कपिलवस्तु । कपिलवस्तुमा निर्वाचनका लागि ३ हजार ७४१ कर्मचारीहरु परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पन्थीले बताउनुभयो । प्रत्येक केन्द्रमा तीन जना स्वयंसेवक कर्मचारी स्थानीयरूपमा नै नियुक्त गरिने छ। उनका अनुसार निर्वाचनका लागि कर्मचारी माग गरिएको कर्मचारीहरुको सूची समेत आइसकेको छ। सो कर्मचारीहरुको सूची जिल्ला प्रमुख निर्वाचन अधिकारीलाई पठाइएको छ। यही चैत २९ गते निर्वाचन अधिकृत नियुक्ति गर्ने तथा आगामी वैशाख ३ र ४ गते अधिकृतहरूलाई तालिम दिइने छ। वैशाख ८ गते सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ।
कपिलवस्तुमा २० मतदानस्थल सुरक्षाको दृष्टिकोणले अति संवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यसअघि हुन सक्ने घटनालाई मध्यनजर गरी २० मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको हो। प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्राले जिल्लामा रहेका २ सय ३५ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको बताउनुभयो । जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि स्थलहरुलाई वर्गीकरण गरेको हो।
जिल्लामा विगतका निर्वाचनमा भएका गतिविधि, सुरक्षा संवेदनशीलता लगायतका विषयमा छलफल गरी मतदान स्थलको वर्गीकरण गरिएको छ । समितिले ६२ लाई संवेदनशील, र १ सय ५३ मतदानस्थललाई सामान्यको सूचीमा राखेको छ। जिल्लाका १० पालिकामा ४ सय ६८ मतदान केन्द्र कायम गरिएका छन्।