एउटा अनिँदो माझीगाउँ…भुकम्पमा भत्केको घर बनाउने आशमा नागरिकता दिएर राजश्व छलीको मुद्दा खेपी रहेका माझीहरूको कथा

42
        कृष्ण-तिमल्सिना

घटना त्यति पुरानो हैन। २०७२ सालमा गएको विनाशकारी भूकम्पले माझीको मुन्टो लुकाउने पुरानो माटोको घर भत्केको थियो‍। भुकम्पसँगै लामो समय बजार र ग्राहकको अभावले, तामाकोशीको भङ्गालोमा पसेर साँझ बिहान माछा मार्ने पेशा सङ्कटमा पर्‍यो। न खाने टुंगो, न बासको टुंगो। यही पीडाको अचानोमा छियाछिया बनिरहेका लक्ष्मणको आँगनमा घर बनाई दिने आश्वासन लिएर एक व्यक्ति देखा परे। जसले प्रशस्तै राहत दिने, घर बनाई दिने जस्ता लोभ देखाएर पटकपटक उनको परिवारलाई पच्छ्याइ रहेको थियो। राहत दिने र घर ठड्याइ दिने मान्छे नै आँगनमा आएपछि लछुमन माझीको परिवारलाई– ढुंगा खोज्दा देउता भेटिए जस्तै भयो। ” गरिबको मन, भोको पेट– नाङ्गो आङ… आश लाग्यो,” -लछुमन सम्झन्छन्।

मधेशी समुदायको जस्तै देखिने अपरिचित व्यक्तिले लछुमनलाई सुरुबाटै मित बुबाको नाता जोडेर लोभ्याइ रहेको थियो। लछुमन भन्छन्– “तिनले पटकपटक गरी ३६ हजार ५०० रुपैयाँ उठाएर हामीहरूलाई गाडी चढाएर काठमाडौँ लगेपछि बल्ल शंका लाग्यो। तर हामीहरूसँग लुरु लुरु पछि लागेर हिँड्नुको विकल्प थिएन। हामी नागरिकताको प्रमाणपत्र बोकेर उनीहरूसँगै काठमाडौँ गयौं ।”

गाउँमा राहत बाँड्नै भन्दै थुप्रै मान्छेको आउजाउ भइरहेको बेला, राहत कै आश्वासन दिएर गाउँ पसेको यो गिरोहको धन्दा बेग्लै थियो। नागरिकता प्रमाणपत्रको प्रतिलिपि र फोटो खिचेर गएका ती अपरिचित व्यक्तिले लछुमन र उनको परिवारको नाममा पीआर के ट्रेड इन्टरनेशनले नामको कम्पनी खोली सकेका थिए। तर लक्ष्मणको परिवार, घर नै बनाइदिने आश्वासनको पछि लागि रह्यो। वल्लो गाउँ पल्लो गाउँ सबै तिरका गरिबको झुपडीमा, घर नै बनाउने राहत टोली गाउँ पसेको चर्चा चल्यो। एक कान दुई कान मैदान– यही बस्तीका दिनेश माझी, नारायण माझी, देवेन्द्र माझी, शरण माझी लगायत राहत र घर पाइने आश्वासनको जालमा परे। सबैले नागरिकता प्रमाणपत्रको प्रतिलिपि बुझाएर ठग गिरोहको पछि लागे।

विपन्न माझी बस्तीमा चरम अभाव थियो। भुकम्पले घर भत्काएपछि घडेरीको टुंगो थिएन। ४ पाथी मकै र सात पाथी कोदो फल्ने पाखो बारीको डिलमा बाँच्नका लागि संघर्ष गरिरहेका लछुमन र नारायण माझीहरूले थुप्रै संस्थालाई नागरिकताको प्रतिलिपि बुझाएर थप राहत पाइने आश्वासनमा, ल्याप्चे हानिरहेका थिए। राहतको नाममा अन्न, तरकारी, लत्ताकपडा, त्रिपाल, औषधी बोकेर गाउँ पसेकाहरूले राहतको दोस्रो र तेस्रो किस्ताको प्रलोभन देखाइरहेको बेला– घर बनाइदिने प्रलोभन देखाउन माझी बस्ती पसेका, सर्लाही मङ्लगवा – डुमरियाका कपडा व्यापारी महेन्द्र यादवले लछुमनलाई मित बुबाको साइनो लगाएर ठूलो राहतको आशा देखाए । लछुमनका बैनीज्वाइँ ठाकुर माझीसँगको मितेरी साइनो देखाएर नजिकिएका महेन्द्रले राहतको आशा देखाएर लछुमन सहित यो बस्तीका ८ जनालाई नरेश राय यादव र लक्ष्मण राय यादवको सम्पर्कमा पुर्‍याए । ठाउँमा भएका मान्छेले विपत्तिका बेला सहयोग गर्छन् भन्ने लोभले शंका मेटाई दियो, लछुमन ७ वर्षअघिको भूलमा निरन्तर पश्चाताप गरिरहेका छन्।

लछुमन माझीका काका- नारायण माझी। सरकारी अड्डा अदालतमा ‘पी.आर. के ट्रेड इन्टरनेसनलका प्रोप्राइटर का रुपमा दर्ता भएका अर्का पीडित। जसका विरुद्ध २०७७ साल मंसिर यता, पाटन उच्च अदालतमा ५ करोड ५६ लाख राजस्व चुहावटको मुद्दा चलिरहेको छ। लछुमनको नाममा दर्ता भएको प्यान नम्बरबाट पाँच करोड २० लाख राजश्व छली भएको छ।

b 4

गरिबी निवारणका लागि घर बनाइदिने लहैलहैमा भतिजो लछुमनसँगै तीन दिनसम्म काठमाडौँको होटलमा बसेर प्रति व्यक्ति ११ हजारका दरले बाटो खर्च थापेर घर फर्किएका नारायण माझी त्यसपछि कोही नयाँ मान्छे आयो भने डरले काम्ने भएका छन्। राजश्व छलीको मुद्दा उच्च अदालत पाटनमा चलिरहेको छ। उच्च अदालतले हाजिर हुन पत्र काटेपछि स्थानीय जनप्रतिनिधिलाई भेटेर हारगुहार मागेका लछुमन र नारायण माझीहरू राजश्व चुहावट गरेको मुद्दाको तामेली बुझेर भागी भागी हिडिरहेका छन्।

दिनभर तामाकोसी खोलामा माछा मारेर आफ्नो जीविका चलाउँदै आएको माझी समुदायलाई, राहतका नाममा भएको यो हर्कतले दुःखी तुल्याएको मात्रै छैन, लछुमन माझी यही तापले बिरामी परेका छन्।

dengu 3 1

दैनिक माछा मारेर आफ्नो छाक टार्दै आएका माझी समुदायका व्यक्तिलाई यत्ति ठूलो राजश्व छलीको मुद्दा कसरी र कसले लगायो भन्ने बारे लामो समय अनभिज्ञ थियो। राहत दिनेहरूले धेरै ठाउँमा ल्याप्चे लगाउन लगाएका थिए। धेरै जनाले नागरिकताको फोटो कपीसँगै फोटो खिचेर लगेका थिए। तर जब आफ्नो नाममा फर्म दर्ता गरी सोही फर्मको नामका करोडौं राजश्व छली भएको पत्रको व्यहोरा कसैले पढेर सुनायो तब लछुमन माझीहरूको बस्तीमा सन्नाटा छायो। अदालतको तामेली आएपछि गाउँ आक्रान्त बन्यो। नयाँ कोही व्यक्ति आउँदासमेत डराएर लुक्ने अवस्था बन्यो।

५६ वर्षका लछुमन माझी २०७२ को भूकम्प पछि निरन्तर हल्लिरहेको परिवार र जीवनको जग सामान्य लय फर्काउन निरन्तर प्रयत्न गरिरहेका छन्। तर, सङ्कटको बेला भरोसा दिनुपर्ने छिमेकीले पुर्ख्यौली जग्गा समेत नापजाँच गरेर आफूतिर पारेका छन् भन्ने हल्लाले उनलाई थप त्रसित बनाएको छ। भूकम्पपछि भिरालो खोरियाको डिलमा बनाएको सानो टहरो सम्म जोडिने पुरानो चलनचल्तीको बाटो बन्द गरिएको छ। आकाशे पानी जम्मा गरेर चलाइरहेको गुजारामुखी जीवनमा माछा मारेर जीविका चलाउने आँट फर्किएको छैन। सरकारले यही एउटा नागरिकता दिएको थियो, तर यही नागरिकताका कारण आज ‘सरकार लाग्यो’, न मर्नु न बाँच्नु बनायो– ऐंठन पूर्ण जीवनयापन गरिरहेका लछुमनले नागरिकता देखाए।

२०७७ पुस १९ गते लछुमनको घरमा एउटा पत्र आएको थियो। साँवा अक्षर नचिन्ने लछुमनलाई छिमेकीहरूले पत्र पढेर सुनाइदिए । जसको सार थियो, लछुमनले ५ करोड ५६ लाख राजस्व छली गरेको भनेर पाटन उच्च अदालतमा उनीसहित ८ जना विरुद्ध मुद्दा परेको छ। त्यसयता, राजस्व छलेको अभियोगमा पक्राउ गर्न कति बेला प्रहरी आउने हो भनेर लछुमनहरू अनिँदो बस्न थालेको छन्।

दोलखा सदरमुकाम चरिकोटबाट करिब २३ किलोमिटर दक्षिण मोटरबाटो बाट थोरै माथि, तामाकोसीको छेवैमा रहेको भीरकोटस्थित माझीगाउँका, लछुमन माझीको जीवन, माछा मार्ने जाल, बल्छि अनि तामाकोसीको माछाले थेगिरहेको छ। तर राजश्व छलीको मुद्धामा जलिएपछि लछुमन माछा मार्न जान डराउँछन्। खोलामा झर्दा पुलिस आएर पक्रियो भने–जहान बच्चाको के होला भन्ने त्रास छ। ज्याला–मजदुरीका लागि कहिले यता कहिले उता जाने दिनचर्या फेरिएको छ। तर जीवन जिउनका लागि जाल बोकेर खोलामा जानुको विकल्प छैन । ३२ वर्षीय जेठो छोरा ज्याला–मजदुरी गर्छन्, एउटा छोरालाई तामाकोशीले निल्यो अनि काठमाडौँको होटलमा मजदुरी गर्ने १५ वर्षीय कान्छो छोराको हात काटिएको छ। तर तामाकोसीमा माछा खोज्दै हिँड्ने लछुमन माझीलाई राज्यले– अर्बौंको व्यापार गरेर साढे पाँच करोड राजस्व छलेको मुद्धामा डामेर छाडेको छ।

९ दिनसम्म काठमाडौंको गल्ली गल्ली घुमेर जताततै ल्याप्चे लगाएका नारायण माझीको पीडा पनि उस्तै छ। जसले विभिन्न चेकहरूमा ल्याप्चे लगाएका छन्। तर कागज र चेकमा के लेखिएको थियो भन्ने उनलाई पत्तो छैन। किनकी नारायण माझी पनि पढ्न सक्दैनन्। मात्र, राहतका लागि लछुमन र नारायणहरू, त्यस्ता जति पनि कागजमा ल्याप्चे लगाउन तयार भएका थिए ।

वर्षौँसम्म दोस्रो र तेस्रो किस्ताको राहत नपाएको पीडा भुलेर सामान्य दैनिकीमा फर्किसकेका लछुमनहरूको टहरोमा अहिले पुन: सन्नाटा छाएको छ। तुरुन्तै अदालतमा हाजिर हुनुपर्छ, प्रहरीले जुनसुकै बेला समात्छ, कतै जान हुँदैन, भएको जायजेथा अब राज्यले जफत गर्छ… गाउँमा केही टाठाबाठाले अहिले पनि यस्तै हल्ला चलाई रहेका छन्। अनि आफ्नो नाममा एक धुर जग्गा सम्म नभएका लछुमनहरू न करोड/ करोड रकम तिर्न सक्छौ भनेर अदालत जान सक्ने अवस्थामा छन् न चुप लागेर निदाउन सक्छन्।

लछुमनहरूले सुनेका छन्– यसैगरी २८ करोड राजस्व छलेको विषयमा मुद्दा खेपेका बारा, परवानीपुरका उमाशंकर राय  आफू निर्दोष रहेको प्रमाण र बयान लिएर पाटन उच्च अदालत गएका थिए– तर अदालतले ऐलानी जग्गामा टहरोमा बस्दै आएका उमाशंकरको कुरै सुनेन। उनलाई अदालतले जेल चलान गर्‍यो, एक धुर जमिन नभएका उमाशंकर २८ करोड राजस्व छलेको अभियोगमा नख्खु कारागार पुगे। त्यसैले, लछुमनहरूले आजसम्म अदालत गएर आफ्नो बयान दिन सकेका छैनन्। हाजिर हुने म्याद गुज्रिसकेको छ, घरनजिकै कसैले गाडी रोक्यो कि ढोका थुनेर भित्र पस्छन्। डरले हातखुट्टा काँप्छ । किनकी लछुमनहरूलाई, कानुनबाट भागेको मान्छेका रुपमा राज्यले निरन्तर खोजीरहेको छ। उनी जस्तै ‘लछुमन प्रोप्राइटर रहेको’ कम्पनी दर्ता गर्दा नागरिकता पेश भएको– भीरकोटका अरू ७ जना सञ्चालक लछुमनका छोरा दिनेश, वीरबहादुर माझी, नारायण माझी, शरण माझी, देवेन्द्र माझी, मोहन खत्री र लोकबहादुर थापामगरहरू यसैगरी राजस्व छलीका अभियुक्त बनेर भागी रहेका छन्। बिहान खाए बेलुका के खाउँ भन्ने अवस्थाका माझीहरू न आफुहरूमाथि परेको अन्याय बिरुद्ध कानुनी उपचार लड्न सक्छन् न निर्धक्क ज्याला मजदुरीमा निस्कन सक्छन्।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.