रोल्पा । रोल्पामा १७ जना पालिका प्रमुखका उम्मेदवारसहित ११७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।उमेदवारी फिर्ता लिनेहरूमा एक नगर प्रमुखका उम्मेदवार, १६ जना गाउँपालिका अध्यक्षका उम्मेदवार र १३ जना गाउँपालिका उपाध्यक्ष उम्मेदवारसहित ११७ जना रहेका छन् । गाउँपालिकाको प्रमुख र उपप्रमुखमा सबैभन्दा बढी नाम फिर्ता लिनेमा थवाङ गाउँपालिकाका उम्मेदवार छन्। थवाङ गाउँपालिकाबाट पाँचजना अध्यक्ष र दुई जना उपाध्यक्षका उम्मेदवारले उमेदवारी फिर्ता लिएका छन् ।
फिर्ता लिनेमा नेपाली कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेवार रमेश रोकामगर, उपाध्यक्षका उम्मेदवार धनुमारी रोका रहेका छन् । यसैगरि सोही गाउँपालिकाबाट नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार बनेका नकस घर्तीमगर, उपाध्यक्षका उमेदवार शान्ति घर्तीमगरले पनि नाम फिर्ता लिएका छन । यही गाउँपालिकामा स्वतन्त्र उमेदवारी दिएका ४ मध्ये ३ जनाले नाम फिर्ता लिएका छन् । स्वतन्त्रवाट नाम फिर्ता लिने अध्यक्षका उम्मेदवारमध्ये अमित घर्तीमगर, अजय घर्तीमगर र महेश बुढामगर रहेका छन् । यसैगरी परिवर्तन गाउँपालिकाबाट पाँच जनाले उमेदवारी फिर्ता लिएका छन् । जसमा नेकपा एमालेबाट अध्यक्षका उमेदवार गंगाराम बुढामगर, नेकपा एकीकृत समाजवादीका अध्यक्षका उम्मेदवार तीलबहादुर पुन र उपाध्यक्षका उमेदवार अरुणा थापा, नेपाली कांग्रेसका उपाध्यक्षका उम्मेदवार सपना घर्तीमगर, स्वतन्त्र उमेदवार लक्ष्मी डाँगी रहेका छन् ।