[the_ad id=”18762″][the_ad id=”18763″] काठमाडाैँ । नेपालले व्यापार घाटामा सालिन्दा नयाँ नकारात्मक कीर्तिमान बनाइरहेको छ । देश यति परनिर्भर भइसकेको छ कि गृहयुद्धका कारण थिलोथिलो भएर पछाडि परेका थुप्रै अफ्रिकी मुलुकसँग समेत नेपालले घाटाको व्यापार गर्दै आएको छ । नेपालले अहिले विश्वका १६५ भन्दा बढी देशसँग वैदेशिक व्यापार गर्छ । चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकलाई आधार मान्दा १३७ देशसँग नेपालले घाटाको व्यापार गर्छ । अर्थात् ती देशबाट नेपालले धेरै सामान खरिद र थोरै सामान मात्र पठाउने गर्छ ।
युद्धका कारण आर्थिक स्तरमा पछाडि रहेका थुप्रै अफ्रिकी मुलुकसँग नेपालले घाटाको व्यापार गर्दै आएको छ । गरिबीसँग जुधिरहेको सोमालियासँग नै घाटाको व्यापार गरिरहेको भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिना (साउन–जेठ)को तथ्यांकमा देखिन्छ ।तथ्यांकअनुसार बितेको ११ महिनामा नेपालले सोमालियाबाट ३ लाख ४३ हजार रुपैयाँ मूल्यको वस्तु आयात गरेको छ । तर नेपालबाट एक रुपैयाँको पनि वस्तु तथा सेवा सोमालियाले लिएको छैन ।
नेपालको अफ्रिकी मुलुक सुडानसँग समेत व्यापार घाटा छ । ११ महिनाको अवधिमा नेपालले सुडानमा ९ लाख ३६ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । तर, सुडानबाट नेपालले १२ करोड ६ लाख रुपैयाँ मूल्यको वस्तु तथा सेवा आयात गरेको देखिन्छ । यस हिसाबमा सुडानसँग नेपालको व्यापार घाटा ११ करोड ९६ लाख रुपैयाँको छ ।दक्षिण एसियाली मुलुक भुटानसँग पनि नेपालको ठूलो अन्तरको व्यापार घाटा छ । भुटानमा नेपालले ४१ करोड ९६ लाख ९५ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । तर, भुटानबाट आयात भने १ अर्ब २१ करोड ६१ लाख ९१ हजार रुपैयाँ बराबरको भएको छ । ११ महिनामा भुटानसँग ७९ करोड ६४ लाखको व्यापार घाटा छ ।
चालु आर्थिक वर्षको ११ महिनामा १७ खर्ब ६३ अर्ब ३२ करोडको आयात गर्दा नेपालले १ खर्ब ८५ अर्ब ८३ करोडको वस्तु निर्यात गरेको छ । ११ महिनामै व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३८ करोड नाघेको छ । यो गतवर्षको यही अवधिको तुलनामा २५ प्रतिशतले बढी हो ।११ महिनामा भारतसँग नेपालको व्यापार घाटा ९ खर्ब ५५ अर्ब रुपैयाँको छ । चीनसँग २ खर्ब ४३ अर्ब, इन्डोनेसियासँग ४६ अर्ब २१ करोड, यूएईसँग ४३ अर्ब ५३ करोड, अर्जेन्टिनासँग ३७ अर्ब १९ करोड, अमेरिकासँग ३१ अर्ब ७६ करोडको व्यापार घाटा छ ।त्यसैगरी अष्ट्रेलियासँग २२ अर्ब २३ करोड, युक्रेनसँग २० अर्ब ८१ करोड, मलेसियासँग १६ अर्ब र ब्राजिलसँग १२ अर्ब ३२ करोडको व्यापार घाटा छ ।[the_ad id=”18764″][the_ad id=”18748″]