लुम्बिनी । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको औद्योगिक विकासको लागि औद्योगिक क्षेत्रको विकास र त्यसको पूर्वाधार निर्माणमा जोड दिएका छन् । औद्योगिक विकासको लागि सरल तरिकाले जग्गाको प्राप्ती र प्राप्त भएको जग्गामा पूर्वाधार विकासमा सरकारले सघाउनु पर्ने भन्दै अध्यक्ष गोल्छाले औद्योगिक क्षेत्रमा उद्योगहरुलाई लिज सम्झौताको समयावधी पनि बढाउनु पर्ने बताएका हुन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबार बुटवलमा आयोजना गरिएको ६९ औं साधारण सभाको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गोल्छाले कोरोना महामारी, कर्जा प्रवाहमा तरलताको अभाव, रुस युक्रेन युद्ध लगायतका कारणले उद्योगी व्यवसायी ठूलो मारमा परेको भएपनि बंगलादेश पाकिस्तानको जस्तो समस्या नआउने प्रष्ट्याए ।
‘समस्या छ नभएको होईन ।’ उनले भने–‘अब देश बंगलादेश, पाकिस्तान जस्तो हुन्छ भन्ने शब्दले उद्योगी व्यवसायीको मनोवल गिराएको छ, हामीले विज्ञहरुसंग पनि परामर्श गरेका छौ, त्यस्तो दुर्घटनामा फस्ने खालको समस्या होईन ।’ बैंकको व्याजदर सय प्रतिशत भन्दा बढी भएको उल्लेख गर्दै अध्यक्ष गोल्छाले त्यसले उद्योगी व्यवसायीलाई ठूलो समस्या भएको बताए । मुलुकको अर्थतन्त्रको सुधारको लागि सन् २०३० सम्मलाई लक्षित गरेर महासंघले ल्याएको भिजन पेपरलाई सरकारले ईन्डोर गरेको बताउँदै कतिपय कुराहरु सम्बोधन भईसकेको उनले भनाई राखे । उनले उद्योगी व्यवसायीको समस्याको समाधानको लागि महासंघले विज्ञहरुसंग सल्लाह गर्ने र पहल पैरवी गर्ने काम गरिरहेको पनि बताए । कार्यक्रममा स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले खुला सिमानाकाका कारण यस क्षेत्रका व्यवसायी मारमा परेको जानकारी गराउँदै समस्या समाधानको लागि पहल गरिदिन महासंघलाई आग्रह गरे ।
अध्यक्ष कसजूले चालू पूजी कर्जा मार्ग निर्देशन अव्यहारिक रहेको, समयमा सडक निर्माणको काम नसकिदा व्यसायी मारमा परेको, तरलता अभाव, महंगी लगायतका समस्या राख्दै सरकारका व्यवसायिक अव्यवहारिक नीतिका कारण लागत बढ्नुको साथै प्रतिस्पर्धी क्षमतामा ह्रास आएको बताए । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलमा मोतिपुर औद्योगिक क्षेत्र निर्माणको लागि जग्गाको नापजाँच सुरु भएको बताए । त्यस्तै बुटवल १५ मा कृषि थोक बजार केन्द्र निर्माणको तयारी भएको जानकारी गराए । व्यवसायिक तथा औद्योगिक विकासको लागि बुटवल उपमहानगरपालिका सहकार्यको लागि तयार रहेको नगरप्रमुख पाण्डेयले बताए । महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले सरकारी नियमनले उद्योगी व्यवसायीलाई हतोत्सायी बनाएको बताउदै समस्या समाधानको लागि महासंघले नेतृत्व लिनुपर्ने आग्रह गरे । उनले निजी क्षेत्रको प्रवर्धन र विकास हुन सकेन भने देशको अर्थतन्त्र विग्रिदै जाने भएकाले समयमै ध्यान दिनुपर्ने जिकिर गरे । महासंघ जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले स्थानीय तहमा करको दर घटाउन प्रतिस्पर्धा गर्नुपर्नेमा बढाउन प्रतिस्पर्धा भइरहेको आरोप लगाउदै सरकारले ल्याउने नीतिले स्थायित्व पाउनुपर्ने बताउदै नीति स्थायित्व नहंदा व्यवसायी मारमा परेका बताए ।
बस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ सरकारका नियमनकारी निकायले आफूले गल्ती गर्ने र निजी क्षत्रलाई दोश दिने गरेको बताइन् । सात दिन बैंकको कर्जा शून्य गर्नुपर्ने राष्ट्र बैंकको नयां व्यवस्था उद्योगी व्यवसायीको हित विपरित रहेको उनले भनाइ राखिन् । एशोसियट उपाध्यक्ष रामचन्द्र संघाई मोतिपुर औद्योगिक क्षेत्र निर्माणमा सरकार गम्भिर नदेखिएको बताउदै चाँडो बनाउनु पर्ने भनाई राखे । उनले तरलता अभाव लगायत बैंकिङ्ग जटिलताले व्यवसायी मारमा परेको बताए । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले उद्योगी व्यवसायीको हित कसरी गर्न सकिन्छ नगरपालिका लागि परेको भन्दै बुटवलको ट्राफिक व्यवस्थापनको लागि १ हजार ४ सय ४० वटा अटो रिक्सालाई मात्रै सञ्चालन अनुमती दिने निर्णय गरि दर्ताको काम सुरु भएको जानकारी गराइन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले उद्योगी व्यसायीहरुले आफ्ना हक अधिकारसँगै उपभोक्ता हितमा पनि उत्तिकै ध्यान दिन आग्रह गरे । उले नरात्रीकालीन व्यवसाय मापडण्ड स्वीकृत भईसकेको जानकारी गराउँदै मापदण्ड अवलम्वन गरेर व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष उमेश श्रेष्ठले महासंघले साना ठूला सबै उद्योगी व्यवसायीका समस्या समाधान गर्न ध्यान दिनुपर्ने भनाई रखे । नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योगी व्यवसायीलाई संकट बढ्न थालेको बताउंदै महासंघलाई पहल पैरवी गर्न आग्रह गरे । उनले बैंकहरुको मर्जरले बैकिङ्ग प्रतिस्पर्धा घटेको र व्याजदर बृद्धि हुँदै गएको बताउँदै विमामा पनि संकुचन भएको बताए । कार्यक्रममा थाहा उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कविराम खत्री, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, सम्मानित मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी लगायतले साधारण सभा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवाद तथा महासचिव बिमलराज भट्टराईको सञ्चालनमा भएको थियो । समाजसेवी अधिकारी र खेलाडी मास्केलाई सम्मान संघको साधारण सभाको अवसरमा समाजसेवी रामजी अधिकारी र खेलाडी प्रसंगध्वज मास्केलाई सम्मान गरिएको छ । मानवताको सेवामा समर्पित मानव सेवा आश्रमका अध्यक्ष अधिकारी र वास्केटवल खेलाडी मास्केलाई नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा र संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले सम्मान पत्र सहित दोसल्ला माला लगाएर सम्मान गरेका हुन् । सो अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. १ मा रहेको जलविनायक गणेश मन्दिर र द आर्ट आफ लिभिङ बुटवल सेन्टरलाई आर्थिक सहयोग गरिएको छ । मन्दिरको सञ्चालन व्यवस्थापन र द आर्ट अफ लिभिङ बुटवल सेन्टरलाई भवन निर्माणको लागि जनही १ लाख १ हजार रुपैया आर्थिक सहयोग गरिएको हो ।