भन्सारमा कार्यरत नासु विरुद्ध पौने २ करोडको भ्रष्टाचार गरेको अभियोगमा अदालतमा मुद्दा दायर

47

काठमाडौँ ।  भन्सार जाँचपास कार्यालयमा कार्यरत नासु देवीबहादुर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौने २ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । २०५६ साउन ५ मा बिचारी पदबाट सरकारी सेवा प्रवेश गरी पछिल्लो पटक निलम्वनमा रहेका नासु थापाले  २० वर्षमा १ करोड ८७ लाख रुपैयाँ बराबरको गैरकानुनी चल अचल सम्पत्ति आर्जन गरेको कसुरमा सोमबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीविरुद्ध अकुत सम्पत्ति बराबरको बिगो, बिगो बराबरको जरिवाना तथा कैद सजायको मागदावी गरिएको छ । अख्तियारले थापाका बाबु कृष्णबहादुर, आमा चन्द्रमाया र श्रीमती विमसा राउत थापा विरुद्ध अनुसन्धानबाट खुलेको गैरकानुनी अकुत सम्पत्ति फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाएको छ । भन्सार जाँचपास परीक्षण कार्यालय तीनकुनेमा नासु पदमा कार्यरत थापाले पेश गरेको सम्पत्ति विवरण र अनुसन्धान गर्दा खुलेका तथ्यबीच तालमेल नदेखिएको र अनुसन्धान गर्दै जाँदा करिब २ करोड रुपैयाँ बराबरको चल अचल सम्पत्तिको स्रोत नखुलेको अख्तियारका प्रवक्ता भण्डारीले बताए ।

२०५६ साउन ५ मा बिचारी पदमा सेवा प्रवेशदेखि २०७५ असार मसान्त सम्मको अवधिमा थापा र उनका परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकम आफू, बाबु, आमा र श्रीमतीका नाममा घरजग्गा खरिद गर्नुका साथै कम्पनी तथा फर्महरु दर्ता गरी परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको अख्तियारले जनाएको छ । अख्तियारका प्रवक्ता भण्डारीका अनुसार उनले परिवारका सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु तथा कम्पनीमा संस्थापक एवम् साधारण शेयरहरु उद्योग तथा फर्महरुमा लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दात एवम् घर निर्माणलगायतमा ३ करोड ८९ लाख ४५ हजार ५ सय ८८ रुपैयाँ खर्च गरेको र २ करोड १ लाख ९८ हजार ४ सय ३९ रुपैयाँको मात्रै स्रोत खुलेको देखिन्छ । स्रोत नखुलेको रकमलाई नै अख्तियारले बिगो कायम गरी त्यस बराबरको जरिवाना र कैद सजाय मागदावी गरेर मुद्दा दायर गरेको हो । स्रोत नखुलेको चल अचल सम्पत्ति पनि जफत गर्न अख्तियारले मागदावी गरेको छ ।
Leave A Reply

Your email address will not be published.