‘मानवताका लागि योग’ भन्ने नाराका साथ आज विश्व योग दिवस मनाइँदै

64

काठमाण्डौ । आज विश्व योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्ष ‘मानवताका लागि योग’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २०१५ देखि हरेक वर्षको जुन २१ तारिखमा विश्वभर योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले दिवसको घोषणा गर्न पहिलो पटक प्रस्ताव गर्नुभएको थियो ।यो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोईरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य देशले समर्थन गरेका थिए । नेपालमा २०४८ साल चैत १५ गतेदेखि काठमाण्डौको नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो ।

नेपाल संस्कृत विश्वविद्यालयमा ६ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । योग व्यक्तिको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास हो । आधुनिक चिकित्सा पद्धतिले रोग लागिसकेपछिको उपचार अनि शारीरिक पक्षहरूलाई महत्त्व दिन्छ । तर योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण र अध्यात्मिकतामा महत्त्व दिँदै आएको छ । हाम्रो सामाजिक र सांस्कृतिक जीवनशैलीसँग जोडिएका वास्तुकला, चित्रकला र मूर्तिकलामा योगको प्रत्यक्ष उपस्थिति पाइन्छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण नेपालीमा सुख, शान्ति तथा सु–स्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।उहाँले योगलाई हाम्रो शिक्षाको अङ्गका रूपमा विकास गर्दै यसबारे हुने अध्ययन अनुसन्धानलाई थप सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.