गरिब र असहायलाई नि:शुल्क सेवा दिँदै लुम्बिनी प्रादेशिक अस्पताल

38

लुम्बिनी प्रादेशिक अस्पताल असहाय र विपन्न वर्गका लागि सहारा बनेको छ। यस अस्पतालमा आएका कुनै पनि बिरामीले आर्थिक अभावकै कारण उपचार नपाएर फर्किनु परेको छैन। अस्पतालको सामाजिक सेवा एकाइबाट उनीहरूको उपचार नि:शुल्क गर्ने गरिएको छ। आर्थिक वर्ष २०७८/७९ मा १० हजार ५ सय जनाले यस अस्पतालबाट नि:शुल्क उपचार सेवा लिइसकेका छन् । सम्बन्धित पालिकाले दिएको सिफारिस तथा परिचयपत्रको आधारमा बिरामीलाई नि:शुल्क उपचार, खाना र आवश्यकता अनुसार आउने जाने भाडा समेत उपलब्ध गराइरहेको अस्पतालले जनाएको छ।यस अस्पतालबाट अहिलेसम्म गरिब, असहाय, लैंगिक हिंसाबाट प्रभावित, जेष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंम्सेविका, कुपोषित, शहीद परिवार, प्राकृतिक प्रकोप प्रभावित, थुनुवा र दुर्घटनामा परेर घाइते भएकालाई प्राथमिकतामा राखेर उपचार सेवा उपलब्ध गराउँदै आएको सामाजिक सेवा एकाइ प्रमुख नेत्रप्रसाद आचार्यले बताउनुभयो ।

अस्पतालले उल्लिखित वर्गका बिरामीहरूको परीक्षण, बेड, अप्रेशन र औषधीका लागि आवश्यक प्रबन्ध गर्दै आएको छ । यस सेवाका लागि अस्पतालले २ करोड भन्दा बढी खर्च गरेको आर्चायले बताउनुभयो । गरिबले सेवा पाउन गाउँ /नगरपालिका र वडाको सिफारिस ल्याउनुपर्ने हुन्छ । त्यस्तै जेष्ठ नागरिकले बृद्धभत्ता पाउने कार्ड वा नागरिकता लगायत उमेर खुल्ने परित्रयपत्र र महिला स्वयम् सेविकाको परिचयपत्रको आधारमा पनि उपचार सेवा पाउने गरेका छन् ।नेपाल सरकारले अपांगहरूलाई ४ वर्गमा विभाजन गरेको छ । ती मध्ये २ खालकालाई ५० प्रतिशत नि:शुल्क सेवा उपलब्ध गराउने गरिएको आर्चायले बताउनुभयो । त्यस्तै शहीद परिवारलाई नि:शुल्क उपचार सेवाका साथै आउन जानका लागि यातायात खर्चसमेत दिइने गरेको उहाँले बताउनुभयो ।

dengu 3 1

गुल्मीका बिनोद नेपालीले आर्थिक अभावका कारण पाल्पाको प्रभास अस्पतालबाट फिर्ता हुनु परेको थियो । त्यसपछि उनी लुम्बिनी प्रादेशिक अस्पतालमा जिल्ला प्रशासन कार्यालय गुल्मीको सिफारिस लिएर पुग्नु भएको थियो । अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइरहेका विनोदको कुरुवा बसेका उनका काका भीमबहादुर नेपाली भन्नुहुन्छ– ‘प्रभास अस्पतालले हाम्रो क्षमताभन्दा धेरै पैसा मागेपछि केही उपाय नभएकाले मृत्यु कुर्न बाध्य भएर फर्किएका थियौं । गुल्मी अस्पतालमा फर्केपछि इस्मा गाउँपालिकाका प्रमुख भगत सिंह खड्का, प्रमुख जिल्ला अधिकारी र त्यस अस्पतालका इन्चार्ज लगायत धेरैले सहयोग गर्नु भयो । अन्तत: हामीले माया मारेको मान्छे (विनोद) लाई बचाउन सक्यौं ।’

विनोद र उनका काका साउन २६ गते लुम्बिनी प्रादेशिक अस्पताल आइपुग्नुभएको हो । यहाँ आएदेखि यस अस्पतालका मेसु इन्द्र ढकाल अन्य डाक्टर र सिस्टरहरू ले छिनछिनमा आएर हेरचाह–उपचार गरिरहनु भएको छ । यसबापत उहाँहरूले अहिलेसम्म पैसा खर्च गर्नु परेको छैन ।विनोदका काका भीमबहादुर नेपाली भन्नुहुन्छ         – ‘अहिले विनोद मृत्युको मुखबाट फर्किसकेको छ, अब बाँचेपछि त केही गरेर खाला । मानिसहरूले सरकारी अस्पताल भनेर मुख खुम्च्याउँथे तर वास्तवमा हामीलाई चाहिने त सरकारी अस्पताल पो रहेछ ।’ हामीजस्तै अरु गरिबले पनि आर्थिक अभावकै कारण मर्ने स्थिति नआओस्, यस्तो सेवा सबैले पाइरहुन्– भीमबहादुर नेपालीले भन्नुभयो ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालले गत ३ आर्थिक वर्षमा पहिलो वर्ष ५८ सय, दोस्रो वर्ष ७७ सय र तेस्रो वर्ष अहिले १० हजार ५ सय जनाले सेवा पाइसकेको बताउनुभयो । यस अस्पतालमा आर्थिक अभाव, असहाय, बेसहारा भएकै कारणले उपचार पाउनबाट बञ्चित हुनुपर्ने अवस्था नरहेको ढकालले बताउनुभयो ।
कुन कुन बर्गका बिरामीलाई कति छुट दिइन्छ ?
—अति विपन्न र ८५ वर्ष भन्दा माथिकालाई परिचयपत्र र सिफारिसको आधारमा पूरै नि:शुल्क
—गरिबलाई ५० प्रतिशत छुट
—अपाङ्ग (रातो कार्डवाला) लाई पूरै नि:शुल्क
— अपाङ्ग निलो कार्डवालालाई ५० प्रतिशत
—थुनुवा वेवारिसेलाई पूरै नि:शुल्क
—मानवसेवा आश्रमकालाई पूरै नि:शुल्क
—जेष्ठ नागरिकको हकमा ६० देखि ६९ वर्षसम्मकालाई ५० प्रतिशत
—७० देखि ७९ वर्षसम्मका जेष्ठ नागरिकलाई ७५ प्रतिशत नि:शुल्क
—८० वर्षदेखि माथिका सबैलाई नि:शुल्क उपचार
—लैंगिक हिंसा प्रभावितलाई पूरै नि:शुल्क
—सीमान्तकृत तथा लोपोन्मुखलाई ५० प्रतिशत नि:शुल्क
—महिला स्वयमसेविकालाई ५० प्रतिशत नि:शुल्क
—शहीद परिवारलाई पूरै नि:शुल्क साथमा आउन–जान यातयात खर्च पनि ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.