विश्व शान्तिमा सेनाको ६४ वर्षः हालसम्म ७२ जनाको सहादत

21

संयुक्त राष्ट्र संघको आह्वानमा प्रजातान्त्रिक गणतन्त्र कंगोमा शान्ति स्थापनार्थ खटिएका एक नेपाली सैनिकको निधन भएको छ। कंगोमा खटिएको नेपाली सेनाको श्री क्युआरएफ (शान्ति सेना) पाँचौं डफ्फामा कार्यरत सुर्खेत गुर्भाकोट नगरपालिका–१४ का ३२ वर्षीय अनिल गुरुङको निधन भएको हो। नेपाली शान्ति सैनिकहरूले त्यहाँका विद्रोही सशस्त्र समूहलाई निरुत्साहित गर्न पछिल्लो समय अपरेसन ‘बाली’ सञ्चालन गरेको थियो। सोहीअनुसार मंगलबार प्रमुख सेनानी निकिल कुँवरको नेतृत्वमा खटिएको नेपाली शान्ति सेनाको टोलीले ‘कर्डन एन्ड सर्च’ कारबाही गरेर विद्रोहीको इलाका कब्जा गरेको थियो। त्यसपछि विद्रोहीहरूको जवाफी ‘चोरी’ फायरबाट गुरुङ घाइते भएका थिए। त्यसपछि उनको उपचारका क्रममा बुधबार निधन भएको हो ।

विश्व शान्तिका लागि खटिएर ज्यान गुमाउने गुरुङ पहिलो नेपाली शान्ति सैनिक भने होइनन्। नेपाली सेनाको सैनिक मुख्यालयका अनुसार यसअघि ७१ जनाले ज्यान गुमाइसकेका थिए। पछिल्लोपटक गत मंसिरमा मात्रै दक्षिण सुडानमा खटिएको श्री हाई रेडिनेस गुल्म (शान्ति सेना) पाँचौं डफ्फामा कार्यरत दीपेन्द्र बस्तीले ज्यान गुमाएका थिए। त्यसअघि यसै वर्षको वैशाखमा लेबनानमा खटिएको श्री बर्दबहादुर गण (शान्ति सेना) ६२औं डफ्फामा कार्यरत पीताम्बर थापाको पनि निधन भएको थियो। नेपाली सेनाको मख्यालयले जनाएअनुसार सबैभन्दा पहिला २०३६ सालमा लेबनानमा कार्यरत श्री फस्र्ट राइफल गण (शान्ति सेना) मा कार्यरत सिपाही गंगाबहादुर दर्लामीको निधन भएको थियो।

सबैभन्दा बढी मृत्यु लेबनानमा  

नेपाली सेनाको मुख्यालयका अनुसार अहिलेसम्म शान्ति सेनामा सहादत प्राप्त गरेका नेपाली सैनिकहरूमध्ये सबैभन्दा बढी लेबनानमा छन्। सैनिक मुख्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार हालसम्म निधन भएका ७२ मध्ये लेबनानमा ३३ जनाको निधन भएको छ। त्यसपछि सोमालियामा ९ जना, हाइटीमा ७ जना, कंगोमा ५ जना, सुडान/दक्षिण सुडानमा ४ जना, बुरुन्डी र सेरालियोनमा ३/३ जना, युगोस्लाभिया र लिबियामा २/२ जना, इराक र पूर्वी टिमोर १/१ जना र अनमिड मिसनमा खटिएका एकजनाको निधन भएको तथ्यांकले देखाउँछ ।nजसमा सबैभन्दा उच्च ओहदामा कार्यरत व्यक्तिमा एकजना सेनानीको मृत्यु भएको छ। २०७६ सालमा सुडानमा शान्ति स्थापनार्थ खटिएका प्रमुख सेनानी रिदेश विष्टको निधन भएको थियो। त्यसबाहेक हालसम्म चारजना सेनानी र दुई सहसेनानीको निधन भएको छ।

dengu 3 1

भारत/पाकिस्तान र इजरायलमा नेपाली शान्ति सेना

विश्व शान्तिका लागि संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा नेपाली सेना जान लागेको ६४ वर्ष पुगेको इतिहासले देखाउँछ। नेपाल सन् १९५५ मा संयुक्त राष्ट्र संघको सदस्य बनेको थियो। त्यसको तीन वर्षमै नेपाली सेनाले विश्वशान्तिका लागि काम गर्ने पहिलो अवसर पाएको थियो। सैनिक स्रोतका अनुसार सन् १९५८ मा मेजर जनरल अर्जुननरसिंह राणाको नेतृत्वमा पहिलोपल्ट लेबनानमा शान्ति सेनाको टोली गएको थियो। त्यसयता नेपाली सेनाले हालसम्म ४३ देशमा नेपाली शान्ति सेनाले काम गरेका छन् । जसमा १ लाख ४० हजारभन्दा बढी नेपाली सैनिकले भाग लिएका छन्। पहिलो अवसरमैं नेपाली सेनाले राम्रो काम गरेपछि त्यसयताका संयुक्त राष्ट्रसंघका अधिकांश शान्ति अभियानमा नेपाली सेना सक्रिय सहभागी हुँदै आएको सैनिक स्रोतले जनाएको छ। यसक्रममा भारत–पाकिस्तान, यमन, इजरायलजस्ता बलशाली देशमा पनि गएर कुनै समय नेपाली सेनाले शान्ति स्थापनार्थ काम गरेको नेपाली सेनाले जनाएको छ। नेपाल संयुक्त राष्ट्र संघलाई विश्व शान्ति निर्माणमा हालसम्म सैन्य सहायता गर्ने विश्वको चौथो राष्ट्र पनि बनेको सैनिक स्रोतले जनाएको छ। सन् २०२० को जनवरीदेखि नेपाल चौथो स्थानमा उक्लिएको छ। शान्ति मिसनमा विश्वका करिब एकसय २२ देशका सुरक्षाकर्मीहरूले भाग लिइरहेको संयुक्त राष्ट्र संघको तथ्यांकले देखाउँछ।

b 4

हाल पनि ११ वटा देशमा १२ वटा शान्ति मिसन परिचालनमा रहेको सैनिक मुख्यालयका सूचना अधिकारी सहायक रथी नारायण सिलवालले जानकारी दिए। जसमा करिब ५५ सय सैनिक तैनाथ रहेको उनले बताए। ‘संयुक्त राष्ट्रसंघले नेपाली सेनाको भूमिकालाई जहिल्यै उच्च महत्वका साथ लिने गरेको छ,’ उनले भने, ‘त्यसैकारण राष्ट्रसंघले मिसन सञ्चालन गरेका सबैजसो मुलुकमा हाम्रो सेना हुँदै आएको छ। ’नेपाली सैनिक स्रोतका अनुसार सैन्य दल, सैन्य पर्यवेक्षक र कर्मचारी अधिकारीहरू पनि शान्ति मिसनमा तैनाथ हुने गरेका छन्। यस्तै इन्जिनियर, मेडिकल टोली र विशेष बलको टुकडीजस्ता विशिष्ट क्षमताको व्यवस्था गरेर पनि नेपाली सेनाले महत्वपूर्ण योगदान दिँदै आएको छ। नेपाली सेनाले कठिन चुनौतीलाई स्वीकार गर्दै कठिन अपरेशनमा समेत आफूलाई अब्बल साबित गर्ने गरेको सैनिक मुख्यालयले आफ्नो वेब पेजमा लेखेको छ। जसममा ७२ जनाले बलिदान दिएका छन् भने अन्य ६६ अपांगता भएका छन् ।

संयुक्त राष्ट्रसंघको आह्वानमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा खेलेको भूमिका विश्वभरले सदैव सम्झिरहने नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले बताए। ‘विश्वयुद्धकालमा नेपाली सेना गोर्खा सैनिकका नामले राम्रो योद्धाका रूपमा परिचित थियो। पछि शान्ति स्थापनामा खेलेको भूमिकाले शान्ति स्थापनामा पनि आफ्नो पहिचान बनायो,’ उनले भने, ‘अहिले संयुक्त राष्ट्रसंघले नै हरेक मिसनमा नयाँ फौज थप्दा नेपाली सेनालाई सम्झिन्छ। हामीले पनि सकेको पठाउँछौं ।’ यसमा नेपाली सेनाले खेलेको इमानदार भूमिकाले पनि यो सबै सम्भव भएको उनले बताए।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.