दाङ । दाङका दुई उपमहानगरपालिकाको नगर प्रमुखमा सत्ता गठबन्धनबाट उम्मेदवार तय भएका छन् । दुई उपमहानगर पालिकामा काँग्रेस र माओवादीले एक/एक वटामा नेतृत्व पाएका छन् । त्यसका माओवादी केन्द्रबाट घोराही उपमहानगरपालिकाको प्रमुखका लागि हेमराज शर्मा डायमण्डलाई प्रमुखको उम्मेदवारको रूपमा अघि सारिएको छ । नेपाली काँग्रेसले पाएको तुलसीपुर उपमहानगरपालिकामा नेपाली काँग्रेसले नगरप्रमुखको उम्मेदवार तय गरेको हो । तुलसीपुर उपमहानगरपालिकाको नगर प्रमुखको उम्मेदवार नेपाली काँग्रेसका केन्द्रीय सदस्य पूर्व सांसद गेहेन्द्र गिरी बनेका छन् ।
नेपाली काँग्रेसको लुम्बिनी प्रदेश समितिले गिरीलमई गठबन्धनको तर्फबाट तुलसीपुरको नगरप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्ता गठबन्धन नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, राजमोको तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य गिरी साझा उम्मेदवार बन्नेका छन् । तुलसीपुरको उपाध्यक्षमा एकीकृत समाजवादीको तर्फबाट जोगबहादुर राना गठबन्धनको उम्मेदवार घोषण भइसकेका छन् । काँग्रेस नेता गिरी दाङ जिल्लाको दुई कार्यकाल सभापति भइसकेकेका नेता हुन् । उनी पूर्व सांसद र गत स्थानीय तहको निर्वाचनमा काँग्रेसको तर्फबाट तुलसीपुर उपमहानगर पालिकाको नगर प्रमुखको प्रत्याशी हुन् । त्यतिबेला एमालेका उम्मेदवार घनश्याम पाण्डे विजयी भएका थिए । पाण्डेले २२८५७ मत प्राप्त गरेका थिए, भने गिरीले १८९०३ मत प्राप्त गरेका थिए ।
२००८ सालमा जन्मिएका गिरी आधारभूत शिक्षा दाङमै लिएर भारतको बनारसबाट उच्च शिक्षा हासिल गरेका छन् । बनारसबाटै राजनीतिसँग नजिकिएका थिए । उनी २०५६ सालको आम निर्वाचनमा दाङ क्षेत्र नं.४ बाट निर्वाचित सांसद हुन् । तरुण सहयोग समितिको सदस्य बाट राजनीति पद धारण गरेका गिरीले ०२३ सालमा काँग्रेसको पार्टी सदस्यता प्राप्त गरेका थिए । उनी ०२९ सालसम्म भारतमा निर्वासित जीवन बिताएर ०३० सालमा नेपाल फर्किएका थिए ।
२०३० सालदेखि २०३४ सालसम्म बन्दी जीवन बिताएका गेहेन्द्र पञ्चायत विरुद्धको आन्दोलन चर्किन थालेपछि रिहा गरिएका थिए । २०४९ सालदेखि ०५८ सालसम्म नेपाली काँग्रेसको जिल्ला कार्यसमिति सदस्य हुँदै दुई कार्यकालसम्म सभापति भएका गिरी दाङ काँग्रेसमा प्रभाव जमाउने नेतामा पर्दछन् । गठबन्धनबाट घोराहीको मेयरमा हेमराज शर्मा‘डायमण्डलाई अघि सारिएको छ । माओवादी केन्द्रको भागमा मेयर परेको थियो । पार्टीले एकल सिफारिस गरेपछि उनी नै उम्मेदवार बन्ने निश्चित भएको छ । त्यही अनुसार डायमन्डले आफ्नो प्रचारलाई तीव्र बनाइसकेका छन् । उपमेयर काँग्रेसको भागमा परेको छ । काँग्रेसले भूपबहादुर डाँगीलाई उपमेयर बनाउने तयारी गरेको भए पनि यो समाचार तयार पार्दासम्म आधिकारिक निर्णय सार्वजनिक भएको छैन ।