सन्धिखर्क । निर्वाचनको माहोल तातिरहेको छ । पुराना राजनीतिक दल र पुरानै नेताहरूबाट वाक्क भएर युवाहरूले राजनीतिमा रुची बढाईरहेकाले यसपटक चुनावको फरक माहोल बन्दै गएको छ । युवा र शिक्षित वर्गले राजनीतिप्रति चासो बढाएका छन् ।देशभर नयाँ र युवा अनुहारले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेर चुनावमा होमिएको बेला अर्घाखाँचीका ३२ वर्षीय एक युवाले पनि निर्वाचन लड्ने तयारी गरेका छन् । मुख्य दलहरूले पुरानै नेताहरूलाई चुनावमा अगाडी सारेका छन् । पटक पटक अवसर पाएका दलका नेताहरूप्रति मतदाताको रुची नभएका बेला उनले स्वतन्त्रबाट चुनाव लड्ने भएका हुन् ।अर्घाखाँची जिल्लाबाट सुरू गरिएको चर्चित अभियान ‘जोडिनुस जिल्लासङ्ग’का अभियन्ता तेजेन्द्र पाण्डेय अर्घाखाँचीबाट चुनाब लड्ने भएका छन् । जिल्लामा एकमात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीबाट निर्वाचन लड्न लागेका उनी युवाहरूको परामर्शमा चुनाव लड्न लागेका हुन् ।
मिडिया र कानुनसँगै कलाकारिता र सामाजिक कार्यहरुमा समेत सक्रिय रहेका अधिवक्ता पाण्डेय स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यमा चुनाब लड्ने जानकारी प्राप्त भएको छ ।सञ्चारकर्मी समेत रहेका पाण्डेयले जिल्लामा विभिन्न अभियानहरू संचालन गर्दै आएका छन् भने उनको टिमले केही वर्ष अघि देखि जोडिनुस जिल्लासङ्ग भन्ने अभियान संचालन गर्दै आएको छ । यस अभियान अन्तर्गत अर्घाखाँचीबाट जिल्ला बाहिर रहने व्यक्तिहरूलाई जिल्लासँग जोड्ने विभिन्न कार्यक्रमहरु गरिरहेका छन् ।जिल्लामा मेला-महोत्सव, जनस्वास्थ्यका विभिन्न कार्यक्रम, लोकसेवा आयोगका कक्षाहरु, विद्यार्थी क्षमता अभिवृद्धि जस्ता काम गरिरहेका उनी बालमनोविज्ञ समेत हुन् । अधिवक्ता पाण्डेले त्रिभुवन विश्वविद्यालयमा मनोविज्ञानबारे अध्ययन समेत गरिरहेका छन्।
हाल छत्रदेव टेलिभिजन, मेगा टेलिभिजन, अर्घाखाँची बुलेटिन लगायतका मिडियाहरुमा आबद्ध रहेका उनले केही वर्ष अर्घाखाँची टेलिभिजनको प्रमुख भएर काम गरेका थिए । पहिले नेपाली कांग्रेस निकट रहेर काम गरेका उनले केहि अगाडी सम्पन्न निर्वाचनमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।उनी काङ्ग्रेसको केन्द्रिय कार्यसमितिको निर्वाचनमा निर्वाचन अधिकृत पनि थिए। तर अधिवक्ता पाण्डेयले भने आगामी निर्वाचनमा उम्मेदवारी दिने बिषयमा औपचारिक घोषणा नगरेपनि घोषणाको तयारी गरिरहेका छन् ।जिल्लाका स्थानीय तहहरूमा पुगेर युवाहरूसँग परामर्श गरेपछि उनले निर्वाचन लड्ने तयारी गरिरहेका छन् ।
स्रोत – हिमाल पोष्ट