नेपालले आफ्नाे भू–भाग चाहियाे भन्नु कुनै देशसँगकाे सम्बन्ध बिगार्नु हाेइन : केपी ओली

65

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै देशले आफ्नो भू–भाग चाहियो भन्नु अर्घेल्याइँ नभएको स्पष्ट पार्नुभएको छ । अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धिपछि नेपालले भोगचलन गर्दै आएको भू–भाग भएको उल्लेख गर्दै त्यो चाहियो भन्नु अर्घेल्याइँ नभएको बताउनुभएकाे हो ।

आज मङ्गलवार पूर्वराजदूतहरूको समूहले काठमाण्डाैमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै उहाँले छिमेक सम्बन्धलाई सुदृढ बनाउनकै लागि आफूले भौगोलिक अखण्डताको सवालमा प्रधानमन्त्री हुँदा भारतसँग उच्चस्तरीय वार्ता गरेको र राजनीतिक खचपच नभएको भए अहिलेसम्म लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूगोल भइसक्ने जस्तो आफूलाई लाग्ने गरेको पनि बताउनुभयो ।अध्यक्ष ओलीले राष्ट्रिय हितको पक्षमा खुलस्त भएर कुराकानी गर्दामात्रै देशहरूको बीचको सम्बन्ध अझ सुदृढ हुने कुरा आफूले उच्चस्तरीय वार्ताको क्रममा पटक–पटक राखेको पनि स्मरण गराउनुभयो ।

उहाँले भन्नु भयो, ‘छिमेक सम्बन्ध सुमधुर र सुदृढ राख्नुपर्छ । पारस्परिक सम्मान, पारस्परिक लाभको आधारमा छिमेक सम्बन्ध बढाउनुपर्दछ । मैले हाम्रा छिमेकीहरूसँग उच्चस्तरमा संवाद गर्दा यी कुराहरू राखे । २१ औँ शताब्दीमा हामीले समस्याहरू भन्न नसकेर, बोल्न नसकेर वा सरकारमा बस्नेहरूले आफ्नाा सत्ता स्वार्थलाई केन्द्र भागमा राखेर राष्ट्रिय हितहरूको प्रश्नमा सौदाबाजी गर्नु हुन्न । राष्ट्रिय हितको पक्षमा उभिनुपर्छ । खुलस्त पनि हुनुपर्छ । लिम्पियाधुरा, लिपुलेक, कालापानीको कुरा गर्ने हो भने सुगौली सन्धिपछि एक सय ४६ वर्ष हामीले भोगचलन गरेको भू–भाग हो । त्यसपछि एउटा समय सन्दर्भमा कालापानीमा भारतीय फौज आएर बस्यो र साठी वर्षदेखि त्यहाँ छ । कालापानीमा भारतीय फौज भएको हुनाले लिपुलेक र कालापानीमा हामी प्रवेशै गर्न पाएनौँ । यो हाम्राे भू–भाग हो । यसमा हामीले अर्घेल्याइँ गर्‍याैँ कि भन्ने ठान्नुपर्ने कुनै आवश्यकता छैन ।

अध्यक्ष ओलीले हामीले आफ्नो भूगोल चाहियो भन्नु कुनै राष्ट्रसँगको सम्बन्ध बिगार्नु नरहेको पनि पटक–पटक दोहोर्‍याउनुभयो ।

Leave A Reply

Your email address will not be published.