जुम्ला । जुम्लाका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न चटारो परेको छ । स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिए ।बगैँचाको स्याउ टिपेर बिक्री गर्न थालिएको छ । उनले भने, ‘स्थानीय जातको स्याउ र गोल्डेन जातका स्याउ लगाएको छु । स्थानीय जातको जुम्ली स्याउ पाक्न थालेको छ । घरमै प्रतिकेजी ६० मा बिक्री सुरु गरेका छौँ गाउँकै स्थानीय व्यापारीले सुर्खेत, नेपालगञ्ज लैजाने गरेका छन् ।’
किसानले अर्डरअनुसार बिक्री गर्ने हो । अहिले जिल्लाको स्याउ तराईका विभिन्न सहरमा जाने गरेको जुम्लाका स्याउ किसान बताउँछन् ।कृषि विकास कार्यालय जुम्लाले जिल्लाका किसानदेखी उद्यमी र समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको छ । गोल्डेन जातको स्याउ असोजदेखि राम्रोसँग पाक्ने हुँदा अहिले स्थानीय जातको र गोल्डेन जातको स्याउ मिलाएर व्यापारीले लिने गरेका छन् ।एक सय पाँच क्विन्टल स्याउ सुर्खेत र अछाममा बिक्री गरी १२ लाख बराबरको कारोबार भएकोे तिला गाउँपालिका–२ मा रहेको कृषि सङ्कलन केन्द्रका व्यवस्थापक मानबहादुर बोहोराले जानकारी दिए ।जिल्लामा कति प्रतिशत स्याउ उत्पादन भएको छ र कति प्रतिशत स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ भन्ने तथ्याङ्क सङ्कलनमा स्थानीय तहका कृषि शाखासँग समन्वय भइरहको बताइएको छ ।
गत वर्षभन्दा यो वर्ष स्याउ उत्पादन केही बढेको अनुमान गरिएको छ ।जिल्लाका आठवटै स्थानीय तहमा स्थानीय जातको जुम्ली स्याउ, इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउको खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ ।