मुख्यमन्त्री र नेताका आफन्तकाे नाममा गण्डकी प्रदेशमा करोडौं बजेट

84

 पोखरा । गण्डकी सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले सरकारी बजेट आफ्ना दिवंगत आफन्तको नाममा कोष र पार्क बनाउन विनियोजन गरेको पाइएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, मन्त्री मेषलाल श्रेष्ठ, कांग्रेस केन्द्रीय नेता अर्जुनप्रसाद जोशी, कांग्रेस नेतृ सीताकुमारी काफ्ले लगायतले प्रदेश सरकारको बजेट दिवंगत आमाबाबुको नामको योजनामा पारेका छन् ।मुख्यमन्त्री पोखरेलले दिवंगत बाबु गोवद्र्धन शर्माको नाममा स्मृति पार्क बनाउन ५० लाख रुपैयाँ विनियोजन गरेका छन् । यो रकमबाट प्रदेशको सामाजिक विकास मन्त्रालयले तनहुँको व्यास नगरपालिकामा पार्क बनाउनेछ ।

प्रदेशका सामाजिक विकासमन्त्री मेषलाल श्रेष्ठको मातापिता पुननारायण, धनकुमारी श्रेष्ठको नाममा रहेको ट्रस्टका लागि प्रदेश सरकारले दुई फरक शीर्षकमा १ करोड रुपैयाँ विनियोजन गरेको छ ।उक्त ट्रस्टको भवन बनाउन भौतिक पूर्वाधार मन्त्रालयबाट कार्यान्वयन हुने गरी ५० लाख र ट्रस्टकै नाममा ‘छुटेको कार्यक्रम’ अन्तर्गत पुनः ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । उक्त बजेटको कार्यान्वयन भने मन्त्री श्रेष्ठकै सामाजिक विकास मन्त्रालयले गर्नेछ । ट्रस्टको भवन मन्त्रीको गृहजिल्ला स्याङ्जा भीरकोटमा बन्नेछ ।त्यस्तै, कांग्रेसका गण्डकी प्रदेश सभापति अर्जुनप्रसाद जोशीको पिताको नाममा पनि बजेट विनियोजन भएको छ । उनका स्वर्गीय बुवा अमृतप्रसाद जोशीको नाममा स्मृति पार्क बनाउन २० लाख रुपैयाँ विनियोजन भएको छ । उक्त पार्क पर्वतको कुश्मा नगरपालिकामा बन्ने छ ।

पर्वतमै स्मृति प्रतिष्ठान गठन गरी कांग्रेसका स्वर्गीय नेता डिल्लीराम लामिछानेको नाममा पनि बजेट विनियोजन भएको छ । उक्त प्रतिष्ठानका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरेको छ । लामिछाने कुश्माकी निवर्तमान उपमेयर सीताकुमारी काफ्लेका श्रीमान हुन् । उक्त बजेटको कार्यान्वयन भौतिक विकास मन्त्रालयले गर्नेछ ।यस्तै, मुख्यमन्त्री पोखरेलकै बाबुको नाममा दमौली अस्पतालमा रहेको ‘गोवद्र्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’बारे सम्भाव्यता अध्ययन गर्ने भन्दै १० लाख रूपैयाँ विनियोजन गरिएको छ ।

विपीको नाममा १२ ठाउँमा पार्क !

प्रदेश सरकारले नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाका नाममा गण्डकी प्रदेशका १२ ठाउँमा पार्क र भवन बनाउने भएको छ । त्यसका लागि अर्थमन्त्री रामजी बरालले १ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् ।त्यसबाहेक प्रदेश सरकारले कास्कीको सिक्लेसमा शान्ति स्मारक पार्क बनाउन १ करोड, पोखरा २८ मा थमन स्मृति पार्क बनाउन १० लाख, माछापुच्छ«ेमा हरिबहादुर स्मृति पार्क बनाउन १० लाख, तनहुँको बन्दीपुरमा शहीद स्मृति पार्क बनाउन ५ लाख, भानुमा १० लाख, पर्वतको फलेबासमा ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

मातापिताको नाममा खुलेको ट्रस्टलाई बजेट विनियोजन भएकोबारे चर्को आलोचना भएपछि सामाजिक विकासमन्त्री श्रेयठले सामाजिक सञ्जालमा स्टाटस लेख्दै फिर्ता गर्न अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।‘यो शीर्षकको बजेट आगामी वर्षको बजेटबाट हटाई स्रोत व्यवस्थापन गर्न नपर्ने म अर्थमन्त्रीज्यूलाई अनुरोध गर्दछु,’ मन्त्री श्रेष्ठले लेखेका छन्, ‘मेरो बुवाआमाको नाममा रहेको ट्रष्टको उद्देश्य अनुरुप सदैव कार्य गर्ने, गराउनेछु । मैले अब यो शीर्षकको बजेट फिर्ता लिने प्रतिवद्धतासमेत गर्दछु ।’

छुटेका कार्यक्रम समावेश गरिएको भन्दै प्रदेश सरकारले ल्याएको सेतो किताबमा मन्त्री, नेताका आफन्तको नाममा पार्क तथा भवन बनाउन बजेट विनियोजन भएको हो । उक्त पुस्तकमा २७ करोड रुपैयाँका योजना समावेश गरिएका छन् । सेतो पुस्तकबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा जवाफ मागेको छ ।

Leave A Reply

Your email address will not be published.