बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकाे प्रधानमन्त्री देउवा द्वारा उद्घाटन

74

बुटवल । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) को उद्घाटन भएको छ ।एक अर्ब ३ करोड लागतमा बनेको कुल २७ सय जना क्षमताको सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गरेका हुन् ।सम्मेलन केन्द्र उद्घाटनमा रुपन्देही-२ का सांसद पूर्वअर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकासमन्त्री मेटमणि चौधरी र लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीलगायत सहभागी थिए ।बुटवल राजमार्ग चौराहादेखि ५०० मिटर पूर्वतर्फ बुटवल-१०स्थित बुटवल मण्डपको साढे ९ बिघा क्षेत्रफलमा एकहजार जना क्षमताको मुख्य हल र अन्य १२ वटा हल सहितको सम्मेलन केन्द्र बनेको हो ।नेपाली आर्किटेक्ट इन्जिनियरहरुबीच प्रतिस्पर्धाबाट उत्कृष्ट आर्किटेक्टले सम्मेलन केन्द्रको डिजाइन गरेका हुन् ।

संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभागले १ अर्ब ११ करोडको लागतमा बनाएको सम्मेलन केन्द्रमा १३ वटा वातानुकुलित हल छन् ।आकाशबाट हेर्दा नेपालको राष्ट्रिय झन्डा आकारमा तयार पारिएको सम्मेलन केन्द्रको मुख्य हल (अडिटोरियम हल) मा बाल्कोनी र भुईं तलामा गरी ८७२ वटा कुर्ची जडान गरिएको छ ।२०७१ साल पुसबाट निर्माण सुरु गरिएको सम्मेलन केन्द्र दुई चरणमा सम्पन्न भएको हो । कोरोना महामारी र रुख कटानमा ढिलाईका कारण प्रभावित आयोजनाको दोस्रो चरणका काम २०७६ कार्तिकसम्म पूरा गर्ने गरी २०७४ सालमा सम्झौता भएको थियो ।तोकिएको समयमा काम नगरेपछि २०७९ साल कात्तिकसम्म म्याद थप गरिएको थियो । थप भएको म्याद अगावै २०७९ असारमै निर्माण सम्पन्न भएको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए ।

यस्तै सम्मेलन केन्द्रमा ५० र ४२ सिट क्षमताका दुईवटा लेक्चर हल तथा ८० र ३०० जना क्षमताका सेमिनार हल छन् । यस्तै ७२ जनादेखि १२६ जना क्षमताका ६ वटा मिटिङ हल, तथा ३५० र ५८६ जना क्षमताका थप २ वटा हल छन् । सबै हलमा एक पटकमा २९ सय जना अटाउन सक्ने आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए ।

सम्मेलन केन्द्रका १७ सय कुर्सी आवश्यकता अनुसार सार्न मिल्ने छन् । अपांगमैत्री सम्मेलन केन्द्रमा चार सयवटा चार पाङ्ग्रे र ४ सयवटा मोटरसाइकल राख्न मिल्ने गरी पार्किङ स्थल र हेलिप्याड समेत बनाइएको छ ।सम्मेलन केन्द्रमा बाल उद्यान, क्यान्टिन, सर्भिस भवन, ३ तले कर्मचारी आवास,वाटर फाउन्टेन,पानी पोखरी र प्रवेश हुने र बाहिरिने गरी ५ वटा वटा अलग अलग गेट बनेका छन् । जसमध्ये एउटा भीआईपी गेट छ । गेटमा सुरक्षागार्ड घर र टिकट काउण्टर समेत बनाइएको छ ।विद्युतका लागि ६ सय ३० केभिए क्षमताको ट्रान्सर्फमर र खानेपानीका लागि बोरिङ पनि छुट्टै बनाइएको छ । सम्मेलन केन्द्र प्रवेश गर्दा आकर्षक बनाउन केही भागमा दुबो लगाइएको छ भने सभाहल अगाडि पोखरी निर्माण गरिएको छ । जमिन मुनिको पानी रिचार्ज गर्न ८ वटा रिचार्ज पीट पनि बनाइएको छ ।

सम्मेलन केन्द्रसँगैको ६ बिघा जग्गामा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र समेत बन्दै छ। औद्योगिक ब्यापार मेलाहरु सञ्चालन गर्न प्रदर्शनी केन्द्र बनाइएको हो । प्रदर्शनी केन्द्र र सम्मेलन केन्द्र दुबैलाई मिल्ने गरी पार्किङ स्थल र प्रवेशद्वार बनेका छन् । सम्मेलन केन्द्र बनेसँगै सानादेखि ठूला सम्मेलन र सेमिनारहरु गर्न ठाउं अभावको समस्या हट्ने छ ।नेकपा एमालेको बुटवलमा भएको आठौ. महाधिवेशनले बुटवल मण्डपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन आवश्यक रहेको एजेण्डा पारित गरे अनुरुप आफूले बुटवलको ‘ड्रिम पोजेक्ट’का रुपमा यो योजना अघि बढाएको र आफ्नै पहलमा वजेट विनियोजन गरेको पूर्वअर्थमन्त्री समेत रहेका रुपन्देही-२ का प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले बताए ।

सम्मेलन केन्द्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा योजना छनौट, गुरुयोजना र डीपीआर निर्माण, वजेट विनियोजन, बहुवषिर्य ठेक्काको लागि सहमति लगायतका काममा आफूले अगुवाई गरेको पौडेलले बताए ।सम्मेलन केन्द्रसँगै बुटवल मण्डपभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल पनि सम्पन्न हुंदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा, सम्मेलन, औद्योगिक ब्यापार मेला, प्रदर्शनी, बैठक र कार्यक्रमहरु आयोजना भई रुपन्देहीको आर्थिक विकासमा थप मद्दत पुग्ने पौडेलले विश्वास व्यक्त गरेका छन् । आयोजना छनौटदेखि निर्माण सम्पन्न हुने चरणसम्म ल्याउन योगदान गर्ने सबैप्रति पौडेलले धन्यवाद दिएका छन् ।

कार्यविधि नबन्दा सञ्चालनमा अन्योलता

निर्माण सम्पन्न भइसकेको सम्मेलन केन्द्र सञ्चालनको लागि कार्यविधि नबन्दा कहिलेदेखि सञ्चालन हुन्छ भन्ने अन्योलता छ । कार्यविधि नबन्दासम्म सम्मेलन केन्द्र हस्तान्तरण गर्न समेत नमिल्ने भएकाले सञ्चालन हुन समय लाग्ने देखिन्छ ।सम्मेलन केन्द्र सञ्चालनमा वाषिर्क ३ करोड बढी खर्च आउने आयोजना प्रमुख पन्थीले बताए ।

निकै ठूलो खर्च रहेकाले दिगो सञ्चालन कसरी गर्न सकिन्छ भनेर उपयुक्त कार्यविधि बनाउने क्रममा रहेको उनले बताए ।सकेसम्म निजी क्षेत्रलाई मात्रै नदिएर सार्वजनिक निजी साझेदारी मोडेलमा सञ्चालन गर्ने गरी संघ, प्रदेश र स्थानीय तहका सरकारबीच सञ्चालन मोडालिटीबारे छलफल भइरहेको आयोजना प्रमुख पन्थीले बताए ।बुटवल प्रदेशको राजधानी हुने अनुमानका साथ सम्मेलन केन्द्र बनाइए पनि स्थायी राजधानी दाङको भालुुवाङ तोकिएकाले सम्मेलन केन्द्र सञ्चालनमा चुनौती हुुनसक्ने देखिएको छ ।

Leave A Reply

Your email address will not be published.