चुनाव नजिकिए सँगै मकवानपुरमा सक्रियता बढाउदै कमल थापा

60

मसिंर ४ मा  घाेषित प्रतिनिधि सभा र प्रद्रेश सभा काे चुनाव नजिकिए सँगै  राप्रपा नेपालका अध्यक्ष कमल थापाले  गृह जिल्ला मकवानपुरमा आफ्नो सक्रियता बढाएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष थापाले आफ्नो निर्वाचन क्षेत्रमा सक्रियता बढाएका हुन् । राजेन्द्र लिङ्देनसँग राप्रपाको अधिवेशनमा अध्यक्षमा पराजित भएको केही समयपछि उक्त पार्टी परित्याग गरेका थापा पुनः राप्रपा नेपाल पुनर्गठन गरेर पार्टीको नेतृत्व गरिरहेका छन् ।काठमाडौंमा रहेर पार्टीका नियमित क्रियाकलाप संचालन गरिरहेका थापा चुनाव लक्षित कार्यक्रमहरु संचालन गर्न आफ्नो निर्वाचन क्षेत्र मकवानपुर–१ छिरेका छन् । आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको लागि राप्रपा नेपालले मकवानपुर–१ बाट थापाको नाम एकल सिफारिस गरिसकेको छ ।

dengu 3 1

अध्यक्ष थापा आगामी निर्वाचनमा सो क्षेत्रबाट जित्ने प्रयत्‍नका साथ आफ्नो सक्रियता बढाएका हुन् । ‘घर– घरमा, चोक–चोकमा राप्रपा नेपाल, मकवानपुरे जनताको साथ, समर्थन, सद्भाव शुभेच्छाको निमित्त आभार, सबैको साथ लिएर हामी निरन्तर लक्ष्य र गन्तव्य तर्फ अघि बढ्दैछौ’ भन्दै आफ्नो चुनावी अभियान अन्तर्गत गाउँ छिरेका छन् ।निर्वाचनको तयारी स्वरुप अध्यक्ष थापा पछिल्लो दिनहरुमा हेटौंडामा नै रहेर निर्वाचन क्षेत्रका नागरिकसँग भेटघाटमा व्यस्त छन् । चुनाव केन्द्रीत गर्दै अध्यक्ष थापा आफ्नो टिम सहित निर्वाचन क्षेत्रको विभिन्न गाउँहरुमा पुगेका थिए ।

उनी चुनावी अभियान अन्तर्गत गत बुधबार मकवानपुरको बकैया गाउँपालिकाको विभिन्न स्थान पुगेका थिए भने बिहिबार हेटौंडा बजार क्षेत्रका केही वडाका पुराना नेता तथा शुभचिन्तक र व्यवसायीहरुसंगको भेटघाटमा सक्रिय रहे ।हिजो शुक्रबार हेटौंडा बजार क्षेत्रको १६, १७ र १८ नम्बरका आम मतदाताको घर–घर पुगेका अध्यक्ष थापाले त्यहाँ राप्रपाका शुभचिन्तक र पुराना नेता र कार्यकर्ताहरुसंग छलफल गरेका थिए भने शनिबारको लागि उनले हेटौंडामा वृहत अगुवा कार्यकर्ता भेलामा सहभागिता जनाउने र सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रम पछि अध्यक्ष थापा काठमाडौं जाने कार्यक्रम रहेको राप्रपा नेपाल मकवानपुरले जनाएको छ ।

‘२२ गते देखि अध्यक्ष ज्यू हेटौंडामा हुनुहुन्छ । उहाँ पार्टीका विभिन्न कार्यक्रम र पुराना नेता तथा कार्यकर्तासँग भेटघाटमा व्यस्त हुनुहुन्थ्यो । आजको अगुवा कार्यकर्ताको भेलापछि उहाँ काठमाडौं जाने कार्यक्रम रहेको छ ।’, राप्रपा नेपालका एक नेताले भने ‘काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आगामी निर्वाचनमा गठबन्धन गर्नेबारे छलफल हुने तय भएको छ ।’ उनले आफ्नो जीवनकालको अन्तिम निर्वाचनको रुपमा उक्त निर्वाचनलाई लिएर अघि बढेका छन् । उनी भन्छन्, ‘जीवनकालको अन्तिम निर्वाचन जित्न चाहन्छु ।’ गत बिहीबार जिल्लाका नेता कार्यकर्ताहरु संगको भेटघाटमा मंसिर ४ गते हुने निर्वाचन आफ्नो राजनीतिक जीवनको अन्तिम निर्वाचन हुने भन्दै उक्त निर्वाचनमा जित्न चाहना रहेको इच्छा व्यक्त गरेका थिए ।

‘गाई’ गुमाएका थापालाई होला त एमालेको साथ ?

आगामी निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ बाट चुनाव जित्ने बलियो रणनीति अनुसार अध्यक्ष थापा मैदानमा उत्रिएका छन् । उनी एमालेसँगको एलाइन्समा चुनाव जित्ने दाउमा देखिएका छन् । तत्कालीन नेकपा एमाले नेतृत्वको सरकारमा केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री बनेका थापा आगामी निर्वाचन पनि ओलीकै भरोसामा विजयी बन्ने दाउको खोजीमा छन् ।मकवानपुरबाट पटक पटक चुनाव हारेका अध्यक्ष थापा २०५२ मा कानून न्याय, संसदीय व्यवस्था र स्थानीय विकास मन्त्री भएका थिए भने २०५४ मा परराष्ट्र र कृषि मन्त्री, २०६० मा सञ्चार, स्थानीय विकास र स्वास्थ्य मन्त्री, २०७२ मा परराष्ट्र र स्थानीय विकास मन्त्री, २०७४ मा परराष्ट्र मन्त्री भइसकेका छन् ।

अध्यक्ष थापा एमालेको साथ पाए चुनाव जित्ने आन्तरिक हिसाब किताब बोकेर उत्साहित हुँदै हेटौंडा झरेका हुन् । २०७४ को निर्वाचनमा मकवानपुर–१ मा थापा पराजित भएका थिए । एमालेका नेता कृष्णप्रसाद दाहालसँग उनी तेस्रो पटक चुनाव हारेका थिए । तत्कालिन समयमा बाम गठबन्धन विरुद्ध कांग्रेससँग गठबन्धन बनाएर चुनावमा होमिएका थापा पराजित भएका थिए । माओवादी र एमालेको बाम गठबन्धनका उम्मेदवार ४० हजार ६३१ मत प्राप्त गर्दा थापाले ३४ हजार ६५८ मत ल्याएका थिए । यसअघि पनि थापालाई २०४८ र २०५६ को आम निर्वाचनमा पनि दाहालसँग पराजित भएका थिए ।

राप्रपा परित्याग गरी राप्रपा नेपाल पुनः गठन गरेका थापासँग मकवानपुरमा लामो सहयात्रा गरेका दीपक बहादुर सिंह, मधु अधिकारी, खिलप्रसाद चौलागाई लगायतको साथ छैन । पुराना नेता तथा कार्यकर्ताको अपस्थिति पनि अत्यन्त कमजोर रहेको छ । उता पार्टीको ब्राण्ड मानिएको हलो वा गाई चुनाव चिन्ह पनि अध्यक्ष थापाले गुमाएका छन् । सबैतिरबाट कमजोर अवस्थामा रहेका अध्यक्ष थापा चुनाव जित्ने उच्च मनोबल सहित अन्तिम चुनाव भन्दै गाउँ पसेर ‘इमोसनल’ प्रचारमा सक्रिय छन् ।एकातिर बलियो सत्ताधारी गठबन्धन विरुद्ध अध्यक्ष थापाले प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता देखिन्छ भने एमालेका रामेश्वर राना, कृष्ण दाहाल, मदन दाहाल उम्मेदवार बन्ने चर्चा तीव्र छ । त्यस्तै सोही क्षेत्रबाट लामो समय राप्रपामा रहेर सहयात्रा गरेका दीपक बहादुर सिंह पनि चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन् ।

सत्ता गठबन्धबाट कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ उम्मेदवार बन्दा एमालेबाट ‘ग्रिन सिग्नल’ पाएको खण्डमा अध्यक्ष थापाले राप्रपाको सिंहको समेत सामना गर्नपर्ने हुन्छ । एमालेले अध्यक्ष थापालाई सघाए आफ्ना उम्मेदवारहरु फिर्ता बोलाउन सक्नेछ । त्यसो त एमालेले राप्रपा नेपाललाई गत स्थानीय तहको निर्वाचनको ऋण तिर्नै बाँकी छ । गत स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालले आफ्ना उम्मेदवार नउठाइ एमालेलाई सघाउन विज्ञप्ती नै जारी गरेको थियो ।अध्यक्ष थापाले आगामी निर्वाचन जित्न आफ्नो चुनाव चिन्ह ‘तीर’लाई जनतामाझ परिचित बनाउनु पर्ने अध्यक्ष थापाको सचिवालयको विश्वास रहेको छ । अध्यक्ष थापाले हेटौंडाको विकास र मकवानपुरका जनतालाई लगाएको गुन नै चुनाव जित्ने आधार भएको सचिवालयको भनाई छ । सचिवालयका अनुसार अध्यक्ष थापाकै कारण बागमती प्रदेश राजधानी हेटौंडा कायम हुन सम्भव रहेको र मकवानपुरको विकासको गोरेटो निर्माण भएकाले मकवानपुरका जनताले आगामी निर्वाचनमा अध्यक्ष थापालाई जिताउने छन् ।

 

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.