१५ वर्ष र ३५ करोडको लगानीमा बनेको विमानस्थलमा उड्दैन जहाज

38
biddhut
चन्द्रकान्त खनाल / रूपन्देही
चन्द्रकान्त खनाल / रूपन्देही

गुल्मी धुर्कोट गाउँपालिकाका भेषबहादुर घर्तिलाई तम्घासको रेसुङ्गा विमानस्थलबाट जहाज चढेर, काठमाडौं पुग्ने  रहर थियो। विमानस्थल बने पनि त्यो रहर पूरा हुन्छ हुँदैन पक्का छैन। रेसुङ्गा विमानस्थल सुरु गरिएको १५ वर्षमा निर्माणको काम सम्पन्न भएको छ। विमानस्थल निर्माण सम्पन्न भएको महिनौँ बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन। नियमित उडानको लागि विमानस्थल तयार भएपनि विमान उडानको अन्यौल हुँदा निर्माण गरिएका संरचना भत्किएका छन्।  पछिल्लो समय विमानस्थल टिकटक र पर्यटन गन्तव्यमा सीमित भएको छ। गुल्मी जिल्लाको गौरवको आयोजना मध्ये एक हो रेसुङ्गा विमानस्थल। निर्माण सुरु गरिएको १५ वर्षमा विमानस्थल निर्माणको काम सकिएपनि विमान उड्ने छाँटकाँट नहुँदा विमान चढ्ने सपना सपनामै सीमित भएको रेसुङ्गा नगरपालिका १० कि रमिता अर्यालले बताउनुभयो। उहाँले भन्नुभयो, “विमानस्थल बन्यो अव जहाज उड्ला भनेको त उल्टो भवन तथा संरचना तोडफोड हुन थाले।” राज्यको करोडौं लगानी बालुवामा पानी सरह भएको स्थानीय यादव पाण्डेले गुनासो गर्नु भयो। “निर्माण सुरु भएपछि १५/१६ वर्ष निर्माणाधीन अवस्थामा भएकाले चित्त बुझाएर बस्यौँ ,” स्थानीय पाण्डेले भन्नुभयो, “विमानस्थल नियमित उडान हुनेमा आशंका थपिएको छ। नियमित उडान भएमा गुल्मीसँगै छिमेकी जिल्लालाई निकै ठूलो सेवासुविधा हुने थियो।”

विमानस्थल सञ्चालनमा नआएपछि विमानस्थलमा नाचगान गर्ने, सवारी सिक्ने, टिकटक बनाउने, फोटा खिच्ने लगायतका गतिविधि हुन थालेका छन्। निर्माण सुरुभएसंगै पटक पटक विमानस्थलबाट नियमित उडान आशा देखाएपनि निर्माण सकिएको महिनौं बितिसक्दा समेत उडान हुन् नसकेको गुल्मी रेसुङ्गा नगरपालिका ११ का बल बहादुर पुनले बताउनुभयो। पुनले भन्नुभयो, “जिल्लाका नेताले प्रत्येक नयाँबर्ष र दशैंमा नियमित विमान उडाउने भन्दै भाषण र सपना बाडे तर अहिले आएर त्यो भ्रम मात्रै भयो।” जिल्लामा स्वास्थ्य सेवा र पहाडका सडक भरपर्दो नहुँदा हवाई यात्रा छिटो र भरपर्दो मानिन्छ। राज्यले विमानस्थल निर्माणको लागि करोडौं लगानी गरेपनि बालुवामा पानी जस्तै भएको स्थानीयको आरोप छ। विमानस्थललाइ देखाएर विभिन्न राजनितिक दलका नेताले चुनाव जितेका छन् तर बषौं वितेपनि जनताले हवाईयात्राको अवसर भने पाएका छैनन्।

बजार सम्भाव्यताको अध्ययन नै नगरी लहडका भरमा बनाइएका नेपालका अनेकन विमानस्थल जसरी नै रेसुङ्गामा जहाज उड्ने बाहेक नाचगान गर्ने, सवारी सिक्ने, टिकटक बनाउने, फोटा खिच्ने लगायतका सबै काम हुन्छ।

धावनमार्गको अवस्था

रेसुङ्गा विमान स्थल धावनमार्गको ५ सय २० मिटर लम्बाइ र चौडाइ २० मिटर रहेको छ। विमानस्थलको पार्किङ ६० मिटर लम्बाइ ३० चौडाइ रहेको छ। हाल विमानस्थलमा वरिपरि टेवा पर्खाल ,धावन मार्गको कालोपत्रे, वाह्य ढल निर्माण, टर्मिनल भवन निर्माण र रनवे मार्किङ लगायतका काम सकिएको छ। धावनमार्ग निर्माण गर्दा स्थानान्तरण गरिएका परिवारका कम्तिमा एकजना सदस्यलाई रोजगारी दिने भनेपनि विमानस्थल नै सञ्चालनमा नआएपछि स्थानीय पनि निराश छन्।

b 4
dengu 3 1

विमानस्थलको सुरक्षाका लागि नगरपालिकाबाट एकजना नगरप्रहरी खटाइएको छ। राजनीतिक नेतृत्वले विमानस्थलको नियमित सञ्चालनका बारेमा धेरै पटक प्रतिवद्धता जनाएपनि त्यस्ता प्रतिवद्धता कार्यान्वयन हुन सकेका छैनन्।

रेसुङ्गा विमानस्थल निर्माणको लागि मुआब्जा दिने गरि  १४ घर बस्ती बिस्थापित र २८ घर परिवारको जग्गा अतिक्रमण गरि विमान स्थल निर्माणको काम थालिएको थियो। उनीहरूले मुआब्जा पाए भने कसैले अन्य जग्गा दिएर घर बनाएर बसेका छन्।

वि.सं २०६३ सालमा तत्कालीन पर्यटनमन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गरेको रेसुंगा विमानस्थल गत वैशाखमा निर्माण सम्पन्न भएको हो। जग्गा अधिग्रहण र बजेट अभावका कारण सुरुको करिब ७/८ वर्ष विमानस्थल निर्माणले गति लिन सकेको थिएन। त्यसपछि २०७२ सालबाट निर्माणको काम नियमित भएपछि विमानस्थलको भौतिक संरचना तयार भएको हो। विमानस्थलमा २५ जेठ २०७५ मा तारा एयरको विमानले कच्ची उडान गरेको थियो।

रेसुंगा विमानस्थल रौताह हरिहरि जेभी र बोकोई श्रेष्ठ कन्स्ट्रक्सन जेभीले विमानस्थलको भौतिक संरचना निर्माणको कामगरेका थिए। कुल ३५ करोड लागतमा रेसुंगा विमानस्थल भएको आयोजनाका सहायक आयोजना प्रमुख इन्जिनियर दिनेश परियारले बताउनुभयो। शिलान्यासको समयदेखि जग्गा अधिग्रहण, विस्थापितलाई स्थापितदेखि तारजाली, धावनमार्ग, टर्मिनल भवन र कन्ट्रोल टावरलगायतका काममा उक्त रकम खर्च भएको हो। १ सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको उहाँले बताउनु भयो।

रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले विमानस्थल नियमित सञ्चालन गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग छलफल गरेको बताउनु भयो। गुल्मेलीको भाग्य र भविष्यसँग जोडिएको विमानस्थलको नियमित उडानका लागि गम्भीर भएर लागेका छौं,” नगरप्रमुख पन्थीले भन्नुभयो। उहाँले गुल्मेली जनतालाई हवाई सेवा प्रदान गर्न आफू आतुर रहेको भन्दै मन्त्रालय र प्राधिकरणसँग सहमति भइसकेको बताउनु भयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

b 4
budd 1 1
1 Comment
  1. Lumbini Today says

    यस्तै कहानी अर्घाखाँचीमा पनि हुंदै छ ।

Leave A Reply

Your email address will not be published.