गुल्मी । पछिल्लाे समय गुल्मी अस्पतालले आफ्नाे सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउँदै लगेकाे छ । अस्पतालले कम जनशक्ति र भौतिक संरचनाको अभावका बाबजुद पनि अस्पतालले बिरामीहरूलाई गुणस्तरिय सेवा प्रदान दिँदै आएकाे सरोकारवालाले बताएका छन् । अस्पतालकाे कार्यसम्पादानकाे बारेमा जानकारी दिन आयाेजना गरिएकाे वार्षिक समीक्षा कार्यक्रममा सराेकारवाला सङ्घसंस्थाका प्रतिनिधिले अस्पतालले दिँदै आएकाे सेवाकाे प्रशंसा गरेका हुन् । उनीहरूले अस्पतालको विकासका लागि सबै लाग्नुपर्नेमा जाेड दिए । कार्यक्रममा गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले एक वर्षमा अस्पतालमा भए गरेका व्यवस्थापकीय कामहरूको बारेमा सरोकारवालालाई जानकारी गराउनुभएको थियो । डा. पच्याले अस्पतालमा कम साधन, स्रोत र जनशक्तिकाे अभावमा पनि बिरामीलाई भरपर्दो र विश्वासिलाे सेवा प्रवाह गरेको बताउनुभयाे ।
अस्पतालमा लामो समयदेखि जनशक्ति व्यवस्थापन मुख्य चुनौतीको रूपमा रहेको र दरबन्दी भए पनि त्यसको परिपूर्ति हुन नसकेको उहाँकाे भनाइ छ । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले अस्पतालप्रति नागरिकको विश्वास र भरोसा कायम रहेको भन्दै त्यसलाई गुम्न नदिने वातावरण बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले अस्पताले प्रवाह गर्ने नियमित प्रशासनिक सेवासँगै समुदाय र नागरिकको रचनात्मक कामका लागि प्रदान गर्ने सेवा थप महत्त्वपूर्ण रहने उल्लेख गर्नुभयाे । सरोकारवालाबाट आएका जिज्ञासा र सुझावकाे बारेमा स्पष्ट पार्दै अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेले प्रदेशस्तरका अस्पतालहरूकाे तुलनामा गुल्मी अस्पताल अब्बल रहेको दाबी गर्नुभयो । उहाँले आउँदा दिनमा अस्पतालमा अन्य सेवा विस्तार गरिने जानकारी गराउनुभयाे ।