कथाः बल र वुद्धि हाम्रो आवश्यकता

40
biddhut
गीता केशरी
                       गीता केशरी
dengu 3 1

अमर, सानो काँटीको केटो। के गरोस्– उसले कुनै उपायले पनि आफ्नो उचाइ बढाउन सकेन। कसैले उसको परिचय दिनुपर्‍यो भने उसको नामबाट होइन, त्यही वित्ते, वित्ताभरको छ नि ? हो त्यही क्या– भन्थे। त्यसलाई चिनिनस् बोेल्नु पर्‍यो भने कस्तो फूर्ति लाउँदै बोल्नुपर्छ– त्यो भकुण्डेलाई। झन् अहिले त उचाइ होइन चौडाइ मात्र बढ्दा बढ्दै कस्तो डल्लो भएको छ। अझै मोटाइ बढ्दै छ अझ कस्तो पो देखिने हो ? कसैले भनेको मान्दैन ! खाना खानु पर्‍यो भने यताउति कतै हेर्दैन। संभवत दिमागमा खाना र आफू मात्र हुन्छ। रूचेको पनि कस्तो गरी नि ? आफ्नो अस्वाउँदिलो शरीरिक आकार जस्तै रवाफ पनि कहाँ कम छ र त्यसको। साथीहरूलाई भन्छ– म शिशुपाल जस्तो होइन भीमसेन जस्तो हुन चाहन्छु, बुझिस् ? एक हातले यता अर्को हातले उता हानेर म माथि आइलाग्नेलाई लाखापाखा लगाइदिन्छु। लौ त मलाई जिस्क्याउन कोही मेरो सामुन्ने आओस्, अन्टसन्ट कुराहरू बोलोस्।
नभन्दै उसँग सबै डराउँथे तर उसको शरीरको आकृति त्यस्तो भए पनि उसमा भएको ज्ञान र जिज्ञासा बुझिनसक्नुको छ। उ त्यत्तिकै संवेदनशील पनि छ। हरेक विषयमा ज्ञान छ। यो खुबी उसमा भएकाले नै उसलाई सबैले मान्थे, खोजी खोजी भेट्थे र आदर पनि गर्दथे। पछाडि फर्केपछि भने उसको शरीरको आकृतिलाई इङ्गित गर्दै हाँस्थे। उनीहरू भन्थे– बल र बुद्धि दुवैको आवश्यकता हामीलाई गति सञ्चालन र लक्ष्य पूरा गर्न जरुरी रहेछन्। यी नभएमा कुनै पनि काम सफल हुन सक्दैन। कुनै कुरा शक्तिले सञ्चालन गर्न तम्सिए पनि बुद्धिले पहिले लक्ष्य कोर्नुपर्छ र ती लक्ष्यहरू कति उपयोगी छन् त्यसैले त्यसको औचित्य निर्धारण गर्छ। लौ, भन त बल र बुद्धि दुवैको आवश्यकता हामीलाई गति सञ्चालन र लक्ष्य पूर्तिको लागि जरुरी रहेछ कि रहेन छ ?
यी खुबी नभई हाम्रा कुनै पनि काम सफल हुन सक्दैनन्। विचार गर कुनै कुरा शक्तिले सञ्चालन गर्न तम्सिए पनि बुद्धिले पहिले लक्ष्य कोर्नुपर्छ र ती लक्ष्यहरू कति उपयोगी छन् त्यसैले त्यसको औचित्य निर्धारण गर्छ।
यसैले बल र बुद्धि दुवै हाम्रो जीवनको सफलताको लागि आवश्यक छ। कोही बलवान छ भने त्यसलाई देखेर नहाँस। अर्कोले भन्छ– हामीले यसमा ध्यान नदिएका मात्र हौं सहायक खोज्नु भनेको थप शक्ति खोजेको त हो जुन बल र बुद्धि हुन सक्छ। यसमा अर्को समय र अवस्था पनि थपिनसक्छ।
अर्कोले समीक्षात्मक रूपमा भन्छ– ‘हो बल, वुद्धि, समय र अर्थ यी चारैको आवश्यकता कुनै पनि सिर्जनाको लागि नभई हुँदैन।’
विवेकले पनि थप्छ– ‘हो यो जरुरी छ भन्ने धेरैको बुझाइ छ तर यसको घेरा भित्र रही कर्महरू गर्दै जाँदा अनुशासित रहन त्यस्तै गाह्रो हुने भएकाले नै त हो नि अनैतिक कामहरू हुने गरेको।’
सिर्जनाले पनि सही थाप्दै भनी ‘हो मेरो भनाइ पनि यस्तै छ। फट्को मार्न गाह्रो हुन्छ। यसैले अनुशासित हुँदै गयो भने नतिजा राम्रै निस्कन्छ। अप्ठ्याराहरू आइपर्न सक्छन् तर यसको समाधानको खोजी गरेमा उपायहरू पाउन पनि सकिन्छ। वुद्धि विवेक लगाउने भनेकै यस्तै समस्याको समाधानको लागि त हो नि।’
समूहमध्येबाट अर्कोले भन्यो ‘हो तिम्रो भनाइ ठीक छ। अझै मैले यसतर्फ सोचेकै रहेनछु। बल र वुद्धि मात्र भन्दो रहेछु। विवेक पनि कति आवश्यक छ त्यो भने भन्न बिर्सेकी रहेछु।’
यस्तै कुराको प्रसंग चल्दा चल्दै अर्को साथी आइपुग्छन् र ठट्टा गर्दै भन्छन् ‘क्या हो वातावरण शान्त छ नि ? मलाई देखेर हो कि विषय प्रसङ्गले गम्भीर बनायो ?’
दुबैले हो, राम्रो भयो तिमी आइपुग्यौ। लौ तिम्रो विचार पनि सुनौं।
भन त ‘विषय के हो ? पहिले त्यो भनन् अनि पो कुरा गर्ने, नत्र के फलाकी रहने ?’
साथीले के प्रश्न सोध्छ भनेर त्यसैमा ध्यान केन्द्रित गर्छ।
नयाँ साथीले पनि त्यसैलाई समर्थन गर्दै भन्छ ‘कुरो ठीक हो, यही कुरालाई व्यवहारमा उतार्न नसकेकोले त समस्याहरू देखा परेका छन्, होइन त ?’
‘हो नि। यसले कहाँ कहाँबाट यस्ता विषयहरू ल्याउँछ। हामीलाई पढ्दा पढ्दै झर्को लागेको बेला एकछिनको लागि भए पनि विषय परिवर्तन हुँदा बहस गर्न मजा आउँदो रहेछ ? भनेर अरु साथीतर्पm फर्केर यसमा समर्थन खोज्छन्।
‘हो नि’ भनेर सबैबाट समर्थन पनि पाउँछन्।
अमरको जीवनका पलहरू यसरी नै बितिरहेका छन्। उसका मित्रहरू धेरैले उसको बल, शरीर र बुद्धिसँग डराएका हुन्थे। प्रेमको मित्रता भन्दा डरले उसँग बाँधिएका थिए। उ भने प्रेम मात्र चाहन्थ्यो– पन्छाइ होइन। उसले सोच्दै गयो– मेरो बल र खुबी भनेको त परिस्थिति हेरेर आवश्यकता अनुसार मात्र तिनको प्रयोग गर्न जान्नु हो। यिनीहरू किन मसँग डराएर वा मेरो शरीर देखेर मबाट पन्छिन खोज्छन् ? अलि व्यवहारिक भएर सोचेमा म बलवान भए पनि त्यसको प्रयोग यसै उनीहरू प्रति कहाँ गर्छु र ? यिनीहरू विनासित्तिमा किन डराउँछन् ? म सँग पनि बल मात्र होइन वुद्धि र विवेक पनि छन् नि। तिमीहरू मलाई बल प्रयोग गर्नुपर्ने कारण नदेओ न। स्नेहयुक्त व्यवहार गर। म यसै आइलाग्दिन। हो, म भित्रको यो शक्ति मेरो आफ्नो सुरक्षाको लागि मात्र हो। त्यसैले म आवश्यकता हेरेर सोही अनुसार मात्र प्रयोग गर्छु।
अमर आफ्नो बढ्दो शरीर र आफूसँग तर्सिएकालाई देखेर र सम्झेर मन मनै भन्छन् ‘बलको प्रयोग कुनै अप्रिय कारण नभइ अरुमा कहाँ कसले गर्छ र ? ज्ञान र विवेकले रोकिहाल्छ नि। बीचैमा मेरो आकृति देखेर मैले केही गरिहाल्छु कि भनेर यिनीहरू त्यसै डराउँ छन्। म सँग पनि केही मात्रामा भए पनि ज्ञान र विवेक छ। शरीर मात्र हेरेर यसै यस्तो भन्न मिल्छ र ?
कुरा सबै बुझेको जस्तो गरी विवेक अमरको अगाडि आएर भन्छन् ‘मिल्दैन।’ यो पक्का हो तर शंकाले पनि डरको साथ साथै तर्साउँछ र पो।
‘हो यो तर्सनु नै आत्मकमजोरी हो। ज्ञानको कमी हो।’
खासमा बल, वुद्धि र विवेकको खाँचो सबैलाई छ तर यसको प्रयोगमा ध्यान दिनु पनि त्यत्तिकै आवश्यक छ।’
अमर, मोटाएर डल्लो वा गान्टे जे जस्तो आकृतिको भए पनि मोटाइसँगै उसमा ज्ञान पनि अति नै छ। यसैले उनीसँग डराउनु आफू भित्रको कमजोरी हो भन्ने साथीहरूले मान्न थालेका थिए। हारेर समस्याको समाधानमा ती शारीक होस् या वौद्धिक उनैलाई बोलाइ उनको सहायता लिन थाले र भन्न थालेका थिए– अमर वलवान छन् तर उनी बललाई बुद्धि लगाएर मात्र सञ्चालन गर्छन्। यसैले त उनी सफल छन्। हामी सबैको आवश्यकता पनि भएका छन्। बललाई वुद्धिले सञ्चालन गर्न थालेपछि अमर सबैको आवश्यकता र चाहना भएका छन् उसलाई देखेर सबैले भन्छन् ‘शक्तिको प्रयोग भने त्यसैले गर्न जानेको छ। बल र बुद्धि दुवैको प्रयोग गरेर कसरी ऊ सबैको चाहना बन्यो। यो हामीले पनि याद गर्नुपर्छ। कठै, हामी सबैले त्यसलाई पन्छाउन थाल्दा त्यसलाई कस्तो भयो होला ? तर उ वुद्धिमान थियो र कुरा बुझ्दै गएर उसले आफ्नो बलको सदुपयोग गरी सबैको आवश्यकता बन्यो। अस्तु।
(१९९७ साल असार २० गते पकनाजोल, काठमाडौंमा जन्मनु भएकी गीता केशरीको ‘अपराधी को ?’ शीर्षकको पहिलो कथा २०२१ सालको अरुणोदयमा प्रकाशित भएयता निरन्तर साहित्य सिर्जनामा हुनुहुन्छ )

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.