। घोषणा पछि यस सम्बन्धी अरु कुनै समाचार आएको थाहा छैन। कहाँ पर्छ मात्रै होइन, त्यसको पुराअवशेष नै नेभेटिएको अवस्थामा पुनर्निर्माणको कुरा हास्यास्पद भएको कुरा अवबोध भएर होला, महानगरपालिका यस बारेमापछि मौन बस्यो। पछिल्लो पल्ट आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा यस सम्बन्धी अध्ययन–अनुसन्धान र उत्खनन्को कार्यक्रम ल्याएर पुरातत्व विभागमा विज्ञहरूको भेला गराए पनि त्यसपछि महानगरजस्तै चुपचाप बसेको पाइयो।

कैलासकूट भवनका बारेमा अध्ययन अनुसन्धान हुनु राम्रो हो तर यसबाट गरेको अपेक्षा भने यथार्थभन्दा पर रहेको कुरा हेक्का राख्नु पर्दछ। अचेल इतिहास, संस्कृति र पुरातत्व भनेर पर्यटन उद्योगलाई चलायमान गर्ने वस्तुका रूपमा मात्रै बुझ्ने चलन सम्पदा र पर्यटन दुबै क्षेत्रका लागि हानीकारक रहेको बुझ्नु पर्दछ।

dengu 3 1

पुरातत्व सम्बन्धी कामहरू सम्वेदनशील विषय हुन्। गौतम बुद्धको जन्मस्थल लुम्बिनीको उत्खनन् पछि ‘के गर्ने ?’ भन्ने निर्णय हुननसक्दा लामो समयसम्म अन्यौलपूर्ण अवस्था रही अन्तत: आजभोलि ठडिएको मायादेवी मन्दिर त्यही अन्यौलपूर्ण स्थितिको अस्थायी समाधान मात्रै हो। उत्खननपछि त्यस पुरास्थलमा निर्माण संरचना ठडिनै पर्ने गज्जबको मान्यता नेपालमा विकास भएको छ, जुन पुरातत्व विज्ञानको दृष्टिले अनिवार्य कुरा होइन। यो गज्जबको मान्यताले इतिहासको नाममा काल्पनिक संरचनाहरूलाई बढावा दिने खतरा देखिएको छ। काँक्रेविहारको उत्खनन्पछि त्यसको जगमा उठाइएको मन्दिर पनि कुनै ऐतिहासिक नभएर एउटा काल्पनिक स्वरूप मात्रै हो र यसैलाई अब ऐतिहासिक स्वरूपको रूपमा स्थापित गर्न खोजिएको छ। २०७२ सालको भूकम्पले भत्काएको रानीपोखरीको स्वरूप मौलिक थिएन। पुनर्निर्माण गर्दा मौलिक स्वरूपमा नै ल्याइनुपर्ने मागलाई पुरातत्व विभागले ठाडै अस्वीकार गर्दै पछिल्लो गुम्बज शैलीको स्वरूपमा नै पुनर्निर्माण गर्न उद्यत रहेको थियो। धेरै संघर्षपछि बल्लबल्ल मल्लकालीन स्वरूप आउने गरी शिखर शैलीमा निर्माण सम्पन्न गर्‍यो।

चिनियाँहरूले गरेको वर्णन ताङ्ग वृत्तान्तमा अनुसार कैलासकूट भवनको बीच भागमा एउटा सात तल्ले बुर्जाकारको घर छ। त्यस घरका छानाहरू तामाका पाताले छापिएका छन्। यी छानाहरूको चारै कुनामा नलीहरू जडिएका छन्, जुन नलीहरूको मुखभागमा सुनौला गोहीहरूको मूर्ति लागेका छन्। तिनको मुखबाट नली भएर आउने पानीको फोहरा निस्कन्छ। घरका सबै दलिन, खम्बा, कठवारहरू असल असल काठले बनेका छन्। त्यसमा अनेक मूल्यवान् मणिमुक्तादिहरू जडिएका छन्। भित्ताहरूमा रङ्ग लगाइ कालिगढीपूर्ण बुट्टाहरूले सजाइएका छन्।

अन्य कतिपय कुराहरूको विश्लेषण गर्दा पनि सम्पदा क्षेत्रमा कार्यरत व्यक्ति तथा निकायहरू नेपालको मौलिक स्वरूपका सम्बन्धमा ज्ञानै नभएका वा सम्वेदनशील हुन नसकेका देखिन्छन्। यसको अर्थ हो– नेपालमा इतिहास, संस्कृति, कला, पुरातत्वजस्तो विषय क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति हुँदा पनि नीतिनिर्माण तहमा रहेकाहरू यस बारेमा सम्वेदनशील छैनन्। यस्तो भन्नुको ठाडो अर्थ ती अधिकारीहरू इतिहास मास्न उद्यत रहेको लक्षण हो। यस अवस्थामा मौजुद सम्पदाहरूलाई बरु छोपेर राख्नु नै ठूलो उपलब्धि मान्नु पर्नेहुन्छ।

इतिहास, संस्कृति तथा पुरातत्वका सम्बन्धमा विद्या र अर्थ दुबैका दृष्टिले आजभोलि उपयुक्त समय होइन। एउटा सानो मन्दिरको जीर्णोद्धारका लागि पनि विदेशीसँग हात फैलाउनुपर्ने अवस्थाबाट गुज्रनु परिरहेको अवस्थामा नयाँ उत्खननतर्फ हात हाल्नु वस्तुस्थिति नबुझ्नु हो।

भारतमा पहिचान भएर पनि उत्खनन् नगरी राखिएका पुरातात्विक स्थलहरू छ हजारभन्दा बढी संख्यामा छन्। सम्पदाहरू जमिनभित्र रहुञ्जेल सुरक्षित रहने र उत्खनन्पछि अनेकौं चुनौतीका कारण जमिनभित्रै सुरक्षित राख्ने दृष्टिकोण लिएको भनेर बुझ्न सकिन्छ। नेपालमा भने उत्खनन गर्न हतारिने र सही ढङ्गले संरक्षण नगर्ने डरलाग्दो प्रवृत्ति छ।

कैलासकूट भवनको अध्ययन गर्नु ठीकै हो। संभावित ठाउँमा उत्खनन् गर्ने योजना पनि ठीकै हो तर यो भवन कहाँ छ भन्ने कुरा भेटिइहाल्यो भने पनि उत्खनन्मा संलग्न हुनसक्ने जनशक्तिको नितान्त अभाव छ। प्राय: मुलुकमा पुरातत्व क्षेत्रमा विदेशीलाई संलग्न गराइँदैन तर नेपालमा पुरातत्व विभागको इतिहास विदेशीको आर्थिक सहयोगमा विदेशीलाई नै काम गर्न लगाएर आफू दृष्टि साक्षी बस्नुमा नै सीमित हुँदै आइरहेको छ।

कैलासकूट भवनको अवस्थिति थाहा पाएर उत्खनन् गरी हालियो भने पनि त्यसपछि के गर्ने भन्ने सोचको निर्माण भइसकेको छैन। कैलासकूट  भवनको पुरावशेष भेटाइहाल्यो र विभिन्न साहित्यमा वर्णित स्वरूपलाई मूर्त रूप दिने योजना नै बन्यो भने पनि त्यसका लागि आधारहरू पर्याप्त छैनन्। लिच्छविकालीन नेपालको इतिहास महत्वपूर्ण भए  पनि यसको अध्ययन सन्तोषजनक हुन सकेको छैन। त्यस बेलाको इतिहास अध्ययनको प्रमुख स्रोत भनेको शिलालेखहरू नै हुन् र प्राप्त शिलालेखको आधारमा केही व्याख्या विश्लेषणको काम भए पनि कतिपय महत्वपूर्ण प्रश्नको जवाफ पाउन सकेको छैन। यस अवस्थामा लिच्छविकालीन भन्दै आफूखुशी संरचना निर्माण गर्ने हो भने इतिहास, संस्कृतिमाथि ठूलो खेलवाड हो। उत्खनित क्षेत्रमा भवनको जग मात्रै देखाएर पर्यटकलाई लोभ्याउने र आम्दानी गर्ने सोच हो भने यो यथार्थमा आधारित छैन। कैलासकूटभवन लुम्बिनीजस्तो अन्तर्राष्ट्रिय रुचिको विषय होइन।

कैलासकूट भवनको अवस्थिति थाहा पाएर उत्खनन् गर्न सके इतिहासका कतिपय अज्ञात कुरा थाहा पाउने र अन्य कुराको पनि पुष्टि कुरामा शंका छैन। जमिनमाथि असरल्ल छरिएर रहेका हजारौं ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षणमा उदानसीन रहने, संवेदनशील हुन नसक्ने र एकपछि अर्को गलत निर्णय लिने पक्षहरूबाट सकारात्मक अपेक्षा राख्नु अलि गार्‍हो काम हो। यस विषय क्षेत्रसँग सम्बन्धित जनशक्ति तयार पार्ने र सचेतनाको शिक्षा मात्र दिनसक्नु पनि ठुलै कुरा हो। यस अवस्थामा ‘कैलासकूट भवन’ खोजी र उत्खननका बारेमा पुरातत्व विभागद्वारा आयोजित विज्ञहरूको छलफलमा सहभागी एक विज्ञकै शब्दमा भन्नु पर्दा यो ‘सस्तो लोकप्रियता खोजेको’ मात्रै हो।

तस्वीर साभार: नेपालपेन्टिङ्सडटकम

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.