संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सर्वोच्च अदालतले रोक लगाइसक्दा पनि कतिपय मन्त्रीहरुले सो विमानस्थल बन्छ भनेकोप्रति आक्रोश पोखेका छन् ।आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवन शिलान्यास गर्दै मन्त्री आलेले निजगढ विमानस्थलमा रोक लगाउने फैसला गरेर न्यायपालिकाले कार्यपालिकामा हस्तक्षेप गरेको बताए । तर पनि कतिपय मन्त्रीहरुले निजगढ एयरपोर्ट बन्छ भनेकोमा उनले आक्रोश व्यक्त गरे ।
उनले भने, ‘आज कतिपय मन्त्री साथीहरुले निजगढ एयरपोर्ट बन्छ भनेका छन्, के दाँत फुकालेर गर्ने ? दाँत फुकालेर एयरपोर्ट बन्छ ?’उनले बजेट पनि कम दिइएको गुनासो गरे । मन्त्री आलेले भने, ‘बजेट दिने बेलामा २६ करोड रुपैयाँ दिने, एक खर्ब २० अर्बको लागत अनुमान छ । २६ करोड रुपैयाँमा बन्छ ? तर हामीले २६ करोड बजेट पाएका छौं । उनले एयरपोर्ट बन्छ भन्नेहरुलाई भन्न चाहन्छु, यस्ता कुरा नगरौं आजबाट ।’निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रियामा अहिलेसम्म ३ खर्ब र सो विमानस्थलाई जोड्ने काठमाडौं–मधेश फास्टट्रयाकका लागि २ खर्ब खर्च भइसकेको भन्दै मन्त्री आलेले मधेसलाई राजधानीसँग जोड्न नचाहने गरी सर्वोच्चको फैसला आएको टिप्पणी गरे । उनले भने, ‘मधेसी जनता जहिल्यै रैती हुनुपर्ने अवस्था देख्दैछु मैले । मधेसलाई राजधानीसँग जोड्न नचाहने ? मधेसमाथि विभिन्न ठाउँबाट हस्तक्षेप भएको छ ।’