काठमाडौं । काभ्रेपलाञ्चोक (काभ्रे)मा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बेथानचोक गाउँपालिका-४ चलालमा बुधबार राति साढे १ बजे पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए ।
एसपी जोशीका अनुसार ६५ वर्षीया ठूलीमाया तामाङको उपचारका क्रममा मृत्यु भएको हो भने उनका छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया सावित्री तामाङको घटनास्थलमै मृत्यु भएको हो ।ठूलीमायाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।बेथानचोक गाउँपालिकाका उपाध्यक्ष ताराराना तिमल्सिनाका अनुसार केही दिनदेखि सञ्चालन हुँदै आएको ढंगाखानी माथिबाट झरेको पहिरोले घर तामाङको घर पुरेको हो ।