बुटवलको मेयरमा नेपाली कांग्रेस बाट खेलराज पाण्डे सर्वसम्मत् सिफारिस

84

सत्तारूढ पाँच दलीय गठबन्धनको भागबण्डापछि नेपाली कांग्रेसको भागमा परेको बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले खेलराज पाण्डेलाई उठाउने निर्णय गरेको छ। सोमबार बसेको बुटवल उपमहानगर कमिटीको बैठकले नगरप्रमुखको उम्मेदवारको लागि नेपाली कांग्रेस बुटवल नगर सभापति समेत रहेका पाण्डेको मात्रै नाम सिफारिस गरेको हो। यसअघि बुटवलको प्रमुखको लागि पाण्डेसहित क्षेत्रीय सभापति हरी लम्साल, महाधिवेशन प्रतिनिधि चुन्न प्रसाद पौडेलसहितले आकांक्षा देखाएका थिए।  नगर प्रमुखमा सिफारिस गरिएका पाण्डे २०७४ सालमा भएको पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई पराजित भएका थिए।यस्तै, गठबन्धनको भागबण्डापछि उपप्रमुख पद नेकपा एकिकृत समाजवादीको भागमा परेपनि नेपाली कांग्रेसबाट पनि आठ जनाको नाम सिफारिस गरिएको छ।

नेपाली कांग्रेस बुटवल उपमहानगर समितिका सचिव छाया पोखरेलले नगर प्रमुखमा पाण्डेको नाम सर्वसम्मत् रूपमा सिफारिस गरिए पनि उपप्रमुखमा ८ जनाको सिफारिस गरिएको बताए। उपमहानगरभित्रका १९ वटै वडा सभापति सहितको बैठकले नगर उपप्रमुखमा रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता सेन, रिता केसी, गंगा पन्थी, राधा ज्ञवाली र सबिता शाक्यको नाम सिफारिस गरेको बैठकमा सहभागी एक वडा कमिटी सभापतिले जानकारी दिए। नगरसमितिले सिफारिस गरि पठाएको नामलाई जिल्ला कार्यसमितिले अनुमोदन गरेपछि बुटवलको उम्मेदवारहरूको अन्तिम टुंगो लाग्ने छ। जिल्ला कार्यसमितिको बैठक मंगलबार भैरहवामा बसिरहेको नेपाली कांग्रेसले जनाएको छ।

Leave A Reply

Your email address will not be published.