उम्मेदवारी दर्ताको मनोनयन गराएकाहरुलाई उम्मेदवारी फिर्ता गराउन डर, धाक धम्कीलगायतका हर्कत नगर्न राजनीतिक दललाई निर्वाचन आयोगको चेतावनी

38

काठमाडौँ ।  निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मनोनयन गराएकाहरुलाई उम्मेदवारी फिर्ता गराउन डर, धाक धम्कीलगायतका हर्कत नगर्न राजनीतिक दल,तीनका भातृ संगठन र सरोकारवालाहरुलाई चेतावनी दिएको छ । चितवनको भरतपुर महानगरका स्वतन्‍त्र उम्मेदवार जगन्‍नाथ पौडेललाई गृहमन्त्री बालकृष्ण खाँण,राज्यमन्त्री उमेश श्रेष्ठ,पूर्वप्रधानन्यायधीश गोपालप्रसाद पराजुलीलगायत कांग्रेसका नेताहरूले उम्मेदवारी फिर्ता गराउन जबरजस्ती गरिरहेको घटना सार्वजनिक भइरहेको बेला आयोगले यस्तो चेतावनी दिएको हो । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिहरू लोकतन्त्रमाथि आघात पुर्‍याउने र संविधान र कानुन विपरीत भएको स्मरण गराएको छ ।

पढ्नुहोस् विज्ञप्तिको पूर्ण पाठ:

स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उम्मेदवारी दर्ताको मनोनयन गराउनु भएका कतिपय उम्मेदवारहरूलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने समेतका सूचना तथा जानकारी आयोगमा प्राप्त भइरहेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता गतिविधिले संविधान र प्रचलित कानून बमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् कानूनी अधिकार कुण्ठित हुन जाने भएकोले निर्वाचनलाई प्रभाव पार्ने यस्ता गतिविधि जुनसुकै प्रकृति र मात्राका भएपनि त्यसले संविधान, कानून र लोकतन्त्र माथि आघात पुर्‍याउने भएकोले यस्ता हर्कत् नगर्न नगराउन आयोग सरोकारवालाहरु सबैप्रति आग्रह गर्दछ ।

Leave A Reply

Your email address will not be published.